नेपालगञ्जमा भाइले दाइलाई हराए
नेपालगञ्ज उपमहानगरपालिका-१ को वडाध्यक्षमा दाइलाई हराउँदै भाइ निर्वाचित भएका छन्।
नेकपा (एमाले) बाट उम्मेदवार बनेका प्रमोद रिजाल वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले ७८१ मत पाएका छन्।
उनका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार तारामान कुवँरले ७२१ र नेपाली कांग्रेसका विनोद रिजालले ५८१ मत पाए। विनोद नवनिर्वाचित वडाध्यक्ष प्रमोदका दाइ हुन्।
प्रमोद र विनोद फरक फरक पार्टीबाट वडाध्यक्षमा प्रतिस्पर्धी बनेका थिए। प्रमोद यसअघि पनि वडाध्यक्ष बनेका थिए। उनले नेपालगञ्ज उपमहानगरको प्रवक्ता भएर काम गरेका थिए।
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदादेखि नै एमाले निकट अनेरास्ववियुमा आबद्ध थिए। २०७४ सालमा वडाध्यक्षमा चुनाव लड्नअघि कानून व्यवसायमा संलग्न थिए।
पहिलो कार्यकालमा राम्रो काम गरेको भन्दै एमालेले फेरि उनैलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो। दाइ विनोद पनि कांग्रेसबाट उम्मेदवार बनेपछि दुवै दाइभाइ हार्छन् कि भन्ने अड्कलबाजी गरिंदै आएको थियो।