नेपालगञ्जमा दाजुभाइबीच प्रतिस्पर्धा, आमा भन्छिन्- कसलाई भोट दिऊँ?
स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका-१ का सहोदर दाजुभाइ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। दुई छोरा फरक फरक पार्टीबाट उम्मेदवार बनेपछि आमा भने कसलाई भोट दिने भन्ने दोधारमा परेको बताउँछिन्।
नेपालगञ्ज उपमहानगर-१ को वडाध्यक्षका लागि विनोद र प्रमोद रिजाल उम्मेदवार बनेका छन्। दाजु विनोद नेपाली कांग्रेसबाट र भाइ प्रमोद नेकपा (एमाले) बाट उम्मेदवार बनेका हुन्। वैशाख १२ गते उम्मेदवारी दिएसँगै दाजुभाइ चुनावी प्रचारमा जुटेका छन्।
प्रमोद २०७४ को चुनावमा एमालेबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले नेपालगञ्ज उपमहानगरको प्रवक्ता भएर काम गरिसकेका छन्।
पाँच वर्ष राम्रो काम गरेकाले आफूले फेरि जित्ने प्रमोदको दाबी छ। “वडाध्यक्ष भएर मेरो क्षेत्रमा राम्रो र देखिने काम गरेको छु,” उनी भन्छन्, “त्यसैले जनता मेरो पक्षमा छन्, र म फेरि वडाध्यक्षमा जित्छु।”
पार्टी कार्यकर्ताको सँगसँगै परिवारजन र इष्टमित्रको मत पनि आफूले पाउने उनको भनाइ छ। “हामी चार दाजुभाइ छौं। अहिले दाजु कांग्रेसतिर हुनुहुन्छ, हामी तीन सँगै छौं,” प्रमोद भन्छन्, “यसले पनि चुनावमा ठूलो प्रभाव पार्छ।”
दुई जना अलग अलग पार्टीमा भएकाले प्रतिस्पर्धा स्वाभाविक भएको उनको भनाइ छ। “राजनीतिमा यस्तो हुन्छ, किनकि घरका सबै एउटै पार्टीमा लाग्नुपर्छ भन्ने छैन,” प्रमोद भन्छन्, “हामी फरक आस्था, विचार र पार्टीमा छौं।”
चुनावी प्रतिस्पर्धाले दाजुभाइबीचको सम्बन्धमा भने कुनै असर नपार्ने उनी बताउँछन्। “यो राजनीतिक प्रतिस्पर्धा हो,” उनी भन्छन्, “हामी दुई दाजुभाइको माया, प्रेम पहिले जत्तिकै गाढा छ।”
उता, विनोद पनि दाजुभाइबीचको प्रतिस्पर्धा स्वाभाविक भएको बताउँछन्। “दुवै दाजुभाइबीच प्रतिस्पर्धा हुँदा नराम्रो लागेको छैन,” विनोद भन्छन्, “हामी दुवै दाजुभाइ आआफ्नो पार्टीका नीति, कार्यक्रम, योजना लिएर जनतामा जान्छौं। जनताले जसलाई मन पराउँछन्, उसलाई भोट हाल्छन्।”
उनले पनि आफू चुनाव जित्ने दाबी गरे। लामो समयदेखि कांग्रेसमा रहेर राजनीति गर्दै आएको बताउँदै उनी भन्छन्, “यस पटक जनताले मलाई सेवा गर्ने मौका दिनेछन्।”
प्रमोदले पाँच वर्ष वडाध्यक्ष भएर गरेको काम जनताले देखेको उनी बताउँछन्। “भाइले वडाध्यक्ष भएर काम गरिसकेको छ, उसले के कति काम गर्यो भनेर यहाँका जनतालाई थाहा छ,” विनोद भन्छन्, “अहिले गठबन्धन भएकाले पनि भाइभन्दा म बलियो छु।”
दाजुभाइ चुनावी प्रतिस्पर्धामा उत्रिएपछि आमा लक्ष्मी शर्मालाई भने चिन्ता लागेको छ। “मेरा लागि दुवै छोरा बराबर हुन्,” आमा लक्ष्मीले हिमालखबरसँग भनिन्, “दुवै जना एउटै पदमा उठेकाले मलाई पो गाह्रो छ।”
उनलाई पनि दुवै छोराले फरक फरक पदमा उठेको भए हुन्थ्यो भन्ने लागेको छ। अब कसलाई भोट दिन वा कसलाई नदिने भन्ने अप्ठ्यारो भएको उनी सुनाउँछिन्। “दुवैलाई भोट दिन मिल्दैन,” उनी भन्छिन्, “अहिलेसम्म मलाई भोट दिनुहोला भनेर कसैले भनेका छैनन्। भोट हाल्ने दिनसम्म के हुन्छ, हेरौं।”