‘हामीले जिते पोखरामा पाँच लाख रोजगारी सिर्जना गर्छौं’
पाँच पार्टीको जनाधार र पछिल्लो पटक नागरिकले देखाएको सदभाव नै हाम्रो जित्ने आधार हुन्। हामीले जित्यौं भने पोखरामा पाँच लाखलाई रोजगारी सिर्जना गर्छौं।
कास्कीको पोखरा महानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गरेका छन्। गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य रहेका छन्। उनै आचार्यसँग हिमालखबरका सञ्जय रानाभाटले गरेको कुराकानीः
अघिल्लो पटक तपाईं एमालेको चुनावी कमान्डर हुनुहुन्थ्यो, अहिले आफैं उम्मेदवार हुनुभएको छ। कस्तो लाग्दै छ?
मैले २०४६ पछि भएका सबै चुनावमा चुनावी परिचालनको ‘कोर टीम’मा बसेर काम गरेको छु। मैले धेरै साथीलाई चुनावमा विजयी गराएँ। शुक्ष्म ढंगले चुनावमा लाग्दा एक प्रतिशतभन्दा कम मत तलमाथि हुने गरी हामी अनुमान गर्न सक्थ्यौं। २०४८ देखि गएको उपचुनावसम्म गरेको अनुभवले मलाई सघाउनेछ भन्ने ठानेको छु।
विगतमा आफैं चुनाव नलडे पनि आफैं चुनाव लडे सरहको अनुभव छ। आजसम्म मसँग नजिक भएका साथीहरूले यसअघि कतिपय कारणले मैले भनेको ठाउँमा मतदान गर्न पाउनुभएको थिएन‚ यस पटक अलिकति त्यो सीमा हराएको महसुस गरेको छु। स्थानीय चुनाव राष्ट्रिय चुनाव जस्तो होइन। यसमा व्यक्ति र अजेन्डा हेरिनुपर्छ भन्ने मान्यता बन्दै गएको छ। यो नै हाम्रो टिम र मेरो विजयको आधार हो भन्ने मलाई लाग्छ।
तपाईंले जित्ने आधार के के छन्?
चुनाव जित्ने आधार भनेको पाँच दलीय गठबन्धनको म साझा उम्मेदवार हुँ। मेयर पदमा म र उपमेयरमा कोपिला रानाभाट गठबन्धनको साझा उम्मेदवार हौं। पाँच वटा पार्टीको कास्कीमा रहेको जनाधार र पछिल्लो पटक नागरिकले देखाएको सदभाव नै हाम्रो चुनाव जित्ने आधार हुन्।
पोखरामा विगतका दुई चुनावमा एमालेले जितेको थियो। त्यसैले एमालेका उम्मेदवारलाई जित्न कठिन छैन?
हिजो सग्लो पार्टी हुँदा जित्नुभएको हो। त्यतिवेला हामी सँगै थियौं। एमाले विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी) मा २० हजार हारहारीमा आएका छौं। यसो हुँदा स्वाभाविक रुपमा एमालेको मत घटिहाल्यो। अहिले हामीसँग नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चालगायत पाँच पार्टी छौं।
अर्को कुरा यति लामो समय समाजमा काम गर्दाको साथीभाइ हुनुहुन्छ। वहाँहरू समेत थपिँदा कम्फरटेबल भोटले हामी माथि छौं। अघिल्लो चोटी एमालेले जति मत ल्याएको थियो‚ अहिले हामी त्योभन्दा बढीले जित्छौं। अर्को कुरा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापा २०५४ सालको मेयर हुनुहुन्छ। प्रदेश सभाबाट राजीनामा दिएर आउनुभयो। एमालेमा अरु कोही नभएर उहाँ आउनुभयो भन्ने खालको गुनासो हामीले सुनेका छौं। जोसँग हामी चुनाव लड्दै छौं‚ उहाँ टेस्टेड हुनुहुन्छ। उहाँले कति गर्नुभयो वा भएन भन्ने जनताले देखिसक्नुभयो। १५ हजारदेखि १८ हजार मतले हाम्रो जित निश्चित छ।
गठबन्धनको दल कांग्रेसमा तालमेल विरुद्ध असन्तुष्टि पनि छ नि?
हाम्रो शरीरमा पनि कतिपय चिज नचाहिँने हुन्छन्। पाँच दिन नुहाएनौं भने आफ्नै शरीरबाट पनि गन्ध आउँछ। कहिले काहीं अन्तरविरोध आउँछ। अझ चुनावको बेला छ‚ पदमा हुन पाए भन्ने कुरा आउनु स्वाभाविक हो। यसलाई सामान्य रुपमा सोचौं। पोखरा बनाउने कुरामा कसैले पनि मतभेद गर्नु हुँदैन जस्तो लाग्छ। स्वार्थ राख्नु हुँदैन।
घोषणापत्रमा ठूल-ठूला योजना समेट्नुभएको छ। कसरी कार्यान्वयन गर्नुहुन्छ?
गठबन्धनमा रहेका दलका नेताहरू मिलेर घोषणापत्र तयार पारेका हौं। विज्ञहरूसँग छलफल गरेर तयार पारिएको हो। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नेदेखि संघीय सरकारसँग लबिइङ गरेर पोखरामा पाँच लाखलाई रोजगारी सिर्जना गर्छौं।
विदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई लगानी गर्न प्रेरित गर्छौं। लगानीकर्ताका लागि पाँच वर्षका लागि ‘ट्याक्स फ्री’ गरेर वा लगानीका लागि सबै पोखरेलीलाई सेयर होल्डर बनाएर काम गर्छौं। इन्फ्रास्ट्रक्चरलाई विशेष ध्यान दिन्छौं। अल्पकालीन र दीर्घकालीन दुवै योजना बनाएर अघि बढ्छौं। महानगरले योभन्दा अघि नै थुप्रै योजना बनाएको छ, त्यो योजनालाई पूरा गर्छौं।
जित्नुभयो भने कस्तो महानगर बनाउनुहुन्छ? फेवातालसँग जोडिएका विषयको कसरी सम्बोधन गर्नुहुन्छ?
घोषणापत्र मार्फत हाम्रो अजेन्डा सार्वजनिक भएको छ। हामी ड्युटी गर्ने छैनौं‚ ड्युटीफुल भएर काम गर्ने छौं। मिनेट मिनेट हिसाब गरेर पोखरेली जनताका लागि काम गर्छौं। यो हाम्रो प्रतिवद्धता हो। यसैले हाम्रो निष्ठालाई जनताले पत्याउने छन् र विश्वास गर्ने छन्। अब हामी काम गर्छौं भनेर आएका छौं। यो पाँच दलको जोइन्ट इफोर्ट पनि छ। साझा प्रतिवद्धता पनि जाहेर गरेका छौं। लामो यात्रा मैले राजनीतिमा बिताएँ। म सार्वजनिक रुपमा अपिल गर्छु‚ म पाँच वर्ष जनताको सेवा भोलेन्टीयर भएर काम गर्छु।
फेवातालसँग सम्बन्धित थुप्रै प्रश्न छन्। फेवातालाई सौन्दर्यीकरण गर्दै अन्तर्राष्ट्रिय स्तरको सबैले माया गर्ने खालको बनाएर ती प्रश्नको उत्तर दिनेछौं। फेवाताल स्थानीयका मात्र होइन‚ कास्कीका सबैको हो। कोही व्यक्तिको लाभका मात्र यसको प्रयोग गर्नु हुँदैन। सर्वोच्च अदालतले दिएको आदेश अनुसार नै फेवातालको काम गर्छौं।