पोखरामा एमालेलाई विरासत जोगाउन‚ गठबन्धनलाई भत्काउन चुनौती
सत्ता गठबन्धनलाई वडामा तालमेल नभएकाले भोट काटिन सक्ने डर छ। एमालेका लागि पार्टी विभाजनको असर मुख्य चुनौती बनेको छ।
मुख्य निर्वाचन कार्यालयले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार, पोखरा महानगरपालिकाको मेयरमा २३ र उपमेयरका आठ जनाको उम्मेदवारी परेको छ। तर‚ मेयरमा नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापा र सत्ता गठबन्धनका धनराज आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ। आचार्य नेकपा (एकीकृत समाजवादी) का हुन्।
एमालेबाट मेयरका उम्मेदवार रहेका थापा २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर हुन्। उनी २० वर्षपछि सोही पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। थापाले मेयर बन्न गण्डकी प्रदेश सभाको सदस्य पद त्यागेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरेका थिए। कुँवरलाई नेकपा (माओवादी केन्द्र) को समर्थन थियो। त्यति वेला १६ जना मेयरका उम्मेदवार थिए।
सत्तारूढ गठबन्धनका तर्फबाट उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट र एमालेबाट मञ्जुदेवी गुरुङ उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा एमालेबाट उपमेयरमा निर्वाचित गुरुङले कांग्रेसकी सरस्वती गुरुङभन्दा १२ हजार ११० मत बढी ल्याएकी थिइन्। सरस्वतीले ४४ हजार ३३८ मत प्राप्त गरेकी थिइन्।
विगतका दुवै निर्वाचनमा जिते हात पारेको एमाले पोखरामा फेरि सत्तामा आउने दाउमा छ। सत्ता गठबन्धन भने एमालेको विरासत भत्काउने ध्याउन्नमा छ। तर‚ सत्ता गठबन्धनबाट मेयर, उपमेयर बाहेक वडाहरूमा तालमेल नमिल्दा आन्तरिक विवाद छ। वडामा कांग्रेस र माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आआफ्ना उम्मेदवार उठाएका छन्। यसले गठबन्धनलाई चुनौती थपिदिएको छ।
सत्ता गठबन्धनका उम्मेदवार आचार्यलाई वडामा तालमेल नभएकाले भोट काटिन सक्ने डर छ। एमालेका लागि पार्टी विभाजनको असर मुख्य चुनौती बनेको छ। थापासँग रुष्ट एमाले नेता कार्यकर्ताले पूर्व सहकर्मी आचार्यलाई मत दिने एकीकृत समाजवादीका नेताहरूको दाबी छ।
मेयरको दौडमा स्वतन्त्र उम्मेदवार गनेस पौडेल पनि छन्। उनले आफूलाई ‘अटेरी’ उम्मेदवारीका रूपमा प्रस्तुत गरेका छन्।
निर्णायक नयाँ मतदाता
नयाँ नेतृत्व छनोट गर्न निर्णायक मत भने थपिएका नयाँ मतदाताको हुन सक्छ। पोखरा यस पटक ३९ हजार ६४५ मतदाता थपिएका छन्। थपिएका मतदाता निर्णायक हुन सक्ने देखिएको छ। २०७४ सालमा एक लाख ६८ हजार ६७ मतदाता थिए। जसमध्ये एक लाख २५ हजार ९३२ जनाले मतदान गरेका थिए। यस पटक दुई लाख सात हजार ७१२ मतदाता छन्।