स्थानीय चुनावमा फेरिए मधेशका मुद्दा
क्षेत्रीय राजनीतिको केन्द्रमा रहँदै आएको मधेश प्रदेशमा यस पटक भने चुनावी मुद्दा फेरिएका छन्।
स्थानीय चुनाव नजिकिँदै गर्दा मधेश प्रदेशका गाउँगाउँमा चुनावी कार्यक्रमले तीव्रता पाएको छ। उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता घरदैलोमा पुगिरहेका छन्। तर, यसअघि जस्तो ‘एक मधेश एक प्रदेश’, स्वायक्त मधेश प्रदेश जस्ता कुरालाई मुद्दा बनाएका छैनन्।
गाउँमा वडाध्यक्ष तथा सदस्यका उम्मेदवारले लामखुट्टेको प्रकोप कम गर्ने प्रतिवद्धता गरिरहेका छन्। मधेशका गाउँमा गर्मी याममा लामखुट्टेको समस्या हुने गरेको छ। कतिपय उम्मेदवारले सडक बनाउने, स्कूल बनाउने, स्वास्थ्य उपचारको व्यवस्था गर्ने मुद्दा उठाइरहेका छन्।
मधेशका गाउँपालिकामा मात्रै होइन, नगरपालिका र उपमहानगरपालिकामा पनि उस्ताउस्तै विषय चुनावी मुद्दा बनेका छन्। अझ जनकपुर उपमहानगरपालिकामा मेयरका उम्मेदवारले फोहोर व्यवस्थापन गर्ने, लामखुट्टेको समस्या समाधान गर्ने, स्कूल सुधार्ने विषय उठाइरहेका छन्। उनीहरूले जनकपुरलाई सफा शहर बनाउने, सुन्दर सडक बनाउने बाचा गरिरहेका छन्।
मधेशको राजधानी जनकपुरको फोहोर व्यवस्थापनलाई सबै उम्मेदवारले साझा अजेन्डा बनाएका छन्। अधिकांश दलका घोषणापत्रमा जनकपुरको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट बनाउने प्रतिबद्धता गरिएको छ।
पाँच दलीय गठबन्धनबाट मेयरका उम्मेदवार लालकिशोर साहले पहिलो कार्यकालमा निकै प्रयास गर्दा पनि फोहोर व्यवस्थापन गर्न नसकिएको बताए। त्यसैले दोस्रो कार्यकालमा त्यही अजेन्डालाई अघि सारेको बताए।
उनी २०७४ सालमा राजपा नेपालबाट मेयरमा निर्वाचित भएका थिए। अहिले जनता समाजवादी पार्टी (जसपा) बाट मेयरको उम्मेदवार बनेका साहले पाँच वर्षभित्र ल्यान्डफिल साइट बनाउने प्रतिबद्धता जनाए। “फूलगामामा ल्यान्डफिल साइट बनाउन सकिएन। त्यसको विकल्पमा भाईल वा बसविट्टी उपयुक्त छ। त्यहाँ ल्यान्डफिल साइट निर्माणको पहल गरे पनि सफल हुन नसकेकोमा दुःखी छु,” साहले भने, “अब जिते भने ल्यान्डफिल साइट बनाएर जनकपुरको फोहोर व्यवस्थापन गर्नेछु, जनकपुरलाई सफा र सुन्दर शहर बनाउने छु।”
पाँच दलीय गठबन्धनको विरोध गर्दै कांग्रेस नेता मनोज साह स्वतन्त्र उम्मेदवार बनेका छन्। उनको निर्वाचन घोषणापत्रको पहिलो बुँदामै जनकपुरको फोहोर व्यवस्था गर्ने प्रतिवद्धता जनाइएको छ। ल्यान्डफिल साइट निर्माण तत्कालै शुरू गर्ने, फोहोर व्यस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गर्ने, यसबाट ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गर्ने समेत उनको योजना छ। निवर्तमान मेयरले वास्ता नगरेकाले नै जनकपुरको फोहोर व्यवस्थापन हुन नसकेको उनको आरोप छ।
अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले पनि यस्तै विषयलाई चुनावी मुद्दा बनाएका छन्। उनको प्राथमिकतामा पनि ल्यान्डफिल साइट बनाउने नै छ। निर्माण व्यवसायी समेत रहेकाले उनले जनकपुरको सुन्दरता फर्काउन फोहोर व्यवस्थापन गर्नुपर्ने जिकिर गरेका छन्।
नेकपा (एमाले) का अन्य शहरका उम्मेदवारले जस्तो जनकपुर उपमहानगरका उम्मेदवार शिवशंकर साह (हिरा)ले ठूलो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्। काठमाडौं, पोखरा लगायत ठूला शहरमा उम्मेदवार बनेका एमाले उम्मेदवारले मोनो तथा मेट्रो रेल, स्मार्ट सिटी बनाउन लगायतका प्रतिबद्धता जनाएका छन्। तर, जनकपुरका एमाले उम्मेदवारको पहिलो प्रतिवद्धतामा फोहोर व्यवस्थापन तथा ल्यान्डफिल साइट निर्माण नै छ।
मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि यस पटक ठूला नारा लगाएको छैन। लोसपाबाट मेयरका उम्मेदवारले मनोज चौधरी जनकपुरलाई सुन्दर शहर बनाउन फोहोर व्यवस्थापन पहिलो सर्त भएको बताउँछन्। शिक्षा, स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर चुनावी प्रचार प्रसार गरिरहेको उनको भनाइ छ।
कसरी बन्यो ल्यान्डफिल साइट मुख्य मुद्दा?
मधेश प्रदेशको राजधानी जनकपुर यस पटक भने ल्यान्डफिल साइटको वरिपरि घुमिरहेको छ। किनकि, एक त जनकपुरको मुख्य समस्या फोहोर व्यवस्थापन बनेको छ।
अर्को, ल्यान्डफिल साइटका लागि चलिरहेको एकीकृत सरकारी विकास परियोजना पनि हो। यस परियोजना अन्तर्गत जनकपुरको सडक विस्तारसँगै ल्यान्डफिल साइटको समेत व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको थियो।
एशियाली विकास ब्यांक (एडीबी) को पौने दुई अर्ब रुपैयाँ सहुलियत ऋणमा सञ्चालित परियोजना अन्तर्गत २६ किलोमिटर सडक, २६ किलोमिटर नाला तथा सुविधासम्पन्न ल्यान्डफिल साइट निर्माण गर्ने लक्ष्य थियो। सडक र नाला निर्माण भए पनि ल्यान्डफिल साइट बन्न सकेको छैन।
जनकपुर उपमहानगरले पाँच किलोमिटर दक्षिणमा रहेको फूलगामास्थित गुठी संस्थानको मणिहारी डिहको जग्गा २० वर्षका लागि भाडामा लिएको छ। यसको सबै तयारी पनि गरिएको छ। तर, स्थानीय बासिन्दाले विरोध गरेपछि ल्यान्डफिल साइट बन्न सकेन।
त्यसपछि जनकपुर हसरी क्षेत्रकै छेउमा रहेको भोईलमा जग्गा खोजिएको थियो। तर, त्यहाँ पनि विवाद भएपछि ४० करोड रकम फ्रिज भएको थियो।
फोहोर व्यवस्थापन हुन नसकेपछि गत वर्ष कात्तिकमा लामो समय सडकमा फोहोर थुप्रिएको थियो। स्थानीय बासिन्दा र केही जनप्रतिनिधिले फोहोर उठाएर मेयरको घर अगाडि फालेका थिए। त्यसयता फोहोर व्यवस्थापन प्रमुख मुद्दा बनेको छ।