स्वतन्त्र उम्मेदवारले जनकपुरमा त्रिपक्षीय प्रतिस्पर्धा
सत्ता साझेदार पाँच दलबीच चुनावी तालमेल भएपछि जनकपुरधाम उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
पाँच दलीय गठबन्धनले मेयरको उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) बाट बनाउने निर्णय गरेको छ। अब गठबन्धन र नेकपा (एमाले) सँगै स्वतन्त्र उम्मेदवारबीच मेयरका लागि प्रतिस्पर्धा हुने देखिएको छ।
गठबन्धनबाट जसपाका लालकिशोर साह उम्मेदवार बन्ने सम्भावना छ। एमालेले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन। एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य दलसँग तालेमल गर्ने तयारी गरिरहेको छ।
दलका उम्मेदवारसँगै निर्माण व्यवसायी बलराम महतोले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। उनी चुनावी प्रचार अभियानमा जुटिसकेका छन्।
जसपाले साहलाई नै उम्मेदवार बनाउने देखिएको छ। उनी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट जनकपुरधामको मेयरमा निर्वाचित भएका थिए। संघीय समाजवादी फोरम नेपाल र राजपाबीच एकीकरण भएपछि उनी पनि जसपामा संलग्न छन्।
जसपा विभाजित हुँदा पनि उनी लोसपातिर लागेनन्। जनकपुरधामको मेयरको उम्मेदवार बनाउने शर्तमा आफू जसपामा बसेको उनी बताउँछन्।
तर, साहलाई उम्मेदवार बनाउनु हुँदैन भन्ने मत पनि देखिएको छ। जसपाका नेताहरूले साहको जित्ने सम्भावना कम रहेकाले अन्यलाई उम्मेदवार बनाउनुपर्ने लबिइङ गरिरहेका छन्।
उनले नपाएमा जसपाले डा. भोगेन्द्र झा, जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बु साह र विष्णुदेव साहमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना पनि छ।
एमालेले वैशाख १० गते उम्मेदवारको टुङ्गो लगाउने भएको छ। एमालेबाट जानकीराम साह र शिवशंकर साह हिराको नाम सिफारिश भएको छ। जानकीरामलाई लोसपाले पनि उम्मेदवार बनाउन खोजेको थियो, तर उनी एमालेमा प्रवेश गरेका छन्।
अर्का दाबेदार शिवशंकरले पार्टीले आफ्नो मूल्याङ्कन गर्नेमा ढुक्क रहेको बताए। पार्टी जस्तो निर्णय गरे पनि आफूले स्वीकार गर्ने उनको भनाइ छ।
सत्तारूढ गठबन्धनमा रहेको नेपाली कांग्रेसमा भने असन्तुष्टि देखिएको छ। जसपालाई जनकपुरको सीट दिने निर्णय गरिएपछि काग्रेसका अधिकांश नेताले विद्रोह गर्ने चेतावनी दिएका छन्। बुधबार नै जनकपुरधामको विद्यापति चोकमा प्रदर्शन समेत गरेका थिए।
कांग्रेस उपमहानगर कार्यसमितिका कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा एक्लै लड्न सक्ने स्थितिमा रहेको वेला जसपालाई सीट दिनु निन्दनीय रहेको बताए। “केन्द्रीय गठबन्धनले हाम्रो भावनासँग खेलबाड गरेपछि विरोधमा उत्रिनुपरेको हो,” उनले भने, “यो निर्णय स्वीकार गरिन्न।”
कांग्रेस उपमहानगर कार्यसमितिका सभापति मनोज साह पनि गठबन्धनको निर्णय मान्य नहुने बताउँछन्। “यो निर्णयले कांग्रेसका कार्यकर्ताको मनमा आघात पुगेको छ,” साहले भने, “यो निर्णय विरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित छन्।”
कांग्रेसमा देखिएको असन्तुष्टिले स्वतन्त्र उम्मेदवार महतोलाई फाइदा पुग्ने देखिएको छ। जसले गर्दा पनि जनकपुरधामको मेयरको प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ।