भरतपुरका उम्मेदवार जगन्नाथ पौडेलका ‘ब्याक बोन’ ८४ वर्षीय कृष्णलाल
सत्ता गठबन्धनको भागबण्डामा चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाई दिएपछि आफू मेयरको उम्मेदवार हुने घोषणा गरेका नेपाली कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा अहिले जगन्नाथ पौडेलको ‘ब्याक बोन’ बनेका छन्।
कांग्रेस नेता जगन्नाथले बागी उम्मेदवारी दिएपछि उनलाई साथ र सहयोग कृष्णलालले दिइरहेका छन्। मत माग्न घरदैलोमा व्यस्त छन्।
८४ वर्षीय कृष्णलाल मेयर पदका लागि जगन्नाथ योग्य रहेको बताउँछन्। उनी जगन्नाथको चुनावी कोण सभालाई सम्बोधन गर्ने, घरदैलोमा सहभागी हुने, टेलिफोन मार्फत समन्वय र सहकार्य गर्ने काममा खटिइरहेका छन्। चुनावी प्रतिस्पर्धामा जगन्नाथले जित्ने उनको दाबी छ। उनले भने‚ “उहाँको जित्ने आधार भनेकै मैले चितवनमा बनाएको पार्टी संगठन नै हो।”
कृष्णलाल कांग्रेस चितवनका पूर्व सभापति हुन्। उनले २०४६ सालको जनआन्दोलनमा चितवनको नेतृत्व गरेका थिए। उनले जनआन्दोलनअघि एक पटक र प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ र २०५७ सालमा कांग्रेस चितवनको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।
जिल्ला विकास समिति (जिविस) चितवनको पहिलो सभापति भएका कृष्णलाल जिविस महासंघको संस्थापक अध्यक्ष पनि हुन्। उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य भएका थिए। १२ वर्षको उमेरमा नै कांग्रेसप्रति आकर्षित कृष्णलालले १७ वर्षको उमेरमा कांग्रेसको क्रियाशील सदस्यता पाएका थिए।
यस पटक कांग्रेसले भरतपुरको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई दिने निर्णय गर्नुअघि नै उनले विरोध गर्दै आएका थिए। अन्ततः पार्टीले भरतपुर माओवादी केन्द्रलाई नै छाड्यो। विद्रोही नेताको छाप बनाएका कृष्णलाल पार्टी निर्णय विरुद्ध खरो उत्रिए। आफू प्रस्तावक बसेर मेयरमा राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता जगन्नाथको उम्मेदवारी दर्ता गराए।
उनले अघिल्लो स्थानीय तह निर्वाचनका लागि गरिएको गठबन्धनको विरोध गरेका थिए। “अघिल्लो चुनावमा पार्टीले दिनेश कोइरालालाई टिकट दियो। उम्मेदवारी दिने निर्णय गरेर टिकट दिइएको थियो। काठमाडौंमा भएका दिनेश हेलिकोप्टरमा आएर दरखास्त दिए‚” अघिल्लो निर्वाचनको घटना उनले सुनाए, “दरखास्त दिएकै भोलिपल्ट टिकट खोसिदिए। यो अनर्थ भयो, केटाकेटीको खेल जस्तो भयो भनेर विरोध गरेको थिएँ।”
त्यस चुनावमा भरतपुरका कांग्रेस नेता तथा कार्यकर्ता अर्को पार्टीका उम्मेदारलाई समर्थन गर्न र भोट हाल्न बाध्य भएको कृष्णलाल बताउँछन्। प्रतिनिधि सभा निर्वाचनमा जिल्लाबाट कृष्णलालको नाम सिफारिश भएको थियो। पछि अर्को पार्टीका उम्मेदवारलाई कांग्रेस नेता तथा कार्यकर्ताहरूले भोट हाल्नुपर्यो। पार्टीको यस्तो निर्णयले नेता तथा कार्यकर्ताहरू पलायन भएकाले त्यसलाई रोक्न आफू लागिपरेको उनको भनाइ छ।
“यस्तै भएपछि कांग्रेसका मान्छेहरू पार्टी छाडेर पलायन हुन थाले। यसको त विरोध गर्नुपर्छ, यस्तो हुन दिनु भएन‚” कृष्णलाल भन्छन्, “यस पटकको चुनावमा त मैले शुरूदेखि नै भनेको थिएँ, अघिल्लो पटक जस्तो भयो भने मेरो दरखास्त पर्छ है।”
निडर कृष्णलाल
कांग्रेसको राम्रो पकड रहेकाले भरतपुरको मेयर अन्य पार्टीलाई दिनु हुँदैन भन्ने आवाज कृष्णलालले उठाउँदै आएका थिए। जिल्लाका कांग्रेसका नेता तथा कार्यकर्ताको पनि माग त्यही थियो। मेयरमा कांग्रेसकै उम्मेदवार हुनुपर्छ भनेर निर्णय पनि गरेका थिए। यस विषय लिएर जिल्लाका नेताहरु केन्द्रमा ‘डेलिगेशन’ पनि गए।
“कसैको कुरा सुनुवाइ नगरी हुकुमी शैलीमा अर्कालाई दिएपछि सहन नसकेर विरोध गरेका हौं‚” कृष्णलाल भन्छन्, “कोही लडेन भने म लड्छु भनिराखेको थिएँ। जगन्नाथजी पहिले त मान्नुभएको थिएन‚ पछि मान्नुभयो।” आफू उम्मेदवार हुने भए प्रस्तावक बस्नुपर्ने जगन्नाथको मागमा उनले सहमति जनाए।
चितवनस्थित धार्मिकस्थल देवघाटमा आफ्नो चौरासी पूजा गराइरहेको समयमा कृष्णलाललाई काठमाडौंबाट एक जना भेट्न आएका थिए। प्रधानमन्त्रीले पठाएर आएको भन्दा आफू जस्तो सामान्य मान्छेलाई चौरासीको शुभकामना दिन पठाएको ठानेर खुशी भएको उनले सुनाए। तर‚ ती व्यक्तिको उद्देश्य अर्को रहेछ।
ती व्यक्तिले भनेका कुरा कृष्णलालले सुनाए‚ “पार्टीले निर्णय गरेको उम्मेदवारको खिलाफमा लड्छु भन्नुभएको रहेछ, भन्नुभए पनि नभए पनि खण्डन गरिदिनुपर्यो भन्ने सन्देश लिएर आएका रहेछन्। यस्तै‚ मलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रस्ताव पनि ल्याएका रहेछन्।”
उक्त कुरा सुनेपछि आफ्नो भनाइ सत्य भएकाले त्यसको खण्डन नगर्ने जवाफ दिए। “मैले मानिनँ, इन्कार गर्दिएँ‚” कृष्णलालले भने‚ “मलाई राष्ट्रिय सभा सदस्य पनि चाहिएको छैन भनेर पार्टीको केन्द्रीय निर्णय र निर्देशनको अवज्ञा गरें।”
वैशाख १२ गते पूर्व सांसद भीमबहादुर श्रेष्ठ र पूर्व सभापति टीकाराम न्यौपानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर कृष्णलाल प्रस्तावक र मीना खरेल समर्थक रही जगन्नाथले उम्मेदवारी दर्ता गराए। त्यसपछिको उम्मेदवारी फिर्ता लिने समयावधिको चार दिन आफू र उम्मेदवार जगन्नाथमाथि दबाब, डर र लोभ देखाइएको कृष्णलाल बताउँछन्। जिल्लादेखि केन्द्रीय नेताहरूले उम्मेदवारी फिर्ता लिन विभिन्न आश्वासन दिए। तर‚ जगन्नाथ अडिग बसे। त्यसरी अडिग भएर बस्नुमा कृष्णलालको आडभरोसा रहेको जानकारहरू बताउँछन्।
पार्टीको निर्देशन नमानेको भनी व्यक्तिगत रूपमा मात्र दबाब दिइएन‚ गठबन्धनले भतपुरमै चुनावी आमसभा समेत गर्यो। त्यो आमसभामा केन्द्रीय नेताहरूले आफूहरूलाई गाली गरेको कृष्णलाल बताउँछन्।
“भरतपुरमा आमसभा गरेरै केन्द्रीय नेताहरूले मलाई गाली गर्नुभयो। उहाँहरूको कुरा सुनेर मलाई कत्ति पनि डर लागेन‚” उनले भने‚ “आफूले निर्माण गरेको कांग्रेसको संगठन बिग्रन लागेकोमा भने डर लागेको छ। बीपी कोइरालाले बनाएको कांग्रेसमा बेथिति आयो। अहिले बिक्रीका लागि लिलाममा राखिंदा मैले सहन सकिनँ। त्यसैले विद्रोह गरेका हौं।”
पार्टीले निर्णय गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिने र उम्मेदवारको प्रस्तावक तथा समर्थक पार्टी सदस्यबाट स्वतः निष्कासन भएको कांग्रेसले जनाएको छ। त्यसले आफू जस्ता सच्चा कांग्रेसलाई केही फरक नपर्ने कृष्णलाल बताउँछन्। पञ्चायतकालको ३० वर्ष कांग्रेसको सदस्यता नवीकरण नगरी पनि कांग्रेस भएकाले कांग्रेसलाई समर्थन र सहयोग गर्न सदस्यता नै प्रमुख नरहेको उनको भनाइ छ।