कांग्रेस नेता शेखर कोइराला भरतपुर नजाने
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न चितवनको भरतपुर नजाने भएका छन्।
पूर्व निर्धारित चुनावी कार्यक्रमहरूमा व्यस्त भएकाले भरतपुर जान नभ्याउने डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
“डा. साबलाई बिहीबार बिहान मात्रै भरतपुर जानुपर्यो भन्ने खबर आयो, तर चुनावका वेलाको एकदमै व्यस्त पूर्व निर्धारित कार्यतालिकाका कारण उहाँ जान भ्याउनुहुन्न‚” थपलियाले हिमालखबरसँग भने, “उहाँ दिनभरि नै विराटनगर आसपासका क्षेत्रमा व्यस्त हुनुहुन्छ।”
सत्ता गठबन्धनबाट भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएकी रेणु दाहालका समर्थकहरूले भने बिहीबारको चुनावी सभालाई डा. शेखर कोइरालाले सम्बोधन गर्ने भनेर प्रचारप्रसार गरिरहेका छन्।
२०७४ सालमा कांग्रेसकै समर्थनमा रेणु भरतपुरमा मेयर बनेकी थिइन्। हार्ने निश्चित भएपछि मतपत्र च्यातेर पुनः मतदान गरेर उनलाई विजयी घोषणा गरिएको नेकपा एमालेले बताउँदै आएको छ।
सत्ता गठबन्धनले रेणु उम्मेदवार बनाएको विरोधमा कांग्रेसका प्रभावशाली नेता जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका छन्। एमालेबाट विजय सुवेदी मेयरका उम्मेदवार छन्।