‘राजेशमान जे बोल्छ, त्यो गर्छ भन्ने वीरगञ्जबासीले बुझेका छन्’
‘कांग्रेसका साथीहरू टिकटको विषयमा असन्तुष्ट हुनुहुन्छ, तर अब गठबन्धन भइसकेको अवस्थामा मलाई नै मत दिनेमा विश्वस्त छु।’
वीरगञ्जमा सधैं चर्चामा रहँदै आएका युवा नेता हुन्, राजेशमान सिंह। शरदसिंह भण्डारीको नेतृत्वमा रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीबाट राजनीतिमा लागेका उनी गत निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट वीरगञ्ज महानगरमा मेयरको उम्मेदवार बनेका थिए।
त्यति वेला तेस्रो स्थानमा आएका उनी फेरि यस पटक मेयरको उम्मेदवार बनेका छन्। अहिले जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेर मेयरको उम्मेदवार बनेका सिंहसँग हिमालखबरका लागि वीरेन्द्र रमणले गरेको संवादः
चुनाव नजिकिंदै जाँदा पनि गठबन्धनभित्रको विवाद कम भएको छैन। यस्तो अवस्थामा पाँच दलका सबै मत पाउने सम्भावना कति छ?
पाँच दलीय गठबन्धनका सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकले मलाई मत दिनेमा विश्वस्त छु। मत पाउने सम्भावना छ, सम्भावना नभएको खण्डमा गठबन्धन नै किन हुन्थ्यो र!
कांग्रेसी कार्यकर्ता असन्तुष्ट छन्। उनीहरूले तपाईंलाई मत दिन्छन् त?
कांग्रेसका साथीहरू टिकटको विषयमा असन्तुष्ट हुनुहुन्छ, तर अब गठबन्धन भइसकेको अवस्थामा मलाई नै मत दिनेमा विश्वस्त छु। उहाँहरूसँग कुराकानी भइरहेको छ। केही ठाउँमा संयुक्त रूपमा नै घरदैलो कार्यक्रम समेत गरेको छु।
गठबन्धनको संयुक्त घरदैलो कार्यक्रम पनि कांग्रेसका साथीहरू सहभागी हुनुभएको छ। जिल्ला तथा नगरका नेताहरू सहभागी हुनुहुन्थ्यो। अहिले असन्तुष्ट हुनु स्वभाविक हो। तर, यसैलाई लिएर विपक्षमा मत हाल्नुहुन्न। बिस्तारै असन्तुष्टि मेटिन थालेको छ।
तपाईंका चुनावी अजेन्डा के के हुन्?
वीरगञ्ज महानगरपालिकामा धेरै समस्या छन्। ढल व्यवस्था हुन सकेको छैन। लामखुट्टेको समस्या छ। तर, पछिल्लो पाँच वर्षमा जनताले देख्ने गरी कुनै कामै भएन।
शिक्षालाई कसरी सर्वसुलभ बनाउने भन्ने चुनौतीको विषय छ। स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचभन्दा बाहिर छ। स्वास्थ्यलाई कसरी सर्वसुलभ तरीकाले जनतासम्म पुर्याउन सकिन्छ? कृषकको उत्पादनलाई कसरी सहज रूपमा बिक्री वितरणको व्यवस्था गर्न सकिन्छ? यी विषय उठाउँदै आएको छु।
किसानले तरकारी उत्पादन गर्ने, तर सहज रूपमा बजारसम्म पुर्याउने व्यवस्था छैन। बिचौलियाको कारणले समस्या हुने गरेको छ। किसानको साटो बिचौलियाले लाभ लिने गरेका छन्।
वीरगञ्जमा बेरोजगारीको समस्या देखिएको छ। औद्योगिक करिडोर हुँदाहुँदै पनि यहाँका युवाले रोजगारी पाइरहेका छैनन्। महिला साक्षरता कम छ।
मैले जितें भने सबैभन्दा पहिले सरसफाइको ठेक्का रद्द गर्छु। किनकि, सर्वसाधारणबाट सफाइका नाममा पैसा लिने गरिएको छ। ठेक्का दिनुपूर्व सरसफाइकर्मीले मासिक १५ हजार रुपैयाँ पाइरहेका थिए। अहिले त्यसलाई घटाएर सात हजारमा झारिएको छ। यो गरीबमाथिको दमन हो।
अर्कातर्फ अत्यधिक कर थपिएको छ। कर थपिएकाले सर्वसाधारण मर्कामा परेका छन्। त्यसलाई घटाउनु छ। समग्र विकास र जनतालाई अनुभूति हुने गरी काम गर्ने लक्ष्यका साथ उम्मेदवारी दिएको छु।
वीरगञ्जमा काम गर्न धेरै चुनौती छ भन्छन्। तपाईंलाई के लाग्छ?
निश्चित रूपमा स्थानीय तहले जनताको समस्या सुन्नुपर्ने हो। तर, गत पाँच वर्षमा जनताका समस्या समाधान गर्नुको साटो त्यसलाई झनै बढाइएको छ। यसले जनतालाई निराश बनाएको छ।
जनताका समस्या समाधान गर्न नै मैले उम्मेदवारी दिएको छु। जनताले मलाई पत्याउनेमा विश्वस्त छु। मत माग्न जाँदा जनताले मप्रति आगाध विश्वास देखाइरहेका छन्। त्यो विश्वासले सबै चुनौती पार गर्नेछु।
तपाईंको जितको आधार के हो?
म जनताको बीचमा गएर काम गर्ने कार्यकर्ता हुँ। जहिले पनि जनताको पक्षमा बोल्दै आएको छु। सदैव ‘ग्रास रूट’ मा रहेर काम गरेको छु। अहिले पनि काम गर्दै आएको छु। यसै कारण जनताले मलाई रुचाइरहेका छन्।
वीरगञ्जबासीसँग सीधै सम्पर्कमा छु। उनीहरूले जहिले जहाँ खोजेका छन्, त्यहाँ उपस्थित भएको छु। यो नै मेरो जितको आधार हो। वीरगञ्जबासीले बुझेका छन्, राजेशमान सिंहले जे बोल्छ, त्यो गर्छ। यिनै मेरो जितका आधार हुन्।