गिरीशको प्रवेशले बदलिएको वीरगञ्जको समीकरण
देशको व्यापारिक शहर वीरगञ्जमा स्थानीय तहको निर्वाचनको चहलपहल शुरू भएसँगै सत्तारूढ र विपक्षी गठबन्धनका उम्मेदवारको चर्चाले चुनावी प्रतिस्पर्धा द्विपक्षीय देखिएको थियो। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गिरीश गिरीको प्रवेशले वीरगञ्जको समीकरण बदलिएको छ।
वीरगञ्ज महानगरपालिकामा सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह मेयरका उम्मेदवार छन्। उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको समर्थन छ।
त्यस्तै, विपक्षी गठबन्धनबाट नेकपा (एमाले) का विजयी सरावगी उम्मेदवार बनेका छन्। उनी निवर्तमान मेयर पनि हुन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ।
उम्मेदवारी दर्ता हुनुअघि सिंह र सरावगीबीच प्रतिस्पर्धा हुने आकलन हुँदै आएको थियो। राप्रपाबाट गिरीले उम्मेदवारी दिएपछि वीरगञ्जको प्रतिस्पर्धा त्रिपक्षीय बनेको राजनीतिक विश्लेषक तथा स्थानीय नेता बताउँछन्।
२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयरमा निर्वाचित सरावगी यस पटक उम्मेदवारी दर्ताको दुई साताअघि एमालेमा प्रवेश गरे। उनलाई नै एमालेले उम्मेदवार बनायो।
गत निर्वाचनमा चौथो स्थान रहेका विमल श्रीवास्तव पनि मेयरमा उठ्ने चर्चा थियो। तर, लोसपाले एमालेसँग गठबन्धन गरेपछि उनी पछाडि हटे। तथापि, लोसपाभित्र गठबन्धनलाई लिएर असन्तुष्टि पनि छ।
लोसपाभित्रको असन्तुष्टि मतदानसम्म रह्यो भने विपक्षी गठबन्धनका उम्मेदवार सरावगीलाई प्रभाव पर्नेछ। लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झा पार्टीभित्र केही असन्तुष्टि देखिए पनि समाधान हुने बताउँछन्। विपक्षी गठबन्धनबाट वीरगञ्जको उपमेयरको उम्मेदवार रहेका झा अलिकति असन्तुष्टिले मत यताउता नजाने दाबी गर्छन्। उनी भन्छन्, “हामी गठबन्धनप्रति इमानदार छौं।”
गत निर्वाचनमा एमाले पाँचौं स्थानमा थियो। चौथो स्थानको लोसपा र पाँचौं स्थानको एमाले मिलेर गठबन्धन मिलेको छ। यससँगै पाँच वर्ष मेयर भइसकेकाले सरावगीको पनि प्रभाव राम्रै छ। राजनीतिमा आएको फेरबदलले फाइदा हुने एमाले स्थानीय नेताको विश्वास छ।
एमालेबाट मेयरका उम्मेदवार सरावगी आफू वीरगञ्जको समग्र विकासलाई लिएर अगाडि बढेको बताउँछन्। “वीरगञ्जको समग्र विकास र सफा वीरगञ्ज होस्। त्यसका लागि उम्मेदवारी दिएको छु,” उनी भन्छन्।
गत पाँच वर्ष विविध कारणले सोचे अनुसार काम गर्न नपाएकाले फेरि उम्मेदवार बनेको उनको भनाइ छ। नयाँ संरचना र कानूनी जटिलताले काम गर्न नसकिएको उनी बताउँछन्। “सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिए पनि केन्द्रले अधिकार दिएन। जसले गर्दा लामो समयदेखि अवरुद्ध वीरगञ्जको विकासलाई अगाडि बढाउन सकिनँ,” सरावगी भन्छन्, “आफ्नो भिजन अनुसार वीरगञ्जको विकास गर्न फेरि उम्मेदवार बनेको छु।”
गत निर्वाचनमा तेस्रो स्थानमा रहेका सिंहले पनि पार्टी परिवर्तन गरे। लोसपा छोडेर जसपाबाट उम्मेदवार बनेका उनका लागि पार्टीभित्र विवाद नहुनु सकारात्मक पक्ष हो। आन्तरिक विवाद मिलेको सन्देश दिन पनि जसपाले उम्मेदवारी दर्ताका दिन सिंहसँगै अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु यादव र संघीय सांसद प्रदीप यादव उपस्थित थिए।
यसअघि लामो समय सिंह र प्रदीप यादवबीच विवाद थियो। तर, सिंहलाई पार्टीमा ल्याउन उनैले अग्रसरता लिएका थिए। सांसद यादवको साथ पाएपछि सिंहको अवस्था बलियो देखिएको छ।
तथापि, पाँच दलीय गठबन्धनभित्रको विवाद भने उनका लागि समस्याका रूपमा रहेको छ। गठबन्धनभित्रको विवाद मिल्दै गएको र जनता पनि आफ्नो पक्षमा रहेको सिंहको दाबी छ। “वीरगञ्जको पहिचान र समृद्धिका लागि उम्मेदवारी दिएको हुँ। उम्मेदवारी दर्ताको दिनमा जनताको उपस्थितले विजय नै हासिल गरे जस्तो देखिएको थियो,” सिंह भन्छन्। आफ्नो पक्षमा जनमत बढ्दै गएको उनको भनाइ छ।
राप्रपाबाट गिरीको उम्मेदवारीले राजनीतिक वृत्तमा चर्चा बढेको छ। मधेशको बौद्धिक वृत्तमा राम्रैसँग चिनिएका सञ्चारकर्मी गिरीलाई जनतासँग जोड्ने काम गरेको छ, गोपाल गिरीको छोराको परिचयले। वीरगञ्जको मेयर रहेका वेला उनका बुबा गोपाल गिरीलाई २०६० माघ १ गते माओवादीले गोली हानी हत्या गरेको थियो। जसले गर्दा मेयरका उम्मेदवार गिरीप्रति वीरगञ्जबासीको सहानुभूति देखिन्छ।
राजनीतिक परिवारका गिरीको बौद्धिक वर्गमा भने निकै पकड देखिएको छ। तर, राजनीतिमा ढिलो प्रवेशले चुनावी प्रतिस्पर्धा गर्न मिहिनेत गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन्। वीरगञ्जका १६ वडामा उनका बुबाको राम्रो पकड थियो। अहिले पनि राम्रो प्रभाव छ। तर, त्यतिले मात्रै चुनाव जित्न नसकिने स्थानीय नेता बताउँछन्। वीरगञ्जमा ३२ वडा छन्। एक स्थानीय नेता भन्छन्, “दुई महीनाअघि मात्रै पनि आएको भए वीरगञ्जको माहोल बेग्लै हुन सक्थ्यो।”
मेयरका उम्मेदवार गिरी स्वयं पनि केही ढिला भएको बताउँछन्। “केही ढिला अवश्य भएको छ,” उनी भन्छन्, “अहिले वीरगञ्जबासीलाई विकल्प चाहिएको छ। त्यो विकल्पका रूपमा म उभिएको छु, वीरगञ्जबासीले विश्वास गर्नेछन्।”
वीरगञ्जबासीको सेवा गर्न आएको उनको भनाइ छ। “मेरा पुर्खाले वीरगञ्जको सेवामा नै आफ्नो जीवन बिताएका छन्, म पनि वीरगञ्जमा सेवा गर्न आएको छु,” गिरी भन्छन्।
वीरगञ्जको विरासत
वीरगञ्जले नेतृत्व चुन्न थालेको ६८ वर्ष पुगेको छ। नगरपालिका घोषणा भएपछि २०१० सालमा केशरबहादुर मानन्धर मेयर बनेका थिए। उनले २०१८ सालसम्म नेतृत्व गरे।
त्यसपछि २०१९ सालमा पशुपति घोष नेतृत्वमा आए। उनीपछि २०२५ सालमा गणेशबहादुर रावल वीरगञ्जको मेयर बने। २०३० सालमा गोपालप्रसाद प्रधान र त्यसपछि २०३९ सालमा विमलप्रसाद श्रीवास्तवले नेतृत्व गरे।
बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि २०४९ सालमा नेपाली कांग्रेसका माधवलाल श्रेष्ठ मेयर र अजय द्विवेदी उपमेयर बने। २०५४ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विमलप्रसाद श्रीवास्तव मेयर र कांग्रेसका कृष्णमुरारी रौनियार उपमेयरमा निर्वाचित भएका थिए।
त्यसपछि केही वर्ष निर्वाचन हुन सकेन। र, २०६० सालमा राजा ज्ञानेन्द्र शाहले राप्रपाका गोपाल गिरीलाई मेयर र कांग्रेसका कृष्णमुरारी रौनियारलाई उपमेयर मनोनयन गरे। मेयर रहेकै समयमा २०६० माघ १ गते नेकपा (माओवादी) ले गिरीको गोली हानी हत्या गर्यो। त्यसपछि राप्रपाकै प्रदीपकुमार सुवेदी मेयर मनोनीत भए।
देश संघीय गणतन्त्रमा गएपछि भएको २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट विजय सरावगी मेयरमा र शान्ति कार्की उपमेयरमा निर्वाचित भएका हुन्। सरावगी कांग्रेसका अजयकुमार द्विवेदीलाई पराजित गर्दै मेयर बनेका थिए।
फोरमका सरावगीले १९ हजार ३९३ मत पाएका थिए भने कांग्रेसका द्विवेदीले १७ हजार १९७ मत पाएका थिए। तत्कालीन राजपा नेपालका राजेशमान सिंहले १२ हजार १६५ र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले आठ हजार ७०१ मत पाएका थिए।
गत निर्वाचनका आधारमा कांग्रेस र जसपा हाराहारीमा छन्। जसपाले मेयर सहित १२ वडाध्यक्ष जितेको थियो भने कांग्रेसले उपमेयर सहित १० वडाध्यक्ष जितेको थियो। कांग्रेसबाट उपमेयरमा जितेकी शान्ति कार्कीले १९ हजार ६०७ मत पाएकी थिइन्।
अहिले वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता छन्। जसमा पुरुष ७० हजार ८१०, महिला ५३ हजार ८३३ र अन्य चार जना छन्।