आगलागीबाट क्षतिग्रस्त बस्ती प्रदेश सरकारले पुनर्निर्माण गर्ने
आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ स्थित बिपतपुर मुक्त कमैया बस्तीलाई सुदूरपश्चिम प्रदेश सरकारले पुनर्निर्माण गर्ने भएको छ।
सुदूरपश्चिम सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले बस्तीको स्थलगत अनुगमन गर्दै निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरी आउँदो आर्थिक वर्ष २०७९/८० देखि बस्ती निर्माण गरिने बताए।
प्रदेश सरकारको मुख्य मन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्निपीडित मुक्त कमैया बस्ती निर्माण गर्ने उनको भनाइ थियो।
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले आगलागी प्रभावित बस्तीमा आयआर्जनको कार्यक्रम पनि सञ्चालन गरिने बताइन्। उनले अझै पनि मुक्त कमैयाले लालपुर्जा नपाएकाले आगलागी भएकै ठाउँमा घर निर्माण गरेर हस्तान्तरण गरिने बताइन्।
प्रदेश सरकारले तत्काल पूर्ण क्षति भएका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ। त्यस्तै, बर्खे खेतीका लागि धानको बीउ निःशुल्क उपलब्ध गराइने र घर बनाउनलाई काठ पनि निःशुल्क उपलब्ध गराइने मन्त्री चौधरीले बताइन्।
वैशाख ११ गते दिउँसो खेतमा रहेको गहुँको नालमा लगाएको आगो बस्तीमा सल्किएको थियो। आगलागीमा ७१ घरमध्ये २७ घर पूर्ण रूपमा र १२ घर आंशिक रूपमा जलेको गाउँका भलमन्सा हिंगुराम चौधरीले बताए।
भलमन्सा हिंगुराम चौधरीको नेतृत्वमा आगलागीबाट प्रभावितले उचित व्यवस्थापनसँगै बस्ती पुनर्निर्माणका माग गरी मुख्य मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका थिए।