‘आगोमा सबै जल्यो, रगत लतपतिएको लुगा पनि फेर्न पाएकी छैन’
देश चुनावमय भइरहेका वेला कैलालीको कैलारी गाउँपालिका-७ मिलनपुर मुक्त कमैया बस्ती भने आगलागीको पीडामा छटपटाइरहेको छ।
तराईको गर्मीमा बस्तीबाट खरानीको धुलो उडिरहेको छ। आगोले जलेका घरका अवशेष मात्र छन्। केही जलेका र केही बाँकी सरसामान यत्रतत्र छन्। सर्वसाधारण के खाने, के लाउने भन्ने समस्यामा छन्।
वैशाख ११ गते मध्याह्न एकाएक शुरू भएको आगोले एकछिनमै पूरै बस्तीलाई लपेट्यो। झण्डै चार घण्टापछि नियन्त्रणमा आउँदासम्म बस्ती खरानी भइसकेको थियो। “खेतमा गहुँको नाल जलाउन लगाइएको आगोले गाउँलाई नै खरानी बनायो,” स्थानीय जानकी चौधरीले भनिन्।
उनको पनि घर आगलागीमा खरानी भएको छ। शरीरमा लगाइएको लुगा बाहेक सबै खरानी भएको उनले सुनाइन्। गाउँमा आगो लाग्नुअघि खेतको आगो निभाउन पुगेकी उनले हेर्दाहेर्दै हावाको वेगसँगै घर सखाप भएको बताइन्।
“घरमा केही बाँकी रहेन, थोपा थोपा गरी जोहो गरेको सम्पति मिनेटभरमै खरानी बन्यो,” जानकी भन्छिन्, “छोराछोरीको कापीकिताब त के, आफ्नो औषधि पनि बचाउन सकिएन।”
उनलाई पाठेघरको समस्या छ। गत असारदेखि औषधि खाइरहेकी छन्। “औषधिको झोला पनि बचाउन सकिनँ,” उनी भन्छिन्, “अहिले औषधि किन्न पनि सकेकी छैन।”
पाठेघरको समस्याले रगत बगिरहन्छ। लगाएको लुगा रगत लतपतिएको छ। तर, फेर्न पाएकी छैनन। “फेर्नलाई अर्को लुगा छैन। भएका लुगा जले,” उनी भन्छिन्।
उनका श्रीमान् मजदूरी गर्छन्। एक-दुई दिनमा उपचारका लागि भारतको पिलभित जाने तयारी गरेकी थिइन्। उनी भन्छिन्, “उपचारका लागि जोगाएर राखेको ५६ हजार रुपैयाँ र जागृति महिला समूहको २९ हजार रुपैयाँ पनि जलेर नष्ट भयो।”
उनकी छोरी देविका चौधरी कक्षा १० मा अध्ययनरत छिन्। उनी परीक्षा दिएर घर पुग्दा घर नै थिएन। छोरीका कापीकिताब पनि जलेको उनले सुनाइन्।
कमलाकी छिमेकी कल्पना चौधरीको घर पनि पूरै खरानी भएको छ। “यो विपत्तिले केही बाँकी रहेन,” कल्पना भन्छिन्, “घरमा अन्नपात छैन। शरीर ढाक्ने लुगा छैन।”
नेपाल रेडक्रस सोसाइटीले केही राहत वितरण गरेको छ। केही थान कपडा पनि दिएको छ। तर, सिलाउनै सकेका छैनन्।
आगलागी शुरू भएपछि सगनी चौधरीले महत्त्वपूर्ण कागजात जोगाउन खोजिन्। केही सामान त जोगाइन्, तर आगोले समात्यो। “आगोको रापले अनुहार डढेको छ, उपचार गर्न पाएकी छैन,” उनी भन्छिन्।
स्थानीय विपतीकुमारी चौधरी घरमा लागेको आगो निभाउन खोज्दै थिइन्। बाल्टीबाट पानी हाल्दाहाल्दै आगोले समात्यो। “भाग्ने क्रममा लगाएको सुरुवालमा आगो समात्यो, सुरुवाल त्यही खोलें र टाउकोमा बाँधेको पछ्यौरी बेरेर भागे,” उनी पीडा सुनाउँछिन्। उनको खुट्टा आगोले पोलेको छ। हिंडडुल गर्न नसक्ने भएकी छन्।
उनले आफ्नो ज्यान त जोगाइन्, तर गोठमा रहेका चार गोरु जले। एउटा बंगुर पनि आगलागीमा मरेको उनले बताइन्।
वडा कार्यालयका अनुसार, आगलागीमा ७१ घर जलेका छन्। जसमध्ये ४४ घर पूर्ण क्षतिग्रस्त भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ। आगलागीमा परेर सात बंगुर, २५ पाडा, ६ गोरु मरेका छन्। यससँगै १२ लाख रुपैयाँ नगद र १५ तोला सुनचाँदी जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ।
कैलारी गाउँपालिकाले अग्निपीडितलाई राहत सामग्री दिएको छ। केही चामल दिएर समूहमा खाना खाने वातावरण मिलाएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए। प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रहेको त्रिपाल दिइएको छ। तर, तराइको गर्मीमा बस्नै मुश्किल भएको पीडित बताउँछन्।