चर्चित स्वतन्त्र उम्मेदवार, कसले के चिह्न पाए?
स्थानीय तह निर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ।
निर्वाचन आयोगले राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित दलकै चुनाव चिह्न दिएको छ। त्यस्तै, स्वतन्त्र उम्मेदवारलाई भने मतपत्रमा व्यवस्था भएकामध्ये चुनाव चिह्न प्रदान गरेको छ।
काठमाडौं लगायत केही महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा स्वतन्त्र उम्मेदवार चर्चामा छन्। उनीहरूले मतदातालाई सहज हुने चुनाव चिह्न माग गरेका थिए। सोही अनुसार आयोगले उनीहरूलाई चुनाव चिह्न प्रदान गरेको छ।
काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार र्यापर बालेन शाहले ‘लौरो’ चुनाव चिह्न पाएका छन्। उनी चुनाव चिह्न लिन शनिबार राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
काठमाडौंमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंह मेयरको उम्मेदवार छिन्। विपक्षी गठबन्धनबाट नेकपा (एमाले) का नेता केशव स्थापित उम्मेदवार छन्।
त्यस्तै, भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ‘भुइँकटहर’ चुनाव चिह्न पाएका छन्। उनले बागी उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका नेताहरूले फिर्ता लिन दबाब दिएका थिए।
गृह मन्त्री बालकृष्ण खाँण लगायत नेता भरतपुर पुगेका थिए। तर, उनले उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। अब उनले ‘भुइँकटहर’ चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गर्नेछन्।
भरतपुरमा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की नेत्री रेणु दाहाल मेयरको उम्मेदवार छन्। त्यस्तै, विपक्षी गठबन्धनबाट नेकपा (एमाले) का नेता विजय सुवेदी उम्मेदवार छन्।
अर्को महानगर पोखरामा मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले पनि ‘लौरो’ चुनाव चिह्न पाएका छन्। पोखरामा सत्तारूढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट एमालेका नेता कृष्ण थापा मेयरका उम्मेदवार छन्।
यसै गरी धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन्। उनी गत निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बनेका थिए।
धनगढीमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका नृपबहादुर वड र विपक्षी गठबन्धनबाट एमालेका रणबहादुर चन्द मेयरका उम्मेदवार छन्।
मोरङको विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ‘लालटिन’ चुनाव चिह्न पाएका छन्। उनले जनता समाजवादी पार्टी (जसपा) बाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
त्यस्तै, विराटनगरकै उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पनि ‘लालटिन’ चुनाव चिह्न पाएकी छन्। उनी नेकपा (माओवादी केन्द्र) बाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेकी छन्।
बैतडीको डिलाशैनी गाउँपालिकाको स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीले ‘पुतली’ चुनाव चिह्न पाएका छन्। उनी एमालेबाट विद्रोह गरेर अध्यक्षको स्वतन्त्र उम्मेदवार बनेका हुन्।