‘कांग्रेस विधानले हँसिया-हथौडामा भोट हाल्न अनुमति दिंदैन, त्यसैले केन्द्रको आदेश अवज्ञा गरें’
‘निष्ठाको राजनीति गर्ने भएकाले गठबन्धनले निर्दिष्ट गरेको बाटोबाट लोकतन्त्रको रक्षा हुन्छ, कांग्रेसको आदर्श र सिद्धान्त संरक्षण हुन्छ भन्ने मलाई लागेन।’
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) लाई सघाउने पार्टीको निर्णय विरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिए। उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो। जति गर्दा पनि उम्मेदवारी फिर्ता नलिएपछि पौडेल सहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट निष्कासित भएका छन्।
प्रस्तावक सापकोटा चितवन कांग्रेसका पूर्व सभापति हुन् भने समर्थक खरेल महासमिति सदस्य हुन्। भरतपुर महानगरको प्रमुखमा उम्मेदवारी दिएका पौडेल उपमेयर भइसकेका छन्।
राष्ट्रिय सभाका पूर्व सदस्य उनी वरिष्ठ अधिवक्ता पनि हुन्। भरतपुर महानगरको मेयरका उम्मेदवार पौडेलसँग हिमालखबरका लागि सविता श्रेष्ठले गरेको कुराकानी:
भरतपुरको मेयरमा किन उम्मेदवारी दिनुभयो?
संविधानले व्यवस्था गरेका तीन सरकारमध्ये यो एउटा सरकार हो। यो कार्यकारिणी, न्यायिक र विधायिकी अधिकार प्रयोग गर्नुपर्ने सार्वभौम निकाय हो। हामीले बाहिरबाट जसरी हेर्छौं, त्योभन्दा कैयौं गुणा बढी महत्त्वपूर्ण र फराकिलो संस्था हो।
स्थानीय सरकार सञ्चालन गर्न अनुभवी र कुशल व्यक्ति चाहिन्छ। म राजनीतिक हिसाबले जेलनेल भोगेको सचेत मान्छे हुँ। नगरपालिका सञ्चालन गरेको अनुभव पनि छ। त्यसैले भरतपुर महानगरपालिकाका लागि उपयुक्त छु भनेरै उम्मेदवारी दिएको हुँ।
उम्मेदवारी दिने निर्णय गरेदेखि फिर्ता लिने दिनसम्मको समय के कसरी बित्यो?
यो समय विभिन्न तहका नेता, कार्यकर्तासँगको संवाद, भेटघाट र सरसल्लाहमै बित्यो। अझ यी दिनहरू उतारचढाव र तनावमा बिते।
उम्मेदवारी फिर्ता लिन पार्टीको निर्देशन र केन्द्रबाट दबाब पनि आयो। किन फिर्ता लिनुभएन?
मैले फिर्ता लिन उम्मेदवारको दरखास्त दिएकै होइन। निष्ठाको राजनीति गर्ने भएकाले गठबन्धनले निर्दिष्ट गरेको बाटोबाट लोकतन्त्रको सुरक्षा हुन्छ, कांग्रेसको आदर्श र सिद्धान्त संरक्षण हुन्छ भन्ने मलाई लागेन। मैले कांग्रेसको केन्द्रीय कार्यसमितिले गरेको निर्णय विधान अनुकूल पनि देखिनँ। नेपाली कांग्रेसको विधानले रूख चिह्नलाई चिन्छ, चारतारे झण्डालाई चिन्छ। पार्टीको विधानले जिल्ला तहदेखि केन्द्रीय तहसम्मका कुनै पनि निकायलाई हँसिया हथौडामा भोट हाल्न अनुमति दिंदैन।
पार्टी केन्द्रको त्यो निर्देशनलाई पालना नगर्नु लोकतान्त्रिक पद्धतिलाई अगाडि बढाउने विधानलाई संरक्षण गर्नेतर्फको यात्रा हो भन्ने मलाई लाग्छ। त्यसैले पार्टी केन्द्रको निर्देशन र आदेशको अवज्ञा गरेको हुँ। नेपाली कांग्रेसको विधानको सीमाभित्र रहेरै उम्मेदवारी फिर्ता नलिएको हुँ।
अब चुनावी प्रचारप्रसारको तयारी कस्तो छ?
म एउटा साधारण व्यक्ति हुँ। गाउँमा बस्छु। यहाँका जनताले नै मलाई ‘कांग्रेसले बाटो बिरायो, कसले सचेत गराउने, कसले सजग गराउने, हामीले बोलेको कुरा सुनुवाइ भएन। यसको अभियन्ता कोही न कोही हुनुपर्छ, कसै न कसैले यो जोखिम मोल्नुपर्यो’ भने।
मलाई जनताले ‘तपाईं पुरानो मान्छे, निष्ठाको राजनीति गरिराख्नुभएको छ, अगाडि बढ्नुस्, तपाईंको साथमा हामी छौं’ भनेपछि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ। म जनताको बलमा, समर्थकको बलमा अगाडि बढेको छु। उहाँहरूले आफ्नो शक्ति, सामर्थ्य देखाएर प्रचारप्रसार गरिराख्नुभएको छ र मलाई जिताउनु पनि हुन्छ।
भरतपुरलाई कस्तो महानगर बनाउन चाहनुहुन्छ?
भरतपुर नेपालकै केन्द्रमा छ। यसलाई स्मार्ट सिटी, शैक्षिक र स्वास्थ्यको हब बनाउनु छ। पर्यटनका हिसाबले पनि महत्त्वपूर्ण छ। त्यसैले भरतपुरको भू-उपयोग नीति तर्जुमा गर्नुपर्नेछ। एरिअल नक्शा तयार गर्नुपर्छ। यहाँको तटबन्धनको समस्या, प्राकृतिक स्रोत उपयोग, सिमाना जोडिएका स्थानीय तहलाई समेटेर विकास गर्नुपर्छ। भू-उपयोग नीति अन्तर्गत भवन निर्माण गर्ने, उद्योग, कलकारखाना स्थापना लगायत कैयौं चुनौती छन्।
कस्तो महानगर बनाउने भन्ने विषयमा कार्यक्रम नै लिएर आउँछु। भरतपुरलाई व्यवस्थित गर्नुपर्छ भनेर २५ वर्षअघि नै उपमेयर हुँदा विमानस्थल, सैनिक ब्यारेक, बसोबास, खानेपानी, सडक पूर्वाधारबारे कार्यक्रम तयार गरेको थिएँ। त्यसबारे मैले बनाएका योजना यसअघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, निवर्तमान मेयर रेणु दाहाल, पूर्व पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि जानकारी दिएको थिएँ।
मैले विकसित भरतपुर बनाउने अवधारणा तयार गरेको थिएँ। अब यसलाई बृहत्तर ढङ्गले कसरी जाने भन्ने विषयमा विशेषज्ञहरू समेतको राय समेटेर कार्यक्रम ल्याउँछु। आगामी पाँच वर्षमा महानगरको रूपान्तरण गरेर देखाउनेछु।
पार्टीले निष्कासन गरिसकेको छ। स्वतन्त्र उम्मेदवार हुनुहुन्छ, कसरी जित्नुहुन्छ? के छन् आधार?
मेरो जितको आधार भनेकै मेरो बाटो सीधा छ, सपाट छ। म निष्ठाको राजनीति गर्ने मान्छे हुँ, भ्रष्टाचार गर्दिनँ। भ्रष्टाचार निर्मूल गर्ने अभियानको अभियन्ता र मानव अधिकारबारे काम गरेको छु। म जहाँ हुन्छु, भ्रष्टाचारमुक्त समाज निर्माणका निमित्त योगदान दिनेछु।
आजसम्म जति ठाउँमा बसेर काम गरेको छु, यही सिद्धान्तलाई परिपालना गरेको छु। अब पनि पारदर्शी, उत्तरदायी महानगरको सरकार, भ्रष्टाचारमुक्त महानगरपालिका र सामाजिक न्याय सहितको महानगरपालिका बनाउने मेरो सपना छ। यसका लागि भरतपुरका आम जनताले मलाई दिइरहेको साथ नै मेरो जितको आधार हो।