त्यो ‘बहुदल-बर्बरता’
गृहमन्त्री योगप्रसाद उपाध्यायले जुलूसमा आएर ‘अब जनता र पुलिस मिल्नुपर्छ, मिल्नुहोस्’ भनेर मत्थर पार्ने प्रयास गरे। तर, भीड झन् उग्र भयो। ‘जनता र पुलिस एक हो भन्छस्? मार्दिम्?’ भन्दै नाराबाजी हुन थाल्यो।
बहुदलीय व्यवस्था पुनर्बहालीका लागि २०४६ साल (७ फागुन-२६ चैत) मा भएको जनआन्दोलनले निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गर्दै प्रजातन्त्र फर्कायो। तर, आन्दोलन सफल भइसकेपछि त्यसको बर्बर बाछिटाले त्यो वेला एउटा ठूलो अनपेक्षित घटना निम्त्याएको थियो।
१० वैशाख २०४७ मा आन्दोलनकारीको उत्तेजक भीडले गस्तीमा खटिएका प्रहरीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको थियो। भीडको नृशंस आक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको थियो। घटनाको ३२ वर्ष पुगेको सन्दर्भमा एक साक्षी तत्कालीन प्रहरी हरिराज अधिकारीको स्मृति प्रस्तुत गरेका छौं।
१० वैशाख २०४७। राति ९/१० बजेको थियो, वीरगञ्जबाट हतियार सहित आएको गाडी कलंकीमा जनताको भीडले समात्यो भन्ने सुनियो। यस्तै, आन्दोलनकारीको भीडले टेकुमा प्रहरीको एउटा गाडी समातेको खबर पनि आयो।
नयाँ सरकार गठनपछि प्रहरी युनिफर्मको रङ भर्खरै परिवर्तन गरिएको थियो, परम्परागत खाकीबाट नीलोमा। अफवाह यस्तो फैलाइएको थियो, नीलो पोशाक लगाएका प्रहरी ‘नक्कली पुलिस हुन्’! सर्वसाधारणमा त्यही मानसिकता व्याप्त हुन थाल्यो। ‘राजाका आर्मी र रानीका चाहिं पुलिस हुन्’ पनि भन्ने गरिएको थियो।
१० वैशाखको राति गस्ती गरिरहेको प्रहरीको गाडी टेकुमा रोकेर आन्दोलनकारीले ‘तिमीहरू डुप्लिकेट पुलिस हौ’ भनेछन्। प्रहरीले प्रतिवाद गर्ने क्रममा भनाभन हुन थाल्यो। विवाद बढ्दै गएपछि समातिएका प्रहरीले गस्तीमै रहेका अन्य दुई गाडीलाई सञ्चार सेटबाट सम्पर्क गरी बोलाए। दुवै गाडी त्यहाँ पुगे।
त्यसपछि तीन वटा गाडीका प्रहरीलाई सडकमा राखेर अराजक भीडले कुटपिट गर्न थाल्यो। ‘पेट्रोलिङ’ गाडी टेकुमा रोकेका छन् भनेको सुनेपछि सादा पोशाकमा म पनि हेर्न गएको थिएँ। त्यहाँ त तीन वटा गाडीमा रहेका आठ/नौ जना प्रहरीलाई सडकमा लडाएका छन्, भीडका सबै जना खनिएर थुकीथुकी, घोचीघोची मरणासन्न कुटपिट गरेका छन्। साथीहरू ऐया, ऐया भनेर चिच्याइरहेका थिए। सहयोग गर्न सम्भव नै थिएन। घटना तुरुन्तै थाहा पाए पनि उद्धार गर्न जान सक्ने अवस्था समेत रहेन। किनकि, विशाल भीड थियो।
रातिको घटना लुकेर हेरें र चूपचाप फर्किएँ। भोलिपल्ट झिसमिसेमा म र एक जना सईसाब घटनास्थल गएका थियौं। हामीलाई लखेटे, भागेर थाना आयौं। के हुने हो भनेर डराइरहेका थियौं। उज्यालो भएपछि जुलूस निस्कियो, नारा लाग्न थाल्यो। कलंकी र कीर्तिपुरबाट आएको जुलूस कालिमाटीमा जम्मा भएको थियो। बेलुकी कुटपिटबाट मरेका र केही घाइते प्रहरीलाई ठेलामा राखेर बजार घुमाउन थालेका थिए। तत्कालीन आईजीपी हेमबहादुर सिंहलाई समेत भीडले जुँगा तान्दै कलंकीतिरबाट ल्याएको थियो।
गृहमन्त्री योगप्रसाद उपाध्यायले जुलूसमा आएर ‘अब जनता र पुलिस मिल्नुपर्छ, मिल्नुहोस्’ भनेर मत्थर पार्ने प्रयास गरे। तर, भीडको आवेग साम्य भएन, झन् उग्र भयो। ‘जनता र पुलिस एक हो भन्छस् ? मार्दिम् ?’ भन्दै नाराबाजी भएको थियो।
त्यति वेला हामी ७०/८० जना प्रहरी हतियार सहित कालिमाटीको थानामा पहरा दिइरहेका थियौं। थानाका इन्चार्ज केशव अधिकारी मोटरसाइकल लिएर भागे। बिहानको खाना खाने वेला भएको थियो, करीब १० बजेतिर भीड थाना आएर तोडफोड र लुटपाट गर्न थाल्यो। पाकिसकेको खाना छाडेर हामी भाग्यौं। भीडले प्रहरीलाई लखेट्ने र जे भेटिन्छ त्यसैले कुट्ने गर्यो। हाम्रो एक साथीलाई कालिमाटीबाट ताहाचलतर्फ लाग्ने बाटोमा रहेको महेन्द्रको सालिकमा बाँधेर कान काटिदिएछन्।
थाना कब्जा भएर प्रहरीलाई कुटपिट गरिन थालेपछि तत्कालीन कायममुकायम डीआईजी अच्युतकृष्ण खरेल ‘प्रहरीलाई लैजान्छु’ भनेर आएका थिए। तर, गृहमन्त्री उपाध्यायले गोली नचलाउन आदेश दिएपछि उनी आँसु झर्दै फर्किए। त्यस घटनालाई अच्युतकृष्ण खरेलले आफ्नो आत्मकथामा पनि वर्णन गरेका छन्।
(घटनाबारे थप स्पष्ट पार्न हामीले खरेलको पुस्तक अच्युतकृष्ण खरेल (सन् २०१८) बाट उक्त दिनको अवस्था चित्रण जस्ताको तस्तै प्रस्तुत गरेका छौं-
भ्याली डीएसपी रविकान्त अर्याललाई आदेश दिएँ, ‘तपाईं फोर्स लिएर कालिमाटी जानुस्। त्यहाँ स्थानीयले समातेर राखेका प्रहरीको उद्धार गर्नुस्।’
उनी एक ट्रक प्रहरी लिएर गए।
थुनिएका प्रहरीको उद्धार निम्ति त्रिपुरेश्वर सालिकबाटै लाठीचार्ज शुरू गरे। मान्छे भागाभाग भयो।
भीड हट्न खोज्दै थियो, त्यही वेला गृहमन्त्री र आईजीपी कालिमाटी तर्फबाट घटनास्थल पुग्नुभयो। झट्ट हेर्दा भीडको नेतृत्व नै गृहमन्त्रीले गरेजस्तो देखिन्थ्यो। उहाँले लाठीचार्ज गर्दै आएका प्रहरीलाई आदेश दिनुभयो, ‘तपाईंहरू फर्कनुहोस्। लाठीचार्ज नगर्नुस्।’
गृहमन्त्रीको आदेशपछि डीएसपी अर्यालसँग विकल्प थिएन।
उनी हतियारसहित मकहाँ आए। मेरो अगाडि हतियार फ्याँकेर भने, ‘सर, पुलिसलाई मार्न लागेका छन्। देश चलाउने गृहमन्त्री भने लाठीचार्ज नगर्न आदेश दिन्छन्। अब यो मुलुकमा प्रहरी धर्मको के अर्थ ?’
मैले रविकान्तलाई निराश नहुन आग्रह गरेँ।
उत्तेजित भीडले गृहमन्त्री र आईजीपीलाई पनि हातपात गरेछ। मैले खबर पाउनेबित्तिकै दुई ट्रक प्रहरी पठाएँ। आङदोर्जे लामा भन्ने कांग्रेस नेताको सहयोगमा गृहमन्त्री र आईजीपीलाई खुलामञ्च नजिकबाट प्रहरी भ्यानमा राखेर उद्धार गरियो। टोल सुरक्षा समितिले पक्रेर राखेका प्रहरीलाई भने उद्धार गर्न सकिएन।
केहीलाई मरणासन्न कुटेर ठेलामा शहर परिक्रमा गराइँदै छ भन्ने थाहा पाएँ। हनुमानढोका, रत्नपार्क हुँदै सिंहदरबार लैजान लागेको खबर आयो। पुतलीसडक पुगेपछि त्यहाँका ट्राफिक इन्चार्ज अशोक सिंहले स्थिति जानकारी गराए। मैले नारायण बस्ताकोटीसहितको टोलीलाई ‘अल-आउट एक्सन’ मा जाने निर्देशनसहित पठाएँ।
प्रहरी ‘एक्सन’ मा आउनेबित्तिकै ठेलागाडा छाडेर भीड लाखापाखा लाग्यो। हामीले लाठीचार्ज गर्यौं। घाइते प्रहरी र केही सर्वसाधारणलाई वीर अस्पताल लगियो।
टेकुमा मरणासन्न कुटिएका ६ जना प्रहरी कर्मचारीको ज्यान गयो। आफूलाई प्रजातन्त्र पक्षधर भन्नेहरूले कर्तव्य पालनामा खटिएका निर्दोष प्रहरी मारे।)
थाना नजिकै डेरा लिएर म र श्रीमती (लक्ष्मी) बस्थ्यौं। कसो कसो भागेर डेरामा पुगें। मेरो पछि पछि अर्का एक साथी पनि आइपुगे। हामी दुवै खाटमुनि लुक्यौं। अब बाँचिंदैन, यो नै अन्तिम दिन हो भन्ने लागेको थियो। श्रीमतीले भुइँसम्म छुने गरी खाटको तन्ना झारिदिइन्। झ्याल खुला गरेर बाहिरबाट ढोकामा चाबी लगाइदिइन्। डेरा गरी बस्ने घरमा पुलिस बस्छ रे भन्दै मान्छेहरू दुई/तीन पटकसम्म आएर खोजी गरेका थिए। झ्यालबाट हेर्दै फर्कंदै गरे। खाटमुनि नै चार/पाँच घण्टासम्म लुक्यौं। भेटेको भए पक्का मारिने थियौं।
साँझ भएपछि मात्र म बाहिर निस्किएँ। त्यही रात नै श्रीमती र म ट्रक चढेर घर (लमजुङ, मध्यनेपाल नगरपालिका-४, दुईपिप्ले) गयौं। बाटोमा पनि प्रहरी हो भन्ने थाहा पाएको भए मार्थे शायद। घरमा एक महीना बसेपछि मात्र म काठमाडौं फर्किन सकें। पहिला खटाइएको थानामा एक महीना ड्यूटी गरेपछि पोखरा सरुवा भयो।
स्थानीयसँगको यस्तै झडपको घटना प्रजातन्त्र घोषणा भएकै दिन २६ चैत ०४६ मा पनि भएको थियो। तर, धन्न सेना आइहाल्यो। २६ चैतको राति मेरो ड्यूटी लगनमा थियो। मानिसहरू बिस्तारै सडकमा जम्मा हुन थाले। रातको १२ बजिसकेको थियो। पटाका पड्काउँदै नाराबाजी गर्दै उर्लिएको भीडले बहुदल आएको सङ्केत दियो। होहल्लामा उत्रिएको भीडलाई हामीले सम्झउन खोज्दा झगडा भयो। हामीसँग सञ्चार साधन थिएन, तत्काल कतै सम्पर्क गर्न सक्ने अवस्था नै थिएन। भीडले हान्न, कुट्न आएपछि हामी भाग्यौं।
हामी सुरक्षाकर्मी भाग्दै लगनको मुख्य चोकमा जम्मा भइरहेका थियौं। त्यस वेला सैनिक जवानहरू हामीलाई खोज्दै आए। ‘बहुदल आयो, आओ आओ’ भन्दै वरिपरि चोकचोकमा ड्यूटी बसिरहेका सेना र प्रहरीलाई बोलाउँदै कमान्डर आए। जुलूस ठूलो थियो। हामी वडा प्रहरी कार्यालय कालिमाटी फर्किन सक्ने हालत थिएन। सैनिक र प्रहरी गरी करीब ८०/९० जना थियौं होला। एउटा पङ्क्तिमा प्रहरी र अर्कोमा सेना राखेर हिंडाउँदै हामीलाई हनुमानढोका दरबारको ब्यारेकमा लगियो। भोलिपल्ट सेनाको गाडीले प्रहरीलाई दरबन्दी भएकै ठाउँमा पुर्याइदियो।
वैशाख २०४५ देखि प्रहरीमा १० वर्ष काम गरेपछि जागीर छाडेर म विदेशिएँ। १५ वर्ष विदेश बसेर फर्केपछि चितवनको भरतपुरमा घर बनाएँ। अहिले यातायात व्यवसायमा संलग्न रही जीविकोपार्जन गरिरहेको छु।
प्रस्तुति: सविता श्रेष्ठ
(हिमालको २०७९ वैशाख अङ्कबाट।)