दूध व्यापारीको कथा र सपना देख्न नपाउने ‘अभागी’ कांग्रेसजन
सत्ता गठबन्धन बचाइराख्ने नाममा नेतृत्वले महानगर र उपमहानगरमा भागबण्डा गरेपछि केही पालिकामा कांग्रेस समर्थक मात्र होइन, वर्षौंदेखि कांग्रेसको राजनीति गर्दै आएकाहरू रूख चिह्नमा भोट हाल्न पाउने अवसरबाट वञ्चित हुने भएका छन्।
स्थानीय तह चुनावको मिति नजिकै आएका वेला वैशाख ७ गते सत्ता गठबन्धनले गरेको भागबण्डाले एउटा पुरानो कथाको याद दिलाउँछ।
कथामा एकजना महिला टाउकोमाथि माटोको भाँडोमा दूध राखेर बेच्न बजार जान्छिन्। बजार जाँदै गर्दा दूध बेचेर आउने पैसाको हिसाब निकाल्दै उनले सपना बुन्छिन्- त्यो पैसाले कुखुराको चल्ला किन्छु। चल्लाले अण्डा पार्छ‚ अण्डाबाट धेरै चल्ला निस्किन्छन्। ती चल्ला बेचेर गहना किन्छु अनि शहरको धनाढ्यसँग विवाह गर्छु।
यस्तो सोच्दै अघि बढ्दा महिलाको खुट्टा अचानक ढुङ्गामा ठोकिन्छ र माटोको भाडो भुइँमा खसेर फुट्छ। सबै दूध पोखिन्छ। दूध पोखिएसँगै महिलाको सपना पनि चकनाचुर हुन्छ।
ती महिलाले सपना त देख्न पाइन्, तर वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेतृत्वले ‘अभागी’ कांग्रेसीजनलाई सपना देख्नबाट समेत वञ्चित गरायो। सत्ता गठबन्धन बचाइराख्ने नाममा नेतृत्वले महानगर र उपमहानगरपालिकामा भागबण्डा गरेपछि केही पालिकामा कांग्रेस समर्थक मात्र होइन, वर्षौंदेखि कांग्रेसको राजनीति गर्दै आएकाहरू पनि रूख चिह्नमा भोट हाल्नबाट वञ्चित भएका छन्।
हरियो रूख काटेमा वन विनाशको मुद्दा लाग्छ। त्यसैले हरियो रूख काटेर काठ, दाउरा बेच्न पल्केकाहरू रूखको बोक्रा ताछ्ने गर्छन्। बोक्रा ताछेपछि रूख क्रमशः सुक्दै जान्छ। सुकेको रूख काट्दा कानून आकर्षित हुँदैन। त्यसपछि सुकेको रूख काटेर काठ, दाउरा पनि बेच्न पाइयो।
मधेशमा कांग्रेसको लडाइँ भनेको जसपासँगै हो। जोसँग लड्नुपरेको छ‚ उसैलाई नेतृत्व सुम्पिएपछि कांग्रेसको हालत के होला!
गठबन्धनको भागबण्डाबाट कांग्रेस नेतृत्वले मधेश प्रदेशमा बोक्रा ताछेर रूख सुकाउनेहरूले जस्तै व्यवहार गरेको देखिन्छ। कांग्रेसको भोट ब्यांकका रूपमा चिनिने मधेशका प्रमुख दुई केन्द्रमध्ये एउटा वीरगञ्ज महानगरपालिका र अर्को जनकपुरधाम उपमहानगरपालिका हुन्।
कांग्रेसले गठबन्धनका नाममा यी दुवै पालिकाको नेतृत्व उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई सुम्पने निर्णय गरेको छ। यसले मधेशमा कांग्रेस कमजोर हुने निश्चित छ। किनकि, मधेशमा कांग्रेसको लडाइँ भनेको जसपासँगै हो। जोसँग लड्नुपरेको छ‚ उसैलाई नेतृत्व सुम्पिएपछि कांग्रेसको हालत के होला!
यस पटकको स्थानीय निर्वाचनमा ३६ लाख नयाँ मतदाता थपिएका छन्। उनीहरूले पहिलो पटक मतदानमा भाग लिंदै छन्। पुराना मतदाताले पनि पाँच वर्षपछि भोट दिंदै छन्। राजनीतिमा मतदानको विशेष महत्त्व हुन्छ। मतदाता र राजनीतिक दलबीच औपचारिक भेट हुने ठाउँ नै मतदानस्थल हो।
तर‚ मतदानस्थलमा पहिलो पटक भोट हाल्न जाँदै गरेका कांग्रेस समर्थकले आफ्ना उम्मेदवार नपाउने अवस्था सिर्जना भएको छ। गठबन्धनमा आबद्ध अर्को दललाई भोट हाल्नुपर्ने बाध्यताका कारण नयाँ मतदाताले कांग्रेस पार्टी र उम्मेदवारको पोस्टर देख्न पाउने छैनन्। चारतारे झण्डा फर्फराएको देख्न पाउनेछैनन्।
आफ्नो पार्टीका उम्मेदवार नहुँदा चिया पसल र चोक कतै पनि कांग्रेसको चर्चा नहुने निश्चित छ। जसका कारण नयाँ मतदाताको मन, मस्तिष्कमा कांग्रेस र चुनाव चिह्न रूख बस्न सक्दैन। यसको प्रभाव संघीय र प्रदेश सभाको चुनावमा पनि पर्नेछ। साथै‚ पाँच वर्षपछि हुने तीनै तहको निर्वाचनमा पनि पर्ने निश्चित छ।
पार्टीको उम्मेदवार भए मात्र मतदाताले छिमेकी र नातेदारलाई पार्टीको पक्षमा माहोल बनाउँछन्। तर‚ स्थानीय तहमा उम्मेदवार नै खडा नगरेपछि कांग्रेसको रूखको जरो क्रमशः सुक्न थालेको भन्दै कांग्रेसजनले असन्तुष्टि पोखेका छन्। पुरानो पुस्ताले असन्तुष्टि पोखिरहेका वेला नयाँ पुस्ता के आकर्षण देखेर कांग्रेसलाई भोट दिन तयार होला?
समान विचार बोकेका दलहरूबीचको चुनावी तालमेल एक हदसम्म स्वाभाविक मान्न सकिन्छ। तर‚ सिद्धान्त नै नमिल्नेसँग चुनावी तालमेलको औचित्य कतैबाट पनि पुष्टि हुन सक्दैन। त्यसो हो भने यो तालमेल केका लागि?