मेयर माओवादीलाई दिए भरतपुर कांग्रेसले गठबन्धनका सबै उम्मेदवार बहिष्कार गर्ने
भरतपुर महानगरको मेयर नेकपा (माओवादी केन्द्र) लाई दिए नेपाली कांग्रेसका स्थानीय नेताहरूले सत्तारूढ गठबन्धनका सबै उम्मेदवारलाई बहिष्कार गर्ने भएका छन्।
भरतपुरका २९ वटै वडाका कांग्रेस सभापतिहरूले मेयर कुनै पनि हालतमा माओवादीलाई दिन नसकिने निर्णय गरेको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै छोरीलाई मेयर बनाउनुपर्ने दबाब दिइरहेका वेला स्थानीय नेताहरूले गठबन्धन र पार्टी केन्द्रको समेत निर्देशन नमान्ने निर्णय गरेका हुन्।
कांग्रेसले मेयर नपाए भरतपुर महानगरमा मेयर र उपमेयर सहित सबै वडाहरूमा कांग्रेसको अध्यक्ष सहित पाँच जना नै उम्मेदवार उठाउने र गठबन्धनका सबै उम्मेदवारलाई बहिष्कार गर्ने निर्णय गरिएको हो।
पहिलो निर्णय:
कांग्रेस चितवन जिल्लाको आह्वानमा २० चैतमा पार्टी केन्द्रीय सदस्यहरू, मन्त्रीज्यू, महासमिति सदस्यहरू, पार्टीका पूर्व सभापतिहरू, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय सभापतिहरू, प्रदेश सभापतिहरू, भरतपुर महानगर सभापति, भरतपुर महानगरका सबै वडाका सभापतिहरूको संयुक्त बैठकमा भरतपुर महानगरमा मेयर नभए गठबन्धन नगर्ने निर्णय गरिएकोमा त्यसको केही दिनमा नै जिल्ला सभापति र महानगर सभापतिज्यूहरूले गठबन्धन गर्ने भन्दै अन्य दलहरूसँग गरिएको सहमतिप्रति हामी सम्पूर्ण वडा सभापतिहरूको ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं।
दोस्रो निर्णय:
सबै वडा सभापतिहरूको बैठकले अब कांग्रेस केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरू कुनै पनि गठबन्धन नगर्ने निर्णय गर्दछौं।
तेस्रो निर्णय:
हाम्रो निर्णय विपरीत गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर र उपमेयर सहित सबै वडाहरूमा कांग्रेसको अध्यक्ष सहित पाँच जना नै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिष्कार गर्ने निर्णय गरियो।