‘मेयरमा उठ्ने तयारीमा छु, यस पटक माओवादीले हामीलाई सहयोग गर्नुपर्छ’
सत्तारूढ पाँच दलले तालमेल गरेर चुनाव लड्ने सहमति गरेपछि चितवनको भरतपुर महानगरपालिका चर्चामा छ। २०७४ मा नेपाली कांग्रेसले उपमेयर र नेकपा (माओवादी केन्द्र) ले मेयर लिएर चुनावी तालमेल गरेको यो महानगरमा अहिले दुवै पार्टीले मेयरमा दाबी गर्दै आएका छन्। भरतपुर महानगरको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ठकुरीसँग उनको कार्यकाल र स्थानीय निर्वाचनको सन्दर्भमा हिमालखबरका लागि सविता श्रेष्ठले गरेको संवादः
उपमेयरमा निर्वाचित भएपछिको पाँच वर्षे कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
यो पाँच वर्ष सुखद, सिकाइपूर्ण तथा उपलब्धिमूलक रह्यो। हामीले जनतासँग गरेका प्रतिबद्धता करीब पूरा गर्यौं। हाम्रो कामबाट जनता सन्तुष्ट रहेको अनुभव गरेका छौं।
न्यायिक समितिको संयोजक भएर काम गरें। दुवै पक्षलाई चित्त बुझाएर न्याय दिनु कठिन काम हो। र पनि, हामी मेलमिलापको माध्यमबाट प्रायजसो मुद्दाहरू टुङ्गो लगाउन सफल भएका छौं।
समितिमा आउने हरेक विषयमा मुद्दालाई अत्यन्तै सूक्ष्म तरीकाले अध्ययन गरेर छिनोफानो गर्ने काम गर्यौं। दुई पक्षको छलफल गराएर उहाँहरूलाई चित्त बुझ्ने किसिमको निर्णय मार्फत मेलमिलापबाट मुद्दा फर्छ्यौट गरेका छौं। यो अवधिसम्म परेका सबै मुद्दा हामीले न्यायिक समितिमा नै निरूपण गरेका छौं। अहिलेसम्म परेका मुद्दाहरूमध्ये १२ वटामा चित्त नबुझेर जिल्ला अदालतमा पुनरावेदन गर्न लैजानुभयो । ती मध्ये १० वटामा न्यायिक समितिकै निर्णयलाई सदर भयो। दुई वटा मुद्दा विचाराधीन छन्। महानगरको स्वमूल्याङ्कनको फारममा न्यायिक समितिले गरेको काम-कारबाहीमा सयमा सय नम्बर पनि पाएका थियौं।
यहाँले आफ्नो कार्यकालमा प्राप्त गर्नुभएको एकदमै महत्त्वपूर्ण उपलब्धि के के हुन् भन्ने लाग्छ?
पहिलो र महत्त्वपूर्ण उपलब्धि त न्यायिक समितिबाट जनतालाई न्याय दिन नै सकेको भन्ने नै लाग्छ। अर्को हामी निर्वाचित भएर आउँदा महानगरको आन्तरिक आय रु.२३ करोड थियो। त्यसलाई एक अर्ब पुर्याउनुपर्ने चुनौती थियो। कोभिड महामारीको बावजूद हामीले त्यो लक्ष्य प्राप्ति गरेका छौं। म संयोजक रहेर करको दायरा फराकिलो बनाउन व्यवसायलाई श्रेणी अनुसार वर्गीकरण गरेर करको दर निर्धारण गर्ने काम भएको थियो। गत वर्ष एक अर्ब पाँच करोड आन्तरिक आय उठ्यो। यो वर्ष रु.एक अर्ब २० करोडको लक्ष्य राखेका छौं। त्यो पूरा हुन्छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्ने संयोजकको जिम्मेवारी पनि पूरा गरें।
महानगरमा हुने सबै योजनाहरूको अनुगमन गर्ने जिम्मेवारी पनि उपमेयरको नै हुन्छ। अनुगमन समितिको संयोजक भएर काम गर्दा राजनीतिक पाटोबाट आएको भए पनि प्राविधिकले गर्नुपर्ने, हेर्नुपर्ने विषयमा अनुभव भएको छ। महानगरलाई समृद्ध र महानगरबासीलाई सुखी बनाउन गर्व गर्न लायक, जनताले देख्ने, महसूस गर्ने काम भएका छन्। महिला नेतृत्वमा आउँदा गर्न सक्छन् भन्ने कुरा प्रमाणित भएको छ।
चुनावका वेला गर्नुभएको प्रतिबद्धता पूरा गर्न सक्नुभयो र?
एकदमै, हामीले एक-एक गरेर पूरा गरेका छौं। सडक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ सबैलाई प्राथमिकता दिएर जिम्मेवारी वहन गरेका छौं। महानगरबासीको आवश्यकता र माग अनुसारका योजना अगाडि सारेर काम गरेको छु। आफ्नो पूरा समय दिएर आफूले जनतामाझ राखेका प्रतिबद्धता अनुसार काम गर्दै आएका छौं।
महानगरको मेयरसँगको समन्वय, सम्बन्ध कस्तो रह्यो ?
राम्रो रह्यो। उहाँको आफ्नो जिम्मेवारी छ। मेरो आफ्नो जिम्मेवारी छ। हामी आआफ्नो जिम्मेवारीमा काम गर्ने भएकाले आवश्यकता अनुसार समन्वय गरेर काम गरिरहेका छौं।
स्थानीय चुनावी गठबन्धनबारे यहाँको धारणा के छ?
गठबन्धन गरेर मिलेर अगाडि बढ्नु राम्रो कुरा हो। स्थानीयदेखि प्रदेश र केन्द्रसँगको एउटा समन्वयमा चुनावी गठबन्धन गरेर जाने भन्ने कुरा भएको छ। सरकारलाई स्थायित्व दिन पनि यो आवश्यक छ।
अबको चुनावमा उम्मेदवार बन्ने तयारी छ कि छैन?
पाँच वर्ष उपमेयर भएर काम गर्दा धेरै अनुभव हासिल गरेकी छु। उपमेयरको जिम्मेवारी इमानदारीसाथ पूरा गरेकी छु। अबको मेरो तयारी मेयर पदका लागि हो। पार्टीले जिम्मेवारी दिनुपर्यो। जिम्मेवारी पाएमा म गर्न सक्छु र सक्षम छु।
चुनावी सन्दर्भलाई लिएर भन्नुपर्दा कांग्रेस चितवनको अवस्था अहिले कस्तो छ?
कांग्रेस चितवनको अवस्था धेरै राम्रो छ। कांग्रेस चितवनले अघिल्लो चुनावमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गर्यो। अब माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्नुपर्छ भनेर कांग्रेसका सबै एकढिक्का भएर अगाडि बढिरहेका छौं। यसबारे कांग्रेस र माओवादीका केन्द्रीय नेताहरूसँग समन्वय भइरहेको छ।