को होला विराटनगरको विरासत धान्ने उम्मेदवार?
पछिल्ला चार वटा स्थानीय निर्वाचनमा कांग्रेस र कम्युनिष्टले दुई-दुई पटक नेतृत्व गरेको विराटनगरमा आगामी चुनावका लागि पूर्व मन्त्री, सांसद र व्यवसायीको नाम चर्चामा छ।
राजनीतिक र आर्थिक गतिविधिले सधैं चर्चामा रहने प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा आगामी स्थानीय तहको चुनावको चहलपहल शुरू भएको छ। महानगरको मेयरका लागि पूर्व मन्त्रीदेखि उद्योगी व्यवसायीले समेत दौडधुप शुरू गरेका छन्।
नेपाली कांग्रेसबाट मेयरका लागि भीम पराजुली र नागेश कोइरालाको नाम चर्चामा छ। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पराजुली अहिलेका मेयर हुन्। आसन्न चुनावमा आफू बलियो उम्मेदवार भएको उनको भनाइ छ।
यसअघि डा. शेखर कोइराला पक्षमा रहेका पराजुली कांग्रेसको १४औं महाधिवेशनमा स्थानीय तहको टिकटकै लागि सभापति शेरबहादुर देउवा पक्षमा लागेका थिए। देउवा पक्षबाटै केन्द्रीय सदस्य बनेका उनी २०६८ र २०७२ सालमा कांग्रेसको नगर सभापति बनेका थिए।
त्यस्तै, संस्थापन इतर समूहबाट डा. कोइरालाका विश्वासपात्र मानिएका नागेश कोइरालाको नाम चर्चामा छ। उनी कांग्रेस मोरङका उपसभापति हुन्। पार्टीले टिकट दिएमा आफू मेयरमा लड्न तयारी अवस्थामा रहेको कोइरालाले बताए।
मुख्य दाबेदार यी दुई नेता बाहेक कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, अमृत अर्यालको नाम पनि चर्चा छ। उनीहरूले अझै सार्वजनिक रूपमा बोलेका भने छैनन्।
त्यस्तै, नेकपा (एमाले) बाट भने धेरै नेता मेयरको दौडमा देखिएका छन्। प्रदेश मन्त्री भइसकेका जीवन घिमिरे, सागर थापा र बाबुराम कार्कीको नाम चर्चामा छ। थापा नगर कमिटीका पूर्व अध्यक्ष हुन् भने कार्की जिल्ला कमिटीका उपाध्यक्ष हुन्।
त्यस्तै, एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेल, इन्चार्ज विनोद ढकालको नाम पनि चर्चामा छ। ढकाल २०७४ सालको चुनावमा मेयरमा पराजित भएका थिए। पार्टीमा सरसल्लाह गरेर मात्रै निर्णयमा पुग्ने ढकालले बताए।
एमालेबाट पूर्व मन्त्री लालबाबु पण्डितको नाम पनि चर्चामा छ। अझै यस विषयमा सोची नसकेको पण्डितको भनाइ छ। त्यस्तै, तारा निरौला पनि मेयरको उम्मेदवारको दौडमा छन्। उनी अवकाशप्राप्त कर्मचारी हुन्।
एमाले महानगर कमिटीको अध्यक्ष पनि भएकाले एक्लो प्रतिस्पर्धी भएको थापाको भनाइ छ। प्रदेश मन्त्री भइसकेका एमाले नेता घिमिरेले विराटनगरको मेयरमा उम्मेदवारी दिन आन्तरिक गृहकार्य अघि बढाएको बताए। एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले मेयरका आकाङ्क्षी धेरै देखिएका बताए। केही दिनभित्रै उम्मेदवारको टुङ्गो लाग्ने उनको भनाइ छ।
नेकपा (माओवादी केन्द्र) बाट तीन जनाको नाम मेयर उम्मेदवारका रूपमा चर्चामा छ। माओवादी नेताहरू भोगेन्द्र यादव, नवीन पौडेल र नमिता न्यौपाने मेयरका आकाङ्क्षी देखिएका छन्।
गत चुनावमा जनता समाजवादी पार्टी (जसपा) र माओवादीबीच तालमेल भएको थियो। मेयरमा जसपाका उमेश यादव र उपमेयरमा माओवादीकी नमिता न्यौपाने उम्मेदवार बनेका थिए। गत चुनावमा उपमेयरको उम्मेदवार भएकाले अब मेयरको दाबी गर्ने न्यौपानेको भनाइ छ। गठबन्धनको चुनावी तालमेल हरेर निर्णयमा पुग्ने उनले बताइन्।
गत निर्वाचनमा माओवादीले भोगेन्द्र यादवलाई मेयरको उम्मेदवार बनाएको थियो। जसपासँग तालमेल भएपछि अन्तिममा फिर्ता गरिएको थियो। माओवादीको महानगर कमिटीका पूर्व अध्यक्ष यादव अहिले प्रदेश कमिटी सदस्य छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट महेश रेग्मी मेयरको उम्मेदवारका रूपमा चर्चामा छन्। उनी एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य हुन्। पार्टीले निर्णय गरेमा आफू मेयरमा उठ्न तयार रहेको रेग्मीले बताए।
लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय रेग्मी मोरङका परिचित नेता हुन्। उनी एकीकृत समाजवादीको प्रदेश १ का सचिव पनि हुन्। एकीकृत समाजवादीबाट पारुल क्षेत्री पनि उम्मेदवारको दौडमा छन्। उनी महानगर कमिटी अध्यक्ष हुन्।
जसपाबाट जयराम यादवको नाम चर्चामा छ। उनी प्रदेश १ का स्वास्थ्य मन्त्री हुन्। “पार्टीले जहाँ उठ् भन्छ, म त्यही प्रतिस्पर्धी हुँ,” यादवले भने।
उनीसँगै अन्य दुई जना पनि मेयरका आकाङ्क्षी देखिएका छन्। गत निर्वाचनमा मेयरमा पराजित उमेश यादव, पूर्व उपमेयर भूराज राई, जसपाका केन्द्रीय सदस्य तेजलाल कर्ण र अमरेन्द्र यादवले पनि मेयरको उम्मेदवारका लागि दाबी गरिरहेका छन्। अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
यी बाहेक एमाले र कांग्रेसबाट केही व्यवसायीको नाम पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छ। एमालेबाट भीम घिमिरे र कांग्रेसबाट राजन खत्रीको नाम चर्चामा आएको हो। दुवै जना व्यवसायी हुन्।
कस्तो छ विगत?
प्रदेश १ को राजधानी समेत रहेकोे विराटनगर महानगरले विशेष महत्त्व बोकेको छ। राजनीतिको उर्वरभूमि मानिएको विराटनगर पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा मनमोहन अधिकारीले राजनीति गरेको थलो हो।
गत निर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए। मेयरमा पराजुलीले २३ हजार ३१ मत, एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए।
उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन्। नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तेस्रो स्थान प्राप्त गर्दै १० हजार ५३६ मत ल्याएकी थिइन्।
गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो। उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीलाई एमालेले समर्थन गरेको थियो।
कांग्रेस एक्लैले चुनाव लडेको थियो भने जसपा र माओवादीबीच तालमेल भएको थियो। एमाले फुटेको र कांग्रेसमा पनि महाधिवेशनको असर राष्ट्रिय सभामा समेत देखिएकाले आसन्न स्थानीय चुनाव रोचक हुने स्थानीय नेताहरू बताउँछन्।
यस्तो छ दलीय गणित
विराटनगरमा १९ वडा छन्। अहिले १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरमा मात्रै एक लाख ३३ हजार १४२ मतदाता छन्। २०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता थिए।
२०७४ सालको निर्वाचनमा वामपन्थी मत एमाले र माओवादीको २४ हजार २१९ थियो भने कांग्रेस र राप्रपाको २६ हजार १५१ थियो। यस्तै, जसपाको १० हजार ९३२ थियो।
यस पटक वामपन्थी दल विभाजित छन्। एमाले र माओवादीसँगै एकीकृत समाजवादीले सबै वडामा संगठन निर्माण गरिसकेको छ। कांग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे चार हजार मत फोरम लोकतान्त्रिकबाट थपिएको छ।
राप्रपासँग तालमेल गर्ने तयारीमा एमाले नेताहरू छन्। राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले उपमेयर दिएमा एमालेसँग तालमेल हुन सक्ने बताए।
विराटनगरको विरासत
अहिलेसम्म विराटनगरमा भएका चार वटा स्थानीय निर्वाचनमा दुई पटक कम्युनिष्टले र दुई पटक कांग्रेसले जितेका छन्। २०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ मेयर बनेका थिए।
त्यसपछि २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए। २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयर बनेका थिए। गत २०७४ सालको स्थानीय निर्वाचनमा पुनः कांग्रेसका भीम पराजुली विजयी बनेका हुन्।
गठबन्धन नभएमा विराटनगरमा कांग्रेसलाई चुनाव जित्न कठिन हुने विश्लेषण गर्न थालिएको छ। किनकि, अहिलेका मेयर पराजुलीको पाँचवर्षे कार्यकालको प्रशंसा गरेको सुनिंदैन।
स्थानीय निर्वाचनको मिति घोषणा भएसँगै विराटनगरमा पाँचौं मेयरका रूपमा धेरै व्यक्तिको नाम लिन थालिएको छ। विराटनगरको विरासत धान्न सक्ने व्यक्तिलाई दलहरूले उम्मेदवार बनाउनुपर्ने स्थानीय बासिन्दाको मत छ।