यस्ता छन् हेटौंडाको मेयरका दाबेदार
अघिल्लो चुनावमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको हेटौंडा उपमहानगरपालिकामा यस पटक एकीकृत समाजवादीले पनि मेयरको दाबी गरिरहेको छ।
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै हेटौंडा उपमहानगरपालिका मेयर उम्मेदवारको चर्चा शुरू हुन थालेको छ। केही नेताले मेयर टिकटका लागि 'लबिइङ' पनि शुरू गरेका छन्।
मकवानपुरमा पनि सत्तारूढ गठबन्धनले तालमेल गरेरै अघि बढ्ने सहमति गरिसकेको छ। तर, गठबन्धनले मेयर, उपमेयर र १९ वटा वडाध्यक्षको भागबण्डा गर्न बाँकी नै छ।
ठूलो पार्टी भएकाले कांग्रेसले मेयर आफूलाई राखेर उपमेयर नेकपा (एकीकृत समाजवादी) लाई दिने तयारी गरेको छ। एकीकृत समाजवादीले पनि आफूलाई मेयर दिनुपर्ने अडान राखेको छ।
गठबन्धनमा ठूलो पार्टी कांग्रेसले मेयरको दाबी गरिरहेको छ। कांग्रेसका तर्फबाट चार जनाको नाम चर्चामा छ।
२०७४ सालको स्थानीय तहको मतपरिणाम अनुसार दोस्रो शक्ति हो। अझ गठबन्धन हुन भएपछि कांग्रेस नेताहरू जित पक्कापक्की हुने विश्वासका साथ टिकटका लागि 'लबिइङ' मा लागेका छन्।
अघिल्लो निर्वाचनमा पराजित आनन्दराम पराजुली मेयरका आकाङ्क्षी छन्। १४औं जिल्ला अधिवेशनमा सभापतिमा त्रिपक्षीय भिडन्त हुँदा दोस्रो भएका पराजुलीलाई मेयरको टिकट दिने आश्वासनमा पार्टीको दोस्रो चरणको निर्वाचनबाट पराजुलीलाई ब्याक गराएको कांग्रेस नेताहरू बताउँछन्।
त्यस्तै, कांग्रेसबाट युवा नेता प्रभातकुमार दाहाल, कांग्रेस जिल्ला कार्यसमितिका सचिव भीमसेन महत र हेटौंडा उपमहानगरपालिका-५ का वडाध्यक्ष राजेश बानियाँ पनि मेयरको उम्मेदवारको दाबी गरिरहेका छन्।
त्यस्तै, एकीकृत समाजवादीबाट मीनाकुमारी लामा उम्मेदवारको दाबेदार हुन्। उनी अहिले हेटौंडाकी उपमेयर छिन्। गठबन्धनबाट एकीकृत समाजवादीले मेयर पाएमा लामाले नै उम्मेदवार टिकट पाउने केन्द्रीय सदस्य मुनु सिग्देल बताउँछिन्। अहिले उपमेयर भएकाले मेयरको स्वाभाविक दाबेदार भएको उनको भनाइ छ।
त्यस्तै, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल पनि मेयरका दाबेदार हुन्। उनको पनि सम्भावना रहेको नेत्री सिग्देल बताउँछिन्।
अघिल्लो निर्वाचनमा गठबन्धनबाट उपमेयर लडेको नेकपा (माओवादी केन्द्र) ले मेयरका लागि दाबी गरेको छैन। “यो विषय गठबन्धनले टुङ्ग्याउने हो, हामी आफ्नो तयारीमा छौं,” माओवादीको बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले भने।
त्यस्तै, नेकपा (एमाले) बाट तीन जनाको दाबी देखिएको छ। एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेल मेयर उम्मेदवारका रूपमा चर्चामा छन्। एमाले बागमती प्रदेशको संगठन विभाग प्रमुख समेत रहेका पौडेलले हेटौंडाको विकासका लागि मेयर उठ्ने मनस्थिति बनाएको बताउँछन्। उनी पार्टीले टिकट दिएमा मेयरमा चुनाव लड्न तयार रहेको बताउँछन्।
त्यस्तै, एमालेबाट हरिबहादुर महत पनि उम्मेदवारका दाबेदार छन्। उनी अहिलेका मेयर हुन्। उनले दोहोर्याउने इच्छा राखेका छन्।
यसै गरी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल पनि एमालेबाट मेयरको आकाङ्क्षी देखिएका छन्। उनले गाउँ गाउँमा पुगेर कार्यकर्ता भेट्न थालेका छन्। यससँगै एमाले नेतृत्वसँग टिकटका लागि 'लबिइङ' थालेको स्थानीय नेताहरू बताउँछन्।
सत्तारूढ गठबन्धन मिलेर चुनाव लड्ने भएपछि एमालेलाई सहज हुने देखिंदैन। त्यसैले एमाले स्थानीय नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयासमा छन्।
मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको पकड भएको क्षेत्र हो। तर, राप्रपा विभाजनका कारण कार्यकर्ता र समर्थक पनि अलग्गिएका छन्। जसले गर्दा राप्रपा केही कमजोर बनेको छ। नयाँ बनेको पार्टी राप्रपा नेपालले संगठन विस्तार गर्न भ्याएको छैन।
एमाले र कांग्रेसकै प्रतिस्पर्धा
मकवानपुरका १० स्थानीय तहमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको परिणामले देखाउँछ। तर, हालै विभाजन भएकाले एमालेलाई सहज भने छैन।
एमालेबाट निर्वाचित दुई वटा पालिकाका अध्यक्ष एकीकृत समाजवादीमा गएका छन्। २०७४ सालको निर्वाचनमा एमालेले ६, कांग्रेस र माओवादीले दुई-दुई पालिका जितेका थिए। अघिल्लो निर्वाचनमा हेटौंडा उपमहानगरमा पनि एमालेले थोरै मतान्तरले जितेको थियो।
एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत पाएका थिए। कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए। त्यस्तै, राप्रपाका मधुप्रसाद अधिकारीले ६ हजार ८५७ मत पाएका थिए। चौथो नम्बरमा तत्कालीन संघीय समाजवादी फोरमका शुभरत्न गोलेले एक हजार १०६ मत प्राप्त गरेका थिए।
बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि भएका २०४९ र २०५४ सालको निर्वाचनमा पनि एमालेले नै जितेको थियो। कांग्रेसले अहिलेसम्म हेटौंडामा नेतृत्व लिन सकेको छैन।