भाइरल तस्वीरको भित्री कथा
सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउनुतर्फ भन्दा भ्यूटावर निर्माण जस्ता अनावश्यक काममा जोड दिंदा दुर्गमका आमाहरू बाटोमै बच्चा जन्माउन बाध्य मात्रै छैनन्, ज्यान पनि गुमाइरहेका छन्।
समयमै स्वास्थ्य संस्था पुग्न नपाउँदा ज्यान गुमाएका बाजुराका सुत्केरी आमाका विषयमा समाचार लेख्दै गर्दा कम्प्युटरका फाइल पल्टाउने क्रममा एउटा तस्वीर फेला पर्यो। १२ चैतमा त्यो तस्वीर ट्वीट गर्ने बित्तिकै भाइरल बन्यो।
त्यो अलि पुरानो तस्वीर थियो। तर, बाजुराको समस्या उस्तै छ। केही परिवर्तन आएको छैन। घरमै, बाटोमै शिशु जन्माउने क्रम अझै रोकिएको छैन। यो कति जोखिमपूर्ण छ भने ज्यानै जान सक्छ।
पछिल्लो तीन वर्षमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा आठ जना सुत्केरी आमाले ज्यान गुमाएका छन्। अझै जानकारीमा नआएका यस्ता घटना त कति होलान् कति!
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको मातृ मृत्यु दर प्रति एक लाख जीवित जन्ममा २३९ जना छ। शिशु मृत्यु दर प्रति हजारमा २७ तथा नवजात शिशु मृत्यु दर २० जना छ।
माथिकाे तस्वीरले सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चायो। तर, बाजुराका लागि भने सामान्य जस्तै भइसकेको छ। हरेक महीना स्वास्थ्य संस्था जाँदा बाटोमै बच्चा जन्माएका खबर आइरहन्छ।
यही फागुन अन्तिम साता मात्र हिमाली गाउँपालिका-२ नातिखोलाकी २३ वर्षीया पार्वती बुढाले स्वास्थ्य चौकी आउँदा बाटोमै बच्चा जन्माइन्। नातिखोलाबाट हिमाली-१ मा रहेको बिच्छ्याँ स्वास्थ्य चौकी जाँदै थिइन्। “नातिखोलाबाट बिच्छ्याँ स्वास्थ्य चौकी निकै टाढा छ,” स्वास्थ्य चौकी इन्चार्ज विमला पाण्डेले भनिन्, “सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकी आउँदा बाटोमै बच्चा जन्मिएछ।”
भौगोलिक विकटताले बाजुराका दुर्गम गाउँबाट स्वास्थ्य संस्था भएको ठाउँमा पुग्न घण्टौं लाग्छ। कतिपय गाउँबाट त एक दिन नै लाग्छ। सुत्केरी व्यथा लागेपछि मात्रै स्वास्थ्य संस्था लग्ने गरिन्छ। जसले गर्दा लामो बाटो हिंड्दाहिंड्दै सुत्केरी हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
यसरी बाटोमै बच्चा जन्माउँदा कतिपय आमा र बच्चाको ज्यान पनि जाने गरेको छ। गत वर्ष सुत्केरी व्यथा लागेपछि छिमेकी जिल्ला अछामको स्वास्थ्य संस्थामा जाने क्रममा बाटोमै बच्चा जन्माउँदा दुई जना आमाले ज्यान गुमाए। नवजात शिशुको पनि ज्यान गयो।
यस अर्थमा मैले तस्वीर शेयर गरेका आमाछोरा भने भाग्यमानी रहे। उनीहरूको ज्यान जोगियो। केही दिनअघिको टेलिफोन कुराकानीमा पारिवारिक सुखदुःखका कुरा सुनाएका थिए।
चार वर्षअघि हो, रिपोर्टिङका क्रममा बुढीगंगा नगरपालिका-३ ब्रह्मतोला पुगेको थिएँ। बुढीगंगा नगरपालिकाको कुल्देवमाण्डौं जाँदै थियौं। बाटोमा बच्चा जन्माएको भेट्टायौं। र, उनीहरूको सहमति लिएर तस्वीर खिचिएको थियो।
ती आमा थिइन्, बुढीगंगा नगरपालिका-२ बजेडी गाउँकी तारा लुहार। उनले बच्चाको नाम करण राखेको बताइन्। अहिले बच्चा र आफू सकुशल रहेको सुनाइन्।
ताराको पेटमा बच्चा हुर्किँदै गर्दा उनका पति लछी लुहार भने घरमै थिए। प्रायः भारतमा काम गर्न जाने भए पनि तारा गर्भवती भएकाले घरमै बसेका थिए।
ताराले बच्चा जन्माउनुभन्दा केही महीनाअघि भने लछी बिरामी भए। उपचारका लागि भारत गएका थिए। जसले गर्दा ताराले घरको कामकाज पनि एक्लै धान्नुपर्ने थियो। उनलाई सुत्केरी व्यथा नलाग्दै स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने थाहा थिएन। गाउँका प्रायः सबै आमाहरूले घरमा बच्चालाई जन्म दिन्थे।
उनलाई सुत्केरी व्यथा लागेको केही दिनपछि मात्रै आफन्तले स्वास्थ्य चौकी लगेका थिए। स्वास्थ्य संस्था नपुग्दै बाटामै बच्चा जन्मियो।
बच्चा बोकेर घर फर्किन्। तर, भारतमा उपचार गर्न गएका उनका श्रीमान् भने फर्केनन्। उपचारका क्रममा भारतमै मृत्यु भएको स्थानीय मदन जोशीले बताए।
अहिले घरपरिवारको जिम्मा ताराकै थाप्लोमा छ। जेनतेन परिवार पालिरहेको उनले बताइन्।
उनको जस्तै बाजुराका दुर्गम गाउँका कैयौं आमाहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउने गरेका छैनन्। अहिले पनि स्वास्थ्य संस्था बाहिर बच्चा जन्माउने सङ्ख्या निकै रहेको बिच्छ्याँ स्वास्थ्य चौकी इन्जार्च पाण्डे बताउँछिन्। बुढीगंगासँगै बिच्छ्याँका गाउँहरू पनि स्वास्थ्य चौकीबाट निकै टाढा छन्।
हिमाली गाउँपालिकाको अवस्था पनि त्यस्तै छ। हिमाली गाउँपालिकाका वडा नंं १, २ र ३ का गाउँहरू बिच्छ्याँ क्षेत्रमा पर्छन्। यो क्षेत्रले बाजुराको ३५ प्रतिशत भूगोल ओगटेको छ।
बिच्छ्याँ क्षेत्रमा कोट, कोटी, नातिखोला, रम्दी, बामु, युना, बौडी गाउँ पर्छन्। यी गाउँ स्वास्थ्य चौकीबाट दुई घण्टादेखि एक दिनको पैदल दूरीमा छन्। अझ गुम्बा र लाम्पाटा गाउँबाट बिच्छ्याँ स्वास्थ्य चौकी पुग्न दुई दिन हिंड्नुपर्छ।
बिच्छ्याँ स्वास्थ्य चौकीबाट एक घण्टाको दूरीमा पर्ने दुई गाउँ मात्रै छन्, टिन र नेटा। अन्य सबै गाउँका बासिन्दालाई स्वास्थ्य चौकी पुग्न सकस छ। टाढा र दुर्गम भएकाले स्वास्थ्य चौकी आउन निकै समस्या हुने गरेको हिमाली गाउँपालिका-३ का वडाध्यक्ष ध्याने रोकाया बताउँछन्।
जसले गर्दा स्वास्थ्य संस्था नपुग्दै ज्यान समेत जाने गरेको छ। गत कात्तिकमा हिमाली गाउँपालिका-४ तिथिचौरकी २१ वर्षीया गंगा चदाराले शिशुलाई जन्म दिएपछि रक्तस्राव रोकिएन। उनलाई आफन्तजले बोकेर अस्पताल ल्याउन खोजे। केही बाटो पार नगर्दै उनको ज्यान गयो।
स्वास्थ्यकर्मीहरूका अनुसार, भौगोलिक विकटतासँगै गरीबी र चेतनाको अभावले आमाहरू ज्यान गुमाइरहेका छन्। गर्भवती भएपछि नियमित गर्भ जाँच गराउन स्वास्थ्य संस्था पुग्ने गरेका छैनन्। अर्को, गरीबीका कारण सुत्केरी भएको वेला आराम गर्न, पोषिलो खानेकुरा खान पाउँदैनन्।
यससँगै सानै उमेरमा बिहे हुनु, कम उमेरमै बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, गर्भवती हुँदा पनि कडा परिश्रम गर्नु लगायत कारणले पनि आमा र बच्चाको ज्यान गइरहेको छ। यी समस्या सम्बोधन गर्नतिर स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान जान जरुरी छ। नत्र यस्ता तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहनेछन्, सुत्केरी आमाले भने बाटोमै बच्चा जन्माउने, ज्यान गुमाउने जोखिम कम हुनेछैन।