ह्याट्रिक विकेटसँगै करण केसीले बनाए कीर्तिमान
पपुवा न्यूगिनी विरुद्धको खेलको अन्तिम ओभरमा ह्याट्रिक गरेसँगै करण केसीले कीर्तिमान बनाएका छन्।
त्रिदेशीय शृङ्खला अन्तर्गत बिहीबारको खेलका अन्तिम तीन बलमा केसीले ह्याट्रिक विकेट लिएका हुन्। अन्तिम ओभरको चौथो बलमा नोसैना पोकनालाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच आउट गराएर एउटै इनिङमा पाँच विकेट लिने उनी नेपालको पहिलो खेलाडी बनेका छन्।
उनले व्यक्तिगत प्रदर्शनमा पनि सुधार गरेका छन्। याे उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। उनले ७ अक्टोबर २०१९ मा नेदरल्यान्ड्स विरुद्ध १७ रन दिएर चार विकेट लिएका थिए। यसअघि १५ जुलाई २०१५ मा हङकङ विरुद्ध १६ रन दिएर चार विकेट लिएका वसन्त रेग्मी नेपालका लागि उत्कृष्ट बलिङ गर्ने खेलाडीमा उनीभन्दा अगाडि थिए।
अन्तिम ओभरमा ह्याट्रिक लिन केसीले चाड सोपर र सेमन अटाईको विकेट लिएका थिए। अन्तिम ओभरको दोस्रो बलमा सोपरलाई रोहित पौडेलद्वारा क्याच आउट गराएका थिए। त्यस्तै, तेस्रो बलमा अटाईलाई बोल्ड गरेका थिए।
त्यस्तै, पहिलो ओभरको चौथो बलमा पपुवा न्यूगिनीका लेगा सिअकालाई आसिफ शेखद्वारा क्याच आउट गराएका थिए। त्यसपछि तेस्रो ओभरको दोस्रो बलमा अशद भालालाई सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए। उनी आजको खेलमा प्लेयर अफ द म्याच भए।