पपुवा न्यूगिनीलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
पपुवा न्यूगिनीलाई ३७ रनले पराजित गर्दै नेपाल त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा करण केसीले पाँच विकेट लिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो। नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रन बनायो।
पपुवा न्यूगिनीका लागि चार्ल्स अमिनीले ६२, टोनी उराले ४३, सेसे बाउले २५ र नर्मन भनुआले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि केसीले ३.४ ओभरमा २१ रन खर्चिंदै पाँच विकेट लिए। उनी प्लेयर अफ द म्याच भए।
त्यस्तै, नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले दुई-दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले सात विकेटको क्षतिमा २०३ रन बनाएको थियो। नेपालका लागि ऐरी र आलमले विस्फोटक ब्याटिङ गरेका थिए।
ऐरीले ३३ बलमा ६६ रन बनाए भने आलमले ११ बलमा ३१ रन प्रहार गरे। त्यस्तै, नेपालका लागि रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन बनाए।
पपुवा न्यूगिनीका लागि कबुआ मोरियाले तीन, रिलेई ह्याकुरले दुई, नोर्मन भनुआ र नोसैना पोकनाले एक-एक विकेट लिए। टस जितेको पपुवा न्यूगिनीले नेपाललाई ब्याटिङको निम्ता गरेको थियो।
यो जितसँगै नेपालले ६ अङ्क प्राप्त गरेको छ। नेपालसँगै दुवै र मलेशिया एक खेल हारेको पपुवा न्यूगिनीले अङ्क जोड्न सकेको छैन। यसअघि पपुवा न्यूगिनीलाई हराएको मलेशियाको दुई अङ्क छ। अब मलेशिया र पपुवा न्यूगिनीमध्ये एक टोली फाइनलमा प्रवेश गर्नेछ।
पाँचौं खेलमा शुक्रबार पपुवा न्यूगिनी र मलेशिया भिड्नेछन्। त्यस्तै, अन्तिम खेलमा शनिबार नेपाल र मलेशियाको प्रतिस्पर्धा हुनेछ। त्यसपछि सोमबार फाइनल खेल हुनेछ।