उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता विरुद्ध सर्वोच्चमा रिट
स्थानीय चुनावमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितमा स्थानीय तहमा उम्मेदवारी दिंदा जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान हटाउन अन्तरिम आदेश माग गरेका छन्।
निर्वाचन आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले आगामी स्थानीय चुनावमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ। आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि आयोगले आचारसंहिता जारी गरेको हो।
यो कानूनी र नैतिक रूपमा पनि गलत भएको शेर्पाको दाबी छ। “स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा नदिंदा निर्वाचन प्रभावित हुन्छ भन्ने बुझाइ गलत छ,” शेर्पाले हिमालखबरसँग भने, “संघीय र प्रदेश सरकारका मन्त्रीहरूले राजीनामा नदिई हेलिकोप्टरमा घुमेर प्रचार गर्दा निर्वाचन प्रभावित नहुने, तर वडाध्यक्षले लुखुरलुखुर हिंडेर प्रचार गर्दा कसरी निर्वाचन प्रभावित हुन्छ?”
कानूनी रूपमा पनि यो लागू गर्न कठिन भएको उनको भनाइ छ। “मेयरले उपमेयरलाई र उपमेयरले मेयरलाई तथा गाउँपालिका अध्यक्षले उपाध्यक्षलाई र उपाध्यक्षले अध्यक्षलाई राजीनामा दिनुपर्ने कानूनी व्यवस्था छ,” अध्यक्ष शेर्पाले भने, “यो आचारसंहिता पालना गर्दा एउटाले मात्रै राजीनामा दिन मिल्छ, स्वीकृत हुन्छ। अर्को पदाधिकारी त राजीनामा दिन नपाएर उम्मेदवार बन्नबाट वञ्चित हुने भयो।”
यिनै दुई कारणले निर्वाचन आचारसंहिता गलत भएको जिकिर गर्दै उनले सर्वोच्च अदालतमा रिट दर्ता गरेको बताए। उनको रिटमाथि मंगलबार सुनुवाइ तोकिएको छ।
निर्वाचन आचारसंहिताको पूर्णपाठ :