चुनावी आचारसंहिता: सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउन रोक, उम्मेदवारलाई गाडी र घोडा प्रयोगमा कडाइ
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७८ जारी गरेको छ।
बिहीबार राजपत्रमा प्रकाशित आचारसंहितामा आगामी निर्वाचनमा सामाजिक सञ्जाललाई समेत लक्षित गरेर विभिन्न व्यवस्था गरिएको छ। आचारसंहितामा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वैषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने उल्लेख छ।
त्यसै गरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा पेज र एकाउन्ट सञ्चालन गर्न नहुने व्यवस्था गरिएको छ। निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा अपमान गर्ने, होच्याउने, द्वैषपूर्ण भाषण (हेट स्पीच) जस्ता भ्रामक टीकाटिप्पणी गर्न पनि रोक लगाइएको छ।
आचारसंहिताले कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना र सामग्रीलाई निर्वाचनमा प्रभावित गर्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट गर्न नहुने व्यवस्था पनि गरेको छ।
त्यस्तै, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने सामग्रीलाई पनि रोक लगाइएको छ। उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने आचारसंहितामा भनिएको छ। सामाजिक सञ्जालभित्र आयोगले फेसबूकदेखि टिकटकसम्मलाई समावेश गरेको छ।
आचारसंहिताले नेपाल सरकार, प्रदेश सरकारका मन्त्री तथा स्थानीय तहका पदाधिकारीलाई चुनाव प्रसारमा खटिन रोक लगाएको छ। आचारसंहिताले स्थानीय तहका पदाधिकारी वा सार्वजनिक निकायमा भएका अधिकारीले निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु अगाडि नै पदबाट राजीनामा दिनुपर्ने व्यवस्था पनि गरेको छ।
आचारसंहिताले बजेटमा स्वीकृत बाहेकका नीति, घोषणा, कार्यक्रम अघि सार्न पनि रोक लगाएको छ। कुनै योजनाको शिलान्यास, उद्घाटन जस्ता कार्य गर्न पनि रोक लगाएको छ।
आचारसंहिताले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, गन्जी, टी-सर्ट, गम्छा, ज्याकेट, मास्क, लकेट आदि लगाउन नहुने पनि शर्त राखेको छ।
त्यसै गरी सार्वजनिक स्थलमा दलका झण्डा, निर्वाचन चिह्न आदि टाँस्न र राख्न पनि रोक लगाइएको छ।
निर्वाचन प्रचारका क्रममा गाडी र घोडाको प्रयोगमा पनि कडाइ गरिएको छ। सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सक्ने’ उल्लेख छ।