रणनीतिक विश्लेषणका प्राधिकारीको प्रस्थान
रणनीतिक दृष्टिकोणबाट विश्लेषण गर्ने क्षमताका राजनीतिशास्त्री ध्रुव कुमारको अवसानले राजनीति र सुरक्षा मामिलाको संयोजनसँगै प्राधिकार प्राप्त व्यक्तिको अभाव भएको छ।
२०४८ साल ताका म देशान्तर साप्ताहिकको सम्पादक थिएँ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चीन भ्रमणमा जाँदै हुनुहुन्थ्यो। भ्रमण टोलीमा पत्रकारका रूपमा म पनि थिएँ। एउटा पत्रकारले केही ल्याउन त चीनका बारेमा केही जानेर, बुझेरै जानुपर्थ्यो। तर, उतिवेला चीनबारे धेरै थाहा थिएन। इन्टरनेटको पहुँच नभएको त्यो वेला चीन सम्बन्धी सामग्री एकदमै थोरै उपलब्ध थिए। चीनबारे जान्ने मान्छे खोज्दै जाँदा धेरैले प्राध्यापक ध्रुव कुमारको नाम लिए।
त्यसै सिलसिलामा उहाँलाई पहिलो पटक चैत २०४८ मा भेटें। त्यो भेटमा चीनको विषयमा उहाँले मलाई धेरै जानकारी दिनुभयो। नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) लगायतले प्रकाशन गरेका मोनोग्राफ पढ्न सुझाउनुभयो। चीनको आन्तरिक विषयमा यति विस्तृतमा बताउनुभयो, मैले सबै कुरा बुझ्न पनि सकिनँ। चीनको विषयमा रुचिपूर्वक गहन अध्ययन गर्ने ध्रुव कुमार हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ। उहाँ चीनको रणनीतिक दृष्टिकोणबाट विश्लेषण गर्नुहुन्थ्यो। नेपालका रणनीतिक विश्लेषक भन्ने बित्तिकै मेरो दिमागमा आउने ध्रुव कुमार नै हो।
मिहिन रूपमा केलाएर, तुलना गरेर निचोड पस्किन सक्ने क्षमता उहाँमा थियो। उहाँको लेखाइ प्राज्ञिक तहको र सलल बग्ने भाषा हुन्थ्यो। जुन आधारमा टेकेर विश्लेषण गर्नुहुन्थ्यो, त्यो नै तथ्य हुन्थ्यो।
नेपालको राष्ट्रिय हित र सुरक्षा विषयका विश्लेषकको अवसानले राजनीति र सुरक्षा मामिलाको संयोजन सँगसँगै प्राधिकार प्राप्त व्यक्तिको अभाव भएको छ।
कुमार खड्गविक्रम शाह सिनासका निर्देशक थिए। त्यति वेला निकै राम्रो अनुसन्धान हुन्थ्यो। १९८६/८७ मा श्रीलंकामा तमिल विद्रोह दबाउन भनेर शान्ति सेनाको नाममा (इन्डियन पिस किपिङ फोर्स) भारतीय सेना प्रवेश गर्यो। आन्तरिक मामिलामा त्यसरी विदेशी सेना प्रवेश गर्दा नेपालमा ठूलो तहल्का मच्चियो। सिक्किम विलयपछि नेपाली मानसिकतामा आशङ्का र त्रास छँदै थियो। घरभित्र झगडा लगाइदिएर त्यही निहुँमा यहाँ पनि भारतीय सेना आउन सक्ने भयो। भारतले श्रीलंकामा सेना पठाएको विषयलाई नेपालीहरूले कसरी लिएका छन् भन्ने विषयमा सिनासले अनुसन्धान गरेको थियो। ध्रुव कुमारले सिनासमा रहेर गरेको कामको खूब प्रशंसा भएको थियो।
सन् १९९७ मा भारत र पाकिस्तानले परमाणु बम परीक्षण गरे। उनीहरूले परमाणु बम विस्फोट गराउँदा त्यसको विकिरणबाट नेपाल मुक्त हुन सक्दैनथ्यो। त्यसको नेपालमा के प्रभाव पर्ला, दक्षिणएशियाली देशमा के असर पर्ला भन्ने विषयमा ध्रुव कुमारसँगै अन्तर्वार्ता लिएँ। त्यसप्रति मैले अत्यन्त राम्रो प्रतिक्रिया पाएँ। किनभने, परमाणुको विषयमा ज्ञान राखेर नेपालको हितमा बोल्ने, सतर्क गराउन सक्ने र कुरो बुझाउन सक्ने व्यक्ति अरू थिएनन्। त्यो धेरैका लागि महत्त्वपूर्ण सामग्री भयो।
हिमाल खबरपत्रिका पाक्षिकको सम्पादक भएपछि सुरक्षा मामिलामा बुझ्न ध्रुव कुमारकहाँ जान्थें। उहाँलाई हिमालमा लेख्न आग्रह गरें। शुरूमा आनाकानी गर्नुभयो। नेपालीमा लेखेको छैन भन्नुभयो। ‘पुराना शिक्षा पढेकाहरूका लागि नेपाली भाषा पानीपँधेरो हो, लेख्न शुरू गर्नुस्’ भनें। उहाँले मेरो आग्रह मान्नुभयो। लेख्दै जानुभयो। यो विषयमा लेख लेख्नुहोस् भन्थें। उहाँ प्रमाण जुटाएर आधार प्रष्ट भएपछि मात्रै लेख्नुहुन्थ्यो। पछि उहाँले माओवादी विद्रोह सम्बन्धी लेखेको लेख हिमालमा आवरण कथा नै बन्यो।
दुई वर्षअघि शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्शको प्रकाशन शुरू गरेपछि ध्रुव कुमारलाई फेरि लेख्न भन्यौं। उहाँ अस्पताल भर्ना हुनुभन्दा पहिला पनि हामी उहाँसँग सम्पर्कमै थियौं। पछिल्लो समय जेबी पुन मगर र ध्रुव सिम्खडा मार्फत सम्पर्क भइरहेको थियो। कोभिड–१९ महामारीले गर्दा उहाँ सीमित व्यक्तिहरूसँग मात्रै भेटघाट गर्नुहुन्थ्यो। नीति–विमर्शको अङ्क पुर्याउन म आफैं गएको थिएँ।
नेपालले चीनको महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को 'एमओयू' मा सम्झौता गरेर बसेको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पारित भयो। त्यही पृष्ठभूमिमा चीनका विदेश मन्त्री नेपाल आउँदै छन्। चीनसँगको नेपालको सम्बन्ध के हो? चीन जोप्रति सशङ्कित छ, त्यो शक्ति त झन् झन् हाम्रो नजिक हुँदै गएको छ। नेपालले चीनको विश्वास त जित्नुपर्छ, त्यसो नगर्नुको परिणाम त युक्रेनको जस्तो हुन्छ। युक्रेन र रुसको युद्धको सन्दर्भमा नेपालको विदेश नीति के हुनुपर्छ र विदेश नीतिको आधार के हुनुपर्छ?
यी कुरा जनताले कसरी बुझ्ने भन्ने विषयमा ध्रुव कुमारलाई लेख्न भनौं, उहाँलाई बोल्न लगाऔं भनेर जेबी पुन र मेरो सल्लाह भयो। उहाँलाई इमेल लेख्यौं। तर, जवाफ आएन। त्यसपछि उहाँको घरमै गयौं। इमेलको जवाफ किन आएन भनेको त बिरामी हुनुभएको रहेछ।
ध्रुव कुमारको अनुपस्थितिमा उहाँले गर्न सक्ने काम अब कसले गर्छ त भन्ने प्रश्नको जवाफ आजको मितिमा मसँग छैन। भविष्यमा मान्छे निस्किएलान्। स्वनामधन्य विश्लेषकहरू नभएका होइनन्, तर उनीहरूले यो विषयमा कति न्याय गर्न सक्छन्, त्यो भन्न सक्दिनँ। भविष्यमा यो कुरा परीक्षण हुँदै पनि जाला। तर, ध्रुव कुमार यो विषयमा खरो उत्रिसक्नुभएको व्यक्ति हुनुहुन्थ्यो।
उहाँ भरपर्दो प्राधिकारी हुनुहुन्थ्यो। तत्कालका लागि त्यो ठाउँ रिक्त भएको छ। नेपालको राष्ट्रिय हित र सुरक्षा विषयका विश्लेषकको अवसानले राजनीति र सुरक्षा मामिलाको संयोजन सँगसँगै प्राधिकार प्राप्त व्यक्तिको अभाव भएको छ।
(दाहालसँगको कुराकानीमा आधारित)