कसरी सम्झिने प्राध्यापक ध्रुवकुमारलाई?
बुधबार निधन हुनु अघिसम्म पनि ७३ वर्षीय राजनीतिशास्त्रका प्राध्यापक ध्रुवकुमार निरन्तर बौद्धिक कर्ममा सक्रिय रहे।
नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास) बाट अवकाश प्राप्त उनी सुरक्षा मामिलामा सूक्ष्म विश्लेषण गरेर खरो विचार राख्न सक्ने राजनीतिशास्त्री थिए।
राजनीतिक विश्लेषक हरि शर्माका अनुसार, ध्रुवकुमार गहन अध्ययन गरेर स्पष्ट विचार राख्न सक्ने हक्की स्वभावका प्राध्यापक थिए। उनी व्यक्तिगत सम्बन्ध वा दलीय आबद्धता भन्दामाथि उठेर विश्लेषण गर्दथे।
“उहाँ स्पष्ट विचार राख्न सक्ने मिहिनेती अनुसन्धाता हुनुहुन्थ्यो,” शर्मा भन्छन्, “आफ्नो प्रचार नखोज्ने सरल व्यक्तित्व उहाँको अर्को विशेषता थियो।”
पाक्षिक हिमाल खबरपत्रिकाका तत्कालीन सम्पादक राजेन्द्र दाहाल ध्रुवकुमारलाई सुरक्षाको विषयमा तथ्यपरक कलम चलाउन सक्ने प्राध्यापकका रूपमा चिन्छन्। दाहाल सम्पादक भएका वेला ध्रुवकुमारको विशेष आलेख हिमालको आवरण लेख समेत बनेको थियो।
“ध्रुवकुमारले जुन आधारमा टेकेर विश्लेषण गर्नुहुन्थ्यो त्यो नै तथ्य हुन्थ्यो,” दाहाल भन्छन्, “मिहिन रूपमा केलाएर, तुलना गरेर निचोड पस्किन सक्ने क्षमता उहाँमा थियो।”
ध्रुवकुमार व्यावसायिक र व्यक्तिगत सम्बन्धलाई अलग राख्न सक्ने थोरै प्राज्ञमध्ये पर्दथे। राजनीतिक विश्लेषक इन्द्र अधिकारी भन्छिन्, “व्यक्तिगत सम्बन्धभन्दा टाढा बसेर आफ्नै विषयमा समेत निर्मम समीक्षा गर्न सक्ने अद्भुत क्षमता ध्रुव सरमा थियो।”
विश्लेषक अधिकारी पूर्व प्रधानमन्त्री र प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेताहरूको दबाबलाई समेत बेवास्ता गर्न सक्ने क्षमता ध्रुवकुमारमा रहेको बताउँछिन्। “उहाँ इमानदारीपूर्वक पूर्वाग्रहरहित ढङ्गले वस्तुगत विश्लेषण गर्ने हिम्मत राख्नुहुन्थ्यो,” उनी भन्छिन्।
अनुसन्धाता प्रत्यूष वन्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको पञ्चायतकालमा ध्रुवकुमारले आफूलाई चीन अध्ययनमा केन्द्रित गरेको स्मरण गर्छन्। २०४६ सालको परिवर्तनपछि भने मुलुकको राजनीतिक विषयमा पनि उनले निरन्तर कलम चलाउँदै आएका थिए।
वन्त ध्रुवकुमारको योगदानलाई व्यक्तिगत र व्यावसायिक रूपमा बुझ्नुपर्ने बताउँछन्। “व्यक्तिगत रूपमा उहाँले म र मेरो टीमलाई सधैं प्रोत्साहित गर्नुभयो,” उनी भन्छन्, “उहाँको निधन प्राज्ञिक समुदाय र मुलुककै लागि ठूलो क्षति हो।”