इतिहास शिरोमणिले झेलेको त्यो आर्थिक सङ्कट
बाल्यकालदेखि नै पारिवारिक र आर्थिक सङ्कट झेल्दै आएका इतिहास शिरोमणि बाबुराम आचार्यले जीवनको उत्तरार्द्धमा आँखाको ज्योति गुमाउँदा पनि इतिहासको अन्वेषण गरी ज्ञानको ज्योति फिंजाउन छोडेनन्।
नेपाली इतिहास सम्बन्धी ज्ञानका लागि इतिहास शिरोमणि बाबुराम आचार्यका पुस्तक पढेपछि तृप्ति मिल्छ। उनको तथ्यपूर्ण अनि सरल र सरस प्रस्तुतिले आनन्द दिन्छ। राणाहरूको अह्रन-खटनमा चलिरहेको त्यो समयमा विद्याको काम गर्नु अपराध जस्तै मानिन्थ्यो। आचार्य भने सधैं त्यस्तै काम गरिरहे।
त्रिचन्द्र क्याम्पसको उद्घाटन समारोहमा ‘आज मेरो खुट्टामा आफैंले बञ्चरो हानिरहेको छु’ भनी भाषण गर्ने चन्द्रशमशेरले जागीरमा नियुक्त गरेका खरिदार थिए, आचार्य। त्यो जहानियाँ शासनको अन्धकार युगमा अनेक जुक्ति र बुद्धिले नेपालका शिलालेख तथा अभिलेख पढेर नेपाली इतिहासको उज्यालो बाँड्न सफल भएका थिए, उनी।
उनै आचार्यको जीवनवृत्त भने सहज र सरल थिएन। उनको घरायसी परिस्थिति आर्थिक प्रतिकूलताले नराम्रोसँग गाँजिएको थियो। आँखाको कमजोरीका कारण जागीरबाट अवकाश पाउनु, वेलैमा उपचार हुन नसक्दा आँखाको ज्योति ठप्प हुनु, त्यसै वेला जेठा छोरा गोपाल क्षयरोगग्रस्त हुनु उनका लागि थप कठिन समय थियो। जसले उनको आर्थिक अवस्था अत्यन्तै जर्जर हुन पुगेको थियो। इतिहास अन्वेषणलाई नै साधना बनाउने उनको मनोविज्ञान आर्थिक सङ्कटले नराम्ररी खलबलिएको थियो।
आचार्यका बुबा धर्मदत्त संस्कृत विद्यालयका शिक्षक थिए। उनका हजुरबुबा त्यति वेलाका नामी पण्डित थिए। बुबा धर्मदत्तको देहावसानपछि घरको सम्पूर्ण भार उनकै थाप्लोमा आइपुगेको थियो। भाइबहिनी दामोदर, यदुनाथ र यक्षसँगै मध्यम वर्गीय संयुक्त परिवारको अभिभावकीय उत्तदायित्व उनकै काँधमा थियो। (डा. राजेश गौतम, इतिहास लेखनको इतिहास, २०५१ः३८३)
उनले १९६७ सालमा काठ गोदाम विभागमा खरीदार पदबाट सरकारी जागीरको शुरूआत गरेका थिए। त्यस वेला उनको मासिक तलब ६३ रुपैयाँ थियो। त्यसमा आधा नगद र आधा खान्की दिइन्थ्यो। खान्कीका रूपमा वार्षिक १२५ मुरी अन्न आउने गरेको उनका कान्छा छोरा श्रीकृष्ण आचार्य बताउँछन्।
चिकित्सकले दुवै आँखा काम नलाग्ने भनी सिफारिश गरिदिएपछि उनी जागीर खान अयोग्य भए। सिङ्गो संयुक्त परिवारको जीविकाको एउटै आधार समाप्त भएपछि आचार्य परिवारमा कठिनतम दिन शुरू भए।
आँखाको उपचार गर्न पाँच सय बोकेर कलकत्ता
विसं १९९८ को पजनीपछि आचार्यले भोगेको आर्थिक सङ्कटका घटनाहरूको मार्मिक फेहरिस्त उनका कान्छा छोरा श्रीकृष्णले पस्केका छन्। विसं १९९१-९२ देखि नै आचार्यको कमजोर हुन थालेका थिए। चिकित्सकले दुवै आँखा काम नलाग्ने भनी सिफारिश गरिदिएपछि उनी जागीर खान अयोग्य भए। सिङ्गो संयुक्त परिवारको जीविकाको एउटै आधार समाप्त भएपछि आचार्य परिवारमा कठिनतम दिन शुरू भए।
स्वदेशमा आँखाको उपचार हुन सक्ने सम्भावना थिएन। विदेश गएर उपचार गर्न पनि पाँच-सात सय रुपैयाँ जम्मा गर्नुपर्ने थियो। ऋण काढ्ने ठाउँ थिएन। आम्दानीका सबै स्रोतहरू सुकिसकेका थिए। परिवारका सबै सदस्य उनीमाथि नै आश्रित थिए। (श्रीकृष्ण आचार्य, बाबुराम आचार्य स्मृति ग्रन्थ, २०४६ः४३)।
उनले तुरुन्तै आँखाको उपचार गर्नैपर्ने थियो। एक जना शुभेच्छुकले अढाई-तीन सय रुपैयाँ सहयोग गरेकाले केही उत्साह जाग्यो। त्यसपछि आङमा एक सरो लुगा र एउटा लोहोटा लिएर आँखाको ज्योति ठप्प हुनै लाग्दा उनी एक्लै उपचारका लागि भारततिर लागे। बाहिरै कमाउने र कमाएको पैसाबाटै दैनिक गुजारा गरी एक-दुई सय बचाएर सम्भव भएसम्म आँखाको उपचार गराउने उनको उद्देश्य थियो। त्यसैले पर्सादेखि मोरङसम्म सम्भव भएसम्मका सबै कामहरू गरे।
मुद्दामामिलामा वादी प्रतिवादी लेख्नेदेखि अध्यापन र पुरेत्याइँको पनि काम गरे। दुई-चार महीनाको दौडधुपपछि उनी पाँच-सात सय रुपैयाँ जम्मा गर्न सफल भए। त्यही पैसा बोकेर उनी पहिले पटना, त्यसपछि बनारस अनि कलकत्ता पुगे।
कलकत्ता पुगेपछि मात्र थाहा भयो, उनको आँखामा ग्लुकोमा भएको रहेछ। तर, उपचारका लागि ढिलो भइसकेको थियो। त्यसपछि दुई महीना जति उनी विरक्तिएर तराईका धार्मिक तथा ऐतिहासिक महत्त्वका क्षेत्रहरूमा घुम्दै हिंडे। केही समयपछि घरका बालबच्चा सम्झेर डेढ सय रुपैयाँ जतिको औषधि र २० रुपैयाँको चस्मा लिएर फर्के। (आचार्य, उहीः४४)
आँखाको उपचारका लागि ढिलो भइसकेको थियो। त्यसपछि दुई महीना जति उनी विरक्तिएर तराईका धार्मिक तथा ऐतिहासिक महत्त्वका क्षेत्रहरूमा घुम्दै हिंडे।
टोपी पठाएर जीवित भएको खबर
आचार्यका जेठा छोरा गोपाल वयस्क भइसकेका थिए। उनलाई जागीरमा हालेर घरको आर्थिक बोझ कम गर्न चाहन्थे आचार्य। तर, आँखाको उपचार गर्न हिंडेका उनी घर फर्कंदा जेठा छोरा क्षयरोगले गम्भीर रूपमा थलिइसकेका थिए। त्यस वेला असाध्य रोग मानिने क्षयरोगको टोखामा उपचार गरिन्थ्यो। आवेदन दिए पनि पालो पर्खनुपर्ने अवस्था थियो। साथमा दुई पैसा थिएन।
अर्कातिर क्षयरोगको उपचारका लागि योग्य चिकित्सकको अभाव थियो। छोराको उपचारका लागि छोरी-बुहारीका नाक-कानका गहना फुकालिए। त्यसले पनि नपुगेर आधाभन्दा बढी जग्गा भोगबन्धकीमा दिए। टोखा स्वास्थ्य निवासभन्दा आधा कोश टाढा एक तामाङको घरमा डेरा खोजे। मासिक १५० रुपैयाँ चर्को शुल्क कबोलेर व्यक्तिगत रूपमा साताको एक दिन हेरिदिने गरी आचार्यले एक विदेशी विशेषज्ञ डा. कब्रानाबाट क्षयरोगी छोराको उपचार शुरू गराए। (आचार्य, उहीः४५)।
विसं १९९९ को अन्त्यतिरको एक कारुणिक घटना। आचार्य आफ्नो घर (पुरानो गौचरण) बाट बिरामी छोराका लागि आवश्यक औषधि र खर्च पुर्याउन टोखा गएका थिए। त्यस वेला काठमाडौंमा सवारी साधन त के बाटोघाटो पनि राम्रो थिएन। त्यसमाथि आँखाको ज्योति ठप्प भएको व्यक्ति। लौराले छामछुमका भरमा गोरेटो बाटो, उकाली ओह्राली गर्दै अढाई कोश टाढाको बिरामी छोरा बसेको डेरामा पुगे। त्यहाँ पुग्दा साँझ पर्न लागेको थियो।
केही क्षण छोराको कुरुवा बसेकी श्रीमतीसँग दुःखसुखको कुरा गर्दागर्दै घाम डुब्न लाग्यो। आफू नफर्के उता घरमा चिन्ता हुने भएकाले उनी घर फर्कन बाध्य थिए। उनी टोखाबाट ओह्रालो मात्र के लागेका थिए, त्यति वेलै आँधीबेहरी र असिना पानीका साथ ठूलो वर्षा भयो। टोखातिरै फर्कौं आधा कोश ओह्रालो झरिसकियो, नफर्कौं जङ्गलका रूख ढलेर किच्ला भन्ने अर्को डर। ओत लाग्ने कतै ठाउँ छैन।
लौराकै सहारामा उनी झरीमा रुझ्दै अगाडि बढे। बूढानीलकण्ठ आइपुगेपछि बल्ल पानी रोकियो। त्यति खेरसम्म अन्धकार भइसकेको थियो। बल्ल त्यहाँ आगो बलेको भेट्टाए। केही बेर तापेर पुनः अगाडि बढे। छामछुम गर्दै मध्यरातमा घर आइपुगे। घरमा आइपुग्दा लालाबाला सुतिसकेका थिए।
सबेरै उठेर एक परिचित मानिसलाई बोलाई एक दिनको ज्याला कबोलेर चिनोको रूपमा अघिल्लो दिन आफूले लगाएको टोपी फुकाली दिएर सकुशल घरमा आइपुगेको सन्देश श्रीमतीलाई पठाए।
फेरि उनलाई अर्को चिन्ताले सतायो। बिरामी छोरा स्याहार गरेर बसेकी श्रीमती आफूलाई पो खोज्दै आइन् कि! जङ्गलमा अलपत्र परिन् कि! यस्तै चिन्ता गरेर ओछ्यानमा पल्टिए।
अर्को बिहान सबेरै उठेर एक परिचित मानिसलाई बोलाई एक दिनको ज्याला कबोलेर चिनोको रूपमा अघिल्लो दिन आफूले लगाएको टोपी फुकाली दिएर सकुशल घरमा आइपुगेको सन्देश श्रीमतीलाई पठाए। श्रीमान्को टोपी देखेर श्रीमती एकातिर विश्वस्त भइन् भने श्रीमतीको क्षेमकुशल थाहा पाएर आचार्यले पनि सन्तुष्टिको सास फेरे। (आचार्य, उहीः४६)
दयनीय आर्थिक अवस्था
आचार्यका सन्दर्भमा माथि उल्लेख भएका घटनाहरू उनको दयनीय आर्थिक अवस्थाबारे पर्याप्त छन्। त्यस्तै, अर्को तथ्य हो, उनले जुन व्यक्तिबाट सापटी लिएका थिए, त्यस बापत उनका सन्तानलाई पढाउनु। तत्कालीन बडागुरुज्यू कुलराज पाण्डेबाट सापटी लिए बापत उनका दुई छोरीलाई पढाउनुपर्ने दायित्व प्राप्त गरेका थिए।
यस्तै जेठा छोरा क्षयरोगले पीडित भएको वेला उनको उपचारका लागि जग्गा बन्धक राखी दुई हजार ऋण लिनुपरेको थियो। लामो समयपछि २०२२ सालमा बन्धकबाट जग्गा मुक्त गर्न सकेका थिए। राजदरबारबाट प्राप्त अवसर अनुसार इतिहास लेखन कार्यमा खटिएपछि मात्र उनको घरको आर्थिक अवस्थामा केही सुधार आएको थियो (गौतम, उहीः३८३)।
पछिसम्म पनि आचार्यको आर्थिक अवस्था कमजोर थियो। उनी घरमा लथालिङ्ग अवस्थामा बसिरहेका देखिन्थे।
२०२० सालमा प्रकाशित एक लेखको अनुच्छेदबाट इतिहास शिरोमणिको पारिवारिक र आर्थिक अवस्था के कस्तो थियो भन्नेबारे उनको कोठाको दृश्यले झल्को दिन्छः
लथालिङ्ग लम्पटहरू, धुस्रे फुस्रो लुगाहरू, नमिलाइएका कितावहरू, घ्वाँके भोटे ताल्चा लगाइएका ठूला ठूला दुई वटा काठका बाकस, थोत्रा लगाउने लुगाहरू यताउता झुण्डिएका, पुराना समाचारपत्रहरू छरपस्ट भएर वा झ्यालैनेर झण्डाझैं फरफराइरहेको देख्दा यसलाई नेपाल राष्ट्रका गौरव इतिहास शिरोमणि बाबुराम आचार्यको कोठा भन्न अप्ठ्यारो पर्थ्यो। आचार्यज्यू असाध्यै विजोकिलो अवस्थामा पुग्नुभएको छर्लङ्ग हुन्थ्यो। त्यो कोठा कुनै साहुले हाडमासु र रगत चुसिरहेको दरिद्र किसानको कोठा झैं लाग्थ्यो।
(डा. भवेश्वर पंगेनी, इतिहास शिरोमणि बाबुराम आचार्य, २०७३ः७७)।
पछि तत्कालीन युवराज वीरेन्द्रबाट उनले एक परियोजनाका रूपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी लेख्ने अवसर पाए। चार भागमा लेखिएको यो ग्रन्थ विसं २०२४ देखि २०२६ सालसम्म राजदरबारले प्रकाशनमा ल्याएको थियो। यसको दोस्रो संस्करण साझा प्रकाशनले विसं २०६१ मा प्रकाशन गरेको थियो।
राणाकालमा सम्पति जोड्नेभन्दा पनि उनले विद्याकै काममा विशेष जोडबलले आफूलाई समर्पित गराए। यदि राणाहरूको चाकरी गरेका भए उनले धेरै घरखेत र सम्पति जोड्ने थिए, तर त्यसो गरेनन्।
यस पुस्तकमा तत्कालीन युवराज वीरेन्द्रबाट दिइएको सन्देशमा भनिएको छ, ‘सम्पूर्ण नेपाली इतिहास वास्तविक र वैज्ञानिक तथ्यहरूमा लेखिनु आवश्यक छ। यही आवश्यकतालाई पूर्ति गर्न वयोवृद्ध इतिहास शिरोमणि बाबुराम आचार्यले यस पुस्तकद्वारा प्रस्तुत प्रयास बहुतै सराहनीय छ। यस पुस्तकले इतिहासप्रेमी सबैलाई प्रेरणा र लाभ प्रदान गर्नेछ भन्ने आशा गर्छू।’
स्वाभिमानी इतिहासकार
आचार्य एक स्वाभिमानी इतिहासकार थिए। राणाकालमा सम्पति जोड्नेभन्दा पनि उनले विद्याकै काममा विशेष जोडबलले आफूलाई समर्पित गराए। यदि राणाहरूको चाकरी गरेका भए उनले धेरै घरखेत र सम्पति जोड्ने थिए, तर त्यसो गरेनन्।
विसं २००२/३ तिर बालकृष्ण शम्शेर (बालकृष्ण सम) नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष थिए। समले ‘सरस्वती पूजा’ संस्था पनि खोलेका थिए। उनी कार्यालयको नियम अनुसार, त्यहीं बसेर लेख्ने गर्थे। त्यस वेला एक दिन प्रसङ्गवश नयराज पन्त बालकृष्ण समको कार्यकक्षमा पुगेका थिए। त्यहाँ उनीहरूबीच खरिदार बाजे (बाबुराम आचार्य) को विषयमा कुरा भयो। त्यस वेला नयराजले बाबुरामसँग धेरै विद्या भएर पनि उनको घरमा दुःख भइरहेको कुरा सुनाए। त्यस वेला बालकृष्ण समले ‘खरिदार बाजे चाकडी गर्दैनन्, मुखमा जे आयो प्वाक्क बोलिदिन्छन्। त्यस्तो गरेर विद्याले मात्र के चल्छ? के गर्नु?’ भनेका थिए। (नयराज पन्त, पूर्णिमा, पूर्णाङ्क २७-असोज २०२९ः१४३)
आचार्यका विषयमा नयराजले अर्को घटना पनि उल्लेख गरेका छन्। यो २००५ सालतिरको हो। नायब बडागुरुज्यू हेमराज पाण्डेको कोठामा थिए, नयराज पन्त। उनीहरू दुईबीच नेपाली इतिहासको कुरा चलिरहेको थियो। त्यस वेला नयराजले नेपाली इतिहासका विशेषज्ञ बाबुराम आचार्य हुन् भन्ने कुरा हेमराज समक्ष राखे। त्यतिखेर हेमराजले ‘हो, उनी जान्दछन्, तर भनेको मान्दैनन्। उनको बुद्धि त्यस्तै छ। उनको आँखा पनि गयो, हामीले के गर्ने?’ भन्दै आफ्नो हात निधारतिर लगेका थिए। (पन्त, उहीः१४४)
आचार्यको स्वाभिमानबारे नयराजले लेखेका छन्, ‘राणाकालका शासकहरूलाई खरिदार बाजेको योग्यताबारे राम्रो परिचय थियो। उनीहरूसङ्ग उनको राम्रो सम्बन्ध पनि थियो। तर, उनमा चाटुकारिता नभएकाले उनको योगदानको कदर हुन सकेन। जसको सीता उसको गीता भन्ने सिद्धान्तलाई हाम्रो देशका बुज्रुकहरूले प्रतिपालना गरेका छन्। यस्तो काम गरी उनीहरूले घर खेत पनि जोडेका छन्। यस्तो काम खरिदार बाजेले कहिल्यै गर्नुभएन।’ (पन्त, उही)।
हजुरिया जनरल एकराज शम्शेरका छोरा सुवर्ण शम्शेर (कांग्रेस नेता होइनन्) लाई नेपालको इतिहास पढाउँदा बग्गीको सवारी सुविधा सहित मासिक ४० रुपैयाँको अर्को रोजगारी पाए। यसले पुराना ऋण फर्स्याउन निकै ठूलो सहयोग गर्यो।
बुढेशकालमा जागीर
आचार्यले बुढेशकालमा भने ग्रन्थकारको रूपमा नेपाली भाषा प्रकाशिनी समितिमा जागीर पाए। मासिक ५० रुपैयाँ पाउने गरेपछि घरको आर्थिक अवस्थामा सुधार आउन थाल्यो। उनी आफू आँखा नदेख्ने हुँदा सहायकलाई मासिक २० रुपैयाँ दिनुपर्थ्यो। उनको दैनिक तलब एक रुपैयाँ हुन्थ्यो। यसले आचार्य परिवारमा साँझबिहानको हातमुख जोर्न ठूलो सहयोग गर्यो। यसबाट प्रति दिन भातका रूपमा मकैको चामल पाक्ने भान्सामा आधा मकै र आधा धानको चामल मिसाएर भात खान सम्भव भयो।
पछि, उनले तत्कालीन हजुरिया जनरल एकराज शम्शेरका छोरा सुवर्ण शम्शेर (कांग्रेस नेता होइनन्) लाई नेपालको इतिहास पढाउँदा बग्गीको सवारी सुविधा सहित मासिक ४० रुपैयाँको अर्को रोजगारी पाए। यसले पुराना ऋण फर्स्याउन निकै ठूलो सहयोग गर्यो। २००८ सालमा राजा त्रिभुवनबाट ‘इतिहास शिरोमणि’ घोषित भएपछि जीवनवृत्तिका लागि उनले मासिक १५० रुपैयाँ पाउन थाले। (आचार्य, उहीः४७)
आँखा नदेख्ने अवस्थामा २० भदौ २००६ सालदेखि नेपाली भाषा प्रकाशिनी समितिमा ग्रन्थकारको जागीर पाउँदा उनले सहायकका रूपमा नयराज पन्तका विद्यार्थी देवीप्रसाद भण्डारीलाई पाएका थिए। आचार्यका दुवै आँखा बन्द भइसकेका कारण इतिहासमा प्रयोग हुने सामग्रीहरू पढेर देवीप्रसादले सुनाउँथे भने आचार्य चाहिं विचार गरेर बोल्थे। लेखेको फेरि वाच्न लगाउँथे र यहीं नियमले लेख्दै लगियो। लेखेको सक्कल प्रति समितिमा बुझाउने गरिन्थ्यो।
२००८ सालमा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु भएकोसम्म लेखिसक्दा ६० वर्ष उमेर हदका कारण पजनी हुँदा आचार्य जागीरदारको खारेजीमा परे। त्यसपछि उनी घरैमा बस्न थाले। (देवीप्रसाद भण्डारी, पूर्णिमा, पूर्णाङ्क ३१-मंसीर २०३१ः१५१-१५२)। उनले अवकाश पाएपछि प्रकाशिनी समितिको काम अधुरो रहृयो, त्यसपछि त्यहाँबाट ग्रन्थ छापिएन।
भण्डारीले आचार्यको सहायकका रूपमा काम गर्दा आफूसँग सुरक्षित खेस्राहरूबाट ‘ऐ.शि. बाबुराम आचार्यले रचना गरेको नेपालको संक्षिप्त इतिहास’ शीर्षकमा ‘पूर्णिमा’को विभिन्न १४ अङ्कमा ती सामग्रीहरू प्रकाशित गरेका छन्।
यसरी नेपाली भाषा प्रकाशिनी समितिको ग्रन्थकारका रूपमा जागीर खाँदा तयार पारिएको ग्रन्थमा आचार्यले अहिराम कुँवरका सबै सन्तानको नाम उल्लेख गर्दा उनीहरूको थरमा राणा प्रयोग गरेका छन्। जस्तै, रामकृष्ण राणा, रणजित राणा, बालनरसिंह राणा, रेवन्त राणा, चन्द्रवीर राणा, बलभद्र राणा आदि।
आँखा नदेख्ने अवस्थामा २० भदौ २००६ सालदेखि नेपाली भाषा प्रकाशिनी समितिमा ग्रन्थकारको जागीर पाउँदा उनले सहायकका रूपमा नयराज पन्तका विद्यार्थी देवीप्रसाद भण्डारीलाई पाएका थिए।
राणाकालमा पुस्तक प्रकाशन गर्ने तथा पुस्तक प्रकाशनका लागि सेन्सर बोर्डको काम गर्ने नेपाली भाषा प्रकाशिनी समितिमा जागीर खाँदा कुन कारणले हो, जंगबहादुरअघिका बाबुबाजेको थर पनि उनले कुँवरको सट्टा राणा लेखे, त्यो थाहा हुन सकेन।
वास्तवमा जंगबहादुरले तत्कालीन राजा सुरेन्द्रविक्रम शाहको समयमा लालमोहर गराई आफूहरूको थर ‘राणा’ भनी लेख्ने अधिकार प्राप्त गरेका थिए। त्यसपछि बालनरसिंह कुँवरका सन्तानले मात्र आफ्नो थरमा ‘कुँवर राणाजी’ लेख्न थालेका हुन्।
आफ्नो समयमा राजनीतिक रूपमा शक्तिशाली भए पनि जंगबहादुर तीन डोरे खस क्षेत्री भएको हुनाले सांस्कृतिक रूपमा उनको तह सानो थियो। त्यसैले ६ डोरे चौतरिया तथा झर्रा क्षेत्रीहरूसँग उनको वैवाहिक सम्बन्ध तथा भातभान्सा चल्दैनथ्यो। जंगबहादुरलाई जातीय हेयबाट मुक्त गराउन तत्कालीन पण्डित विजयराज पाण्डे लगायत राजगुरूहरूले वंशावली तयार गर्ने प्रस्ताव राखे। जंगबहादुर पनि वंशावली लेखाउँदा आफ्ना कुलगोत्रमा पूर्ववर्ती नाम चलेका प्रख्यात पुरुषसँग आफ्नो वंश जोड्न चाहन्थे।
पुराना कागजपत्रमा उनका पुर्खाको नामपछाडि थरमा ‘कुँवर’ तथा कतै ‘कँवर’ लेखेको पाइन्छ। गोरखा तथा लमजुङ क्षेत्रतिरका गोरक्षपन्थी फेरिवाल जोगीहरूले पनि आफ्नो थर ‘कँवर’ लेख्थे। नेपालमै उपलब्ध ‘कुँवर’ वा ‘कँवर’ वंश खोतलेर आफूले चाहे जस्तो कुलीन घरानियाँ वंशावली लेखिन सक्ने सम्भावना नदेखिएपछि जंगबहादुरले भारतीय उच्च घरानाका रजपुत क्षेत्री राजा रजौटाको वंशावली खोतलेर त्यसलाई हेरी आफ्नो वंशवृक्ष त्यसै वंशावलीमा जोड्न सक्ने, जान्ने बुझ्नेहरूलाई खटाए।
भारतीय वंशावली तथा इतिहासमा मुगलहरूसँग लड्ने भिड्नेहरूमा चितौडगढका हिन्दूशासक महाराणा प्रतापको नामसुवास भारतभरि फैलिएको थाहा पाएपछि जंगबहादुरका सल्लाहकारहरूले कुँवर वंशलाई भारतको राणावंशमा जोड्ने सल्लाह दिए। कुँवरको व्युत्पति ‘कुमार’ हुने हुँदा ‘श्रीमद्राजकुमारकुमारात्मज’ अर्थात् राजाको छोराको पनि छोरा भन्ने उपपत्ति दिएर भारतका उच्च राजघरानाको वंशवृक्षसँग कुँवरहरू जोडिए। (ज्ञानमणि नेपाल, नेपाल निरूपण, २०५५ः१२१-१२५)
यस्तो तारतम्य मिलाएर विसं १९०५ वैशाख सुदी १३ मा तत्कालीन राजा सुरेन्द्रविक्रमबाट लालमोहर गराई जंगबहादुर तथा उनका भाइहरूले राणा थर लगाउन थाले। लालमोहरमा ‘तिम्रा पूर्वजहरूमा एक भाइ चितौडगढ भारतमा शासन गरिरहेका थिए। अरू तीन भाइहरू त्यहाँ आफ्नू उन्नति पर्याप्त सम्भावना नदेखी पहाडतर्फ लागे। एक जना कत्लाखर पश्चिम नेपाल हाल तिब्बत चीनको राजा भए।
अर्का जुम्लामा बसोबास गरे। बाँकी तेस्रो यहाँ आएर कास्कीमा बसोबास गरे। तिम्रा बराजु अहिराम कुँवर हाम्रा पूर्वज नरभूपाल शाहको समयमा गोरखा आई बसे। तिम्रा पूर्वजहरू राजपूत राजपरिवार भएकाले आजसम्म कुँवर कहलिएका छन्। अबदेखिन् यो आयो कि तिम्रा पूर्वजहरू कुँवर राणाजी हुन्। हामीहरूको अतिरिक्त हाम्रो गाथ-गादी र मूलुकको हित बाहेक अर्काको ज्यान लिने मान्छे मृत्युदण्डको भागी हुन्छ, तर तिमीहरू ‘कुँवर राणाजी’ ले त्यस्तो कार्य गरेमा पनि मृत्युदण्डबाट वञ्चित हुनेछन्। त्यस्तै तिमीहरूलाई देश निकाला र सम्पत्ति अपहरण गरिने छैन। राजपूत परिवारसँग आफूखुशी वैवाहिक सम्बन्ध कायम गर्न सक्दछौ’ भन्ने उल्लेख छ। (पुरुषोत्तमशम्शेर जबरा, श्री ३ हरूको तथ्यवृत्तान्त, २०६५ः५२-५३)।
२९ फागुन १९४४ जन्मेका आचार्यले २२ भदौ २०२९ मा भौतिक देह त्याग गरे। ८५ वर्ष बाँचेका उनले आफ्नो घरको प्रतिकूल आर्थिक अवस्था र आँखाको ज्योति ठप्प भएको अवस्थामा पनि नेपाली इतिहासको अन्वेषण गरी नेपालको आँखामा ज्ञानको ज्योति फिंजाए।