इतिहास शिरोमणिलाई शासकको खप्की
इतिहासको खोजी गर्दा राणाशासकबाट सधैं खप्की पाएका बाबुराम आचार्यले जीवनको अन्तिम समयमा प्रज्ञा प्रतिष्ठानको मानार्थ सदस्य बनाइँदा पनि भनिरहे– ‘मलाई शुभकामना होइन, काम चाहियो।’
इतिहासको गहिरो अध्ययन र विश्लेषण गर्ने हुटहुटी बाबुराम आचार्यमा जाग्दै गर्दा नेपाल राणाहरूको एकतन्त्रीय हुकुमी शासनको अन्धकारमा गुज्रिरहेको थियो। ज्ञानको उज्यालोको कुरा मात्रै गर्नु पनि जोखिमपूर्ण रहेको त्यो समयमा इतिहासकारका रूपमा उदाउँदा बाबुरामले कति हन्डर बेहोर्नुपर्यो होला?
बनारसबाट मध्यमासम्मको शिक्षा ग्रहण गरी काठमाडौं फर्केका बाबुरामका लागि घरको आर्थिक अवस्थाका कारण जागीर खानुपर्ने बाध्यता थियो। त्यसैले उनी बझाङी राजा जयपृथ्वीबहादुर सिंहले खोलेको पाठशालामा मासिक १५ रुपैयाँ पाउने गरी गणित शिक्षक बने। उनैको सत्सङ्गले विसं १९६७ मा खरिदार पदमा सरकारी सेवामा नियुक्ति पाए। बाबुराम १९६३ सालतिरै सिंहका निजी सहायक पनि भइसकेका थिए।
सुधारवादी चिन्तक सिंह तत्कालीन शासक चन्द्रशमशेरका ज्वाइँ मात्र होइन, जङ्गबहादुर राणाका भान्जा समेत थिए। निरङ्कुश शासक वर्गका नातेदार भएर पनि विद्याका पुजारी थिए, यी बझाङी राजा।
१९७६ सालमा बाबुरामको खरिदारी जागीर गुम्यो। ज्वरोबाट पीडित उनलाई क्षयरोग भएको आशङ्कामा चन्द्रशमशेरले अवकाश दिए। त्यही साल उनका बुबा धर्मदत्तको देहान्त भयो। धार्मिक परम्परा अनुसार गङ्गामा अस्तु विसर्जन गर्न जाँदा उनले त्यहाँबाट नेपाल सम्बन्धी ज्ञानको महत्त्वपूर्ण पाटो बोकेर फर्कने अवसर पाए।
यी ज्ञानका तिर्खालु त्यस क्रममा विहारको आरास्थित एक पुस्तकालय पुगेछन्। त्यहाँ उनले भारतीय विद्वान् भगवानलाल इन्द्राजीले सङ्कलन गरेको नेपालका प्राचीन अभिलेखहरूको सङ्ग्रह फेला पारे। उनलाई लाग्यो– नेपाल सम्बन्धी यति महत्त्वपूर्ण सामग्री अध्ययन गर्न भारतबाट त आउँदा रहेछन् भने नेपाली आफैंले चाहिं किन नगर्ने? जागीर गुमेपछिको एक वर्ष उनले काठमाडौंका पुराना अभिलेख पढ्नमा खर्चिए।
१९७७ सालको पजनीमा उनको जागीर फेरि थमौती भयो। त्यसपछि १९८० सालमा पाठशाला बन्दोबस्त अड्डामा राजगुरु हेमराज पाण्डेको सहायक भई काम गर्ने अवसर पाए। १८ वर्ष जति यस फाँटमा रहँदा उनले ताम्रपत्र, शिलापत्रको गहिरो अध्ययन गर्न पाए। यही अध्ययनले इतिहासबारेको उनको ज्ञान अझ फराकिलो बनाइदियो। यसै कारण राजा त्रिभुवनले २००८ सालमा बाबुरामलाई ‘इतिहास शिरोमणि’ घोषणा गरे।
इतिहासको खोजी र ज्ञान बाँड्ने कुरा राणाशासकका निमित्त पटक्कै प्रियकर थिएन। त्यसैले उनले राणाहरूबाट अनेकौं खप्की पाए। त्यसमाथि १९९८ सालदेखि आँखा कमजोर भई क्रमशः दृष्टि ठप्पै हुन पुग्यो। तापनि उनले इतिहासको खोजी गर्न छाडेनन्।
मकैको खेती काण्डमा
चन्द्रशमशेरको कठोर शासन चलिरहँदा मकैको खेती काण्ड मच्चियो। यो पुस्तक लेखे बापत सजाय पाएका सुब्बा कृष्णलाल अधिकारीको कारावासमै प्राणपखेरु उड्यो, क्षयरोगका कारण।
पुस्तकको लेखन तथा प्रकाशनमा आशुकवि शम्भुप्रसाद ढुङ्गेलको पनि हात थियो। यो पुस्तक तत्कालीन शासन व्यवस्था विरुद्ध लेखिएको थिएन, तर यसमा प्रयुक्त केही शब्दावलीले राणाहरू विरुद्ध घृणा फैलाउने प्रयास गरेको आरोप कृष्णलालमाथि लगाइयो। त्यति वेला बाबुराम काठमाडौं, महाबौद्धमा डेरा गरी बस्थे जहाँ कृष्णलाल र शम्भुप्रसादको नियमित जस्तै आउजाउ हुन्थ्यो। यही सम्पर्कका कारण मकैको खेतीको केही सम्पादन बाबुरामले पनि गरिदिएका थिए। त्यसैले अधिकारीलाई जघन्य आरोप लाग्दा डरले उनको पनि नाकमुख सुकेको थियो। तर अधिकारीले सम्पूर्ण भेद नखोलिदिएकाले उनी मुश्किलले जोगिए (श्रीकृष्ण आचार्य, बाबुराम आचार्य स्मृतिग्रन्थ-२०४६:३९)।
चन्द्रशमशेरको चेतावनी
बाबुरामका बुबा धर्मदत्तले दरबारभित्र शिक्षकका रूपमा प्रवेश पाएका थिए। काठमाडौंस्थित बेलायती दूतावासका कर्मचारीहरू हिउँद याममा बाबुरामको घर नजिकैको ठूलो गौचरको ताराघरमा आउँथे, निसाना साँध्ने अभ्यासका लागि। यसै क्रममा भारतीय मूलका अङ्ग्रेज अफिसरसँग उनको सम्पर्क हुन्थ्यो। बाबुराम उनीहरूका नेपाल सम्बन्धी जिज्ञासा मेटाइदिन्थे। उनीहरू चाहिं यहाँ ल्याउन प्रतिबन्ध लगाइएका नेपाल सम्बन्धी पुस्तक उनलाई उपलब्ध गराइदिन्थे।
त्यसै वेला भर्खर किशोरावस्थामा प्रवेश गर्दै गरेका राजा त्रिभुवनलाई नयाँ पुस्तक पढ्ने चाहना बढ्दै थियो। त्यही चाहना पूरा गरिदिन बाबुछोराको सल्लाह अनुसार त्रिभुवनलाई नयाँ नयाँ पुस्तक उपलब्ध गराउन थालियो। श्री ५ को बैठकमा एकपछि अर्को पुस्तक देखिएपछि सुराकीले चन्द्रशमशेर समक्ष खबर पुर्यायो। उनले त्रिभुवनको बैठकबाट सबै पुस्तक उठाएर ल्याउन आदेश दिए। अनि त्यहाँ पुस्तक पुर्याउने मानिसको खोजी हुन थाल्यो। पुस्तकको पाना पल्टाउँदै जाँदा कुनै एकमा ‘बाबुराम आचार्य’ लेखिएको कागजको टुक्रा फेला परेछ। त्यसपछि पुस्तक छानबिन गरिरहेको सरदारले अनेक दुर्वाच्य बोल्दै बाबुरामलाई चन्द्रशमशेरसामु हाजिर गरायो।
बाबुराम काठमाडौं, महाबौद्धमा डेरा गरी बस्थे जहाँ कृष्णलाल र शम्भुप्रसादको नियमित जस्तै आउजाउ हुन्थ्यो। यही सम्पर्कका कारण ‘मकैको खेती’ को केही सम्पादन बाबुरामले पनि गरिदिएका थिए।
उनलाई पुस्तक कसको हो भनी सोधियो। बाबुरामले ‘सरकार, यो पुस्तक मेरो हो, कहाँबाट सरकारमा आयो जान्दिनँ’ भने। तर, पुस्तक राजदरबार आइपुगेको बताइएपछि उनी लल्याकलुलुक भए। अनि उनले ‘सरकार ! यो पुस्तक मैले आफ्नो साथीलाई हेर्न आफ्नो बुबाको हातबाट पठाएको तर राजदरबारबाट फर्कंदा उहाँले बिर्सेको हुनुपर्छ’ भन्ने स्पष्टीकरण दिए। अन्ततः चन्द्रशमशेरले उनलाई चेतावनी दिए, ‘बढ्ता भई नहिंड्नू, नतीजा भोग्नुपर्ला’ (आचार्य, उहीः३९–४०)।
१९६५ सालतिर बझाङमा प्राथमिक कक्षाका विद्यार्थीका लागि लेखिएको नेपाली शिक्षा दर्पण पुस्तकको तेस्रो भागमा ‘जापानको कुरा’ उल्लेख गरिएकोमा पनि बाबुरामले चन्द्रशमशेरबाट गाली खानुपरेको थियो (डा. भवेश्वर पङ्गेनी, इतिहास शिरोमणि बाबुराम आचार्य (सम्पा. गंगाप्रसाद उप्रेती)–२०७३ः७५)।
बझाङी राजा सिंहले तयार पारेको पुस्तकमा जापानका राजालाई थपना मात्र राखेर शासन चलाइरहेका सोगुनहरूका विषयमा उल्लेख थियो। नेपालका विद्यार्थीलाई राणाहरू विरुद्ध भड्काउने उद्देश्यका साथ पुस्तक लेखिएको तर्क राखेर चन्द्रशमशेरले ज्वाइँ समेत रहेका सिंह विरुद्ध आक्रोश पोखे। कुरा खोतलिंदै जाँदा पुस्तकको लेखनमा बाबुरामको पनि हात रहेको तथ्य चन्द्रशमशेरकहाँ पुग्यो। आफ्नै ज्वाइँको निर्देशनमा लेखिएको र उनकै नामबाट प्रकाशित भएकाले चन्द्रशमशेरले कडा कदम त उठाउन सकेनन्, तर बाबुरामलाई बोलाएर ‘काठा ! बुद्धि पुगेनछ, एकपटकलाई माफी भयो, आइन्दा यसो नगर्नू’ भन्दै गाली गरे (आचार्य, उहीः३८–३९)।
इतिहासको खोजी गरी नयाँ तथ्य प्रकाशमा आउने लेख छपाउँदा राणाहरूबाट गाली–खप्की खानुपर्ने अवस्था जुद्धशमशेरको पालामा पनि जारी रह्यो।
बाबुरामले जुद्धशमशेरको पालामा शारदा मासिक पत्रिकामा नेपालमा बंगाली सुल्तान समसुद्दिनले गरेको आक्रमणबारे गोपाल राजवंशावली र सिम्भु (स्वयम्भू)मा रहेको राजहर्षको शिलालेखलाई स्रोत बनाई लेख छपाएका थिए। उक्त लेख इतिहास लेखनमा ठूलो आविष्कार भएको ठानेका उनले उल्टै गाली चाहिं खानुपर्यो। यस्तै उद्योग पत्रिकामा १९९२ सालमा छापिएको मुद्रा सम्बन्धी लेखका कारण उनले तत्कालीन हजुरिया जनरल बहादुरशमशेरबाट झापड खानुका साथै ५ रुपैयाँ जरिवाना समेत तिराइएको थियो (डा. राजेश गौतम, इतिहास लेखनको इतिहास–२०५१ः३८७)।
यसरी राणाकालीन कालरात्रिमा अनेकौं हावाहुन्डरी आए पनि बाबुरामले आफ्नो ज्ञानको दियोलाई जोगाए, निभ्न दिएनन्।
मित्रबाट धोका
१९९१ सालमा सूर्यविक्रम ज्ञवाली दार्जीलिङबाट पृथ्वीनारायण शाह सम्बन्धी अध्ययन गर्न नेपाल आएका थिए। त्यस वेला भारतमा केही स्वतन्त्रता आइसकेको थियो। नेपाली नवयुवकहरूमा पनि नेपालका महापुरुषहरू खोजी गर्ने लहर चलेको थियो।
बाबुरामले नै सूर्यविक्रमलाई नेपालको इतिहासको अध्ययन र अनुसन्धानप्रति प्रेरित गरेका थिए। आफ्नो कृति पृथ्वीनारायण शाह तयार पार्दा सूर्यविक्रम पाण्डुलिपिहरू परीक्षणका लागि खाममा बन्द गरी दार्जीलिङबाट काठमाडौं पठाउँथे। बाबुराम ती पाण्डुलिपिलाई आवश्यक परिमार्जन गरी फिर्ता पठाइदिन्थे। यसरी नै सूर्यविक्रमका पृथ्वीनारायण शाह र अमरसिंह थापा नामक कृति प्रकाशन भएका हुन् (प्रा.डा. विजयकुमार मानन्धर, इतिहास शिरोमणि बाबुराम आचार्य (सम्पा. गंगाप्रसाद उप्रेती)–२०७३ः६८)।
तर, आफैंले इतिहासकार बन्न सहयोग गरेको व्यक्तिले समय क्रममा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा महत्त्वपूर्ण अवसर पाउँदा बाबुराम भने वञ्चित भए।
नेपालका विद्यार्थीलाई राणाहरू विरुद्ध भड्काउने उद्देश्यका साथ पुस्तक लेखिएको तर्क राखेर चन्द्रशमशेरले ज्वाइँ समेत रहेका सिंह विरुद्ध आक्रोश पोखे। कुरा खोतलिंदै जाँदा पुस्तकको लेखनमा बाबुरामको पनि हात रहेको तथ्य चन्द्रशमशेरकहाँ पुग्यो।
त्यतिखेर प्रज्ञा प्रतिष्ठान खुल्दै थियो। सूर्यविक्रम नेपाल आइसकेका थिए। बाबुराम पनि प्रज्ञा प्रतिष्ठानमा जाने कुरा चलिरहेको थियो, सदस्यका रूपमा। बालचन्द्र शर्माले बाबुरामलाई ‘प्रज्ञामा जानुपर्छ है गुरु’ भनिरहेकै थिए। उत्साहित बाबुरामले नयराज पन्तसँग ‘तिमी र म मिलेर इतिहास सम्बन्धी काम गर्नुपर्छ है बाबु’ भनी सल्लाह समेत गरेका थिए। तर, आचार्यलाई प्रज्ञा प्रतिष्ठानमा लगिएन। धोका भएपछि बाबुरामको बालचन्द्र र सूर्यविक्रमसँग दूरी बढेको थियो (बाबुरामका छोरा श्रीकृष्ण आचार्यले लेखकसँग व्यक्त गरेको भनाइ)।
प्रज्ञा प्रतिष्ठानमा बालचन्द्र उपकुलपति र सूर्यविक्रम सदस्य–सचिव नियुक्त भए। सूर्यविक्रमले पछिल्लो समय बाबुरामलाई बेवास्ता गरेकोमा उनीप्रति औंला पनि ठड्याइएको छ। यसरी औंला ठड्याउनेमध्ये इतिहासकार दिनेशराज पन्त एक हुन्। उनले संशोधन मण्डलद्वारा प्रकाशित ‘सावधान–पत्र’ सङ्ख्या ३१ मा लेखेका छन्, ‘खरिदार बाबुराम आचार्य (पछि इतिहास–शिरोमणि)ले नेपालीहरूमा सबभन्दा पहिले इतिहासको काम सुरु गर्नु भएको हो भन्ने कुरा सबैलाई थाहा छ। ज्ञवालीजीले पृथ्वीनारायण शाह तथा अमरसिंह थापा नामक पुस्तक लेख्दा बाबुराम आचार्यबाट प्रशस्त मद्दत पाउनु भएको थियो भन्ने कुरा ती कितावबाट तथा बाबुराम आचार्य र उहाँका कृति नामक पुस्तकबाट स्पष्ट बुझिन्छ।
२०२९ सालमा उनलाई जसै प्रतिष्ठानको मानार्थ सदस्य बनाइयो, सत्यमोहन जोशीले ‘शुभकामना टक्र्याउन आएको खरिदार बाजे’ भन्दा प्रत्युत्तरमा उनले ‘मलाई शुभकामना होइन, काम चाहिएको छ’ भनेका थिए (गौतम, उहीः३८४)।
बाबुराम आचार्यबाट मद्दत नपाएका भए ती पुस्तक त्यति गतिला हुने थिएनन् भन्ने कुरालाई ज्ञवालीजीको यसभन्दा पहिले निस्केका राम शाहको जीवनचरित्र नामक पुस्तक र ज्ञवालीजी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा पुगेपछि निस्किएका उहाँका नेपाल उपत्यकाको मध्यकालीन इतिहास र इतिहासका कुरा नामक पुस्तक हेर्ने मानिसले सजिलै बुझ्न सक्छन्। यस अवस्थामा आफूलाई मद्दत गरेर इतिहासकार बनाइदिने बाबुराम आचार्यलाई इतिहासकै पानाबाट मेटाइदिने धृष्टता गर्ने ज्ञवालीजीलाई कुन शब्दले विभूषित गर्नु ठीक पर्ला, यो कुरा विज्ञ पाठकहरूकै जिम्मामा म छाड्न चाहन्छु’ (दिनेशराज पन्त, बाबुराम आचार्य स्मृतिग्रन्थ–२०४६ः६३)।
बाबुरामलाई प्रज्ञा प्रतिष्ठानको मानार्थ सदस्य मात्र बनाइयो, त्यो पनि जीवनको अन्तिम समयमा।२०२९ सालमा उनलाई जसै प्रतिष्ठानको मानार्थ सदस्य बनाइयो, सत्यमोहन जोशीले ‘शुभकामना टक्र्याउन आएको खरिदार बाजे’ भन्दा प्रत्युत्तरमा उनले ‘मलाई शुभकामना होइन, काम चाहिएको छ’ भनेका थिए (गौतम, उहीः३८४)। यसबाट कामभन्दा पनि मानका खातिर दिइएको प्राज्ञ पदप्रति बाबुराम खुशी थिएनन् भन्ने स्पष्ट बुझ्न सकिन्छ।
२०२९ वैशाख १ गते प्रज्ञा प्रतिष्ठानको मानार्थ सदस्य नियुक्त भएका उनको ८५ वर्षको उमेरमा सोही वर्ष भदौ २२ गते देहान्त भयो।