७२ दलले देशैभर स्थानीय चुनाव लड्ने
आगामी वैशाखमा ७२ दलले देशैभर स्थानीय चुनाव लड्ने भएका छन्।
स्थानीय चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको थियो। त्यसका लागि ८० दलले निवेदन दिएका थिए।
त्यसमध्ये ७२ दलले देशैभर चुनाव लड्ने भन्दै निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता अर्यालले भने, “स्थानीय चुनावमा देशभर नै उम्मेदवार उठाउने भन्दै ७२ दलले निवेदन दिएका छन्।”
अहिले निर्वाचन आयोगमा १११ दल दर्ता छन्। यी मध्ये ६ वटा नयाँ दल हुन्। नयाँ दलले पनि स्थानीय चुनाव लड्न निवेदन दिएका छन्।
आगामी ३० वैशाखमा स्थानीय चुनाव गर्ने सरकारले घोषणा गरेको छ। अहिले निर्वाचन आयोग त्यसकै तयारीमा जुटेको छ।
स्थानीय चुनावका लागि एक करोड ७८ लाख मतदाता कायम भएका छन्। उनीहरूको नामावली दाबी विरोधका लागि स्थानीय तहमा पठाइएको अर्यालले जानकारी दिए।
अहिले आयोगले मतदाता नामावलीमा दाबी विरोधका लागि आह्वान गरेको छ। मतदाता नामावली सच्याउने प्रक्रिया पनि चलिरहेको छ।
यससँगै आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग गर्ने भएको छ। मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएकाले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय भएको आयोगले जनाएको छ। यसअघि आयोगले २०७४ सालको निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोग गरेको थियो।
त्यस्तै, स्थानीय तहका लागि चैतदेखि आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको छ। यससँगै निर्वाचनका लागि आवश्यक सरसामान खरीदको प्रक्रिया पनि शुरू भएको सहायक प्रवक्ता अर्यालले बताए।