घनघस्याको उकालो काट्ता
पैसा पहिले दिएपछि मात्र मकै हाम्रो रुमालमा हालिदिई। प्रशस्त पानी लोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौं। खड्किनीले भनेकी थिई, ‘बाटामी गाड पडन्छ।’
साहित्यकार एवम् भाषाविद्
डा. तारानाथ शर्माको ३ फागुनमा
८७ वर्षको उमेरमा निधन भएको छ। ९ असार १९९१ मा इलाममा जन्मिएका शर्माको नियात्राकार, निबन्धकार, कथाकार, उपन्यासकार, भाषाविद्, समालोचक सहितको विविध परिचय छन्। झर्रोवादी अभियानका अभियन्तामध्येका एक शर्माले नेपाली साहित्यमा नियात्रा विधाको शुरूआत गरेर यसलाई लोकप्रिय बनाएका थिए। थुप्रै निबन्धमध्ये पनि ५४ वर्षअघि सुदूरपश्चिम यात्राको सेरोफेरोमा लेखिएको ‘घनघस्याको उकालो काट्ता’ खुबै चर्चित छ। साहित्यकार डा. शर्मालाई चिनाउने त्यहि
‘घनघस्याको उकालो काट्ता’ निबन्ध:
२०२४ सालको एसएलसी परीक्षाको सञ्चालन गर्न डोटी जाँदा राष्ट्रको पश्चिमी सीमामा स्थित महाकाली नदीलाई झुलाहाटमा तरी बैतडी र डडेल्धुरा हुँदै सिलगढी पैदलै पुग्नुपरेको थियो। झुलाहाटदेखि बैतडीसम्मको उकालो काटी बैतडीमा दुई रात बिताएर डडेल्धुरामा एसएलसी परीक्षा सञ्चालन गर्न हिँडेका मित्र र वहाँका साथीसित म र प्रेमबहादुर प्रधान डोटीतर्फ हिँडेका थियौं। हामी दुई रात डडेल्धुरामा पनि बसेका थियौं।
आजभोलि त दक्षिण तराईबाट मोटरको बाटो पनि त्यतातिर पुगिसकेको छ, तर सुदूर पश्चिम पहाडको विकटता अझै पनि छँदै छ। घनघस्याको अग्लो डाँडो बैतडी र डडेल्धुराको बीचमा अवस्थित छ। हामी बैतडीतिरबाट डडेल्धुरा गएका थियौं र यस नियात्रामा त्यही उकालाको बयान गरिएको छ, तर डडेल्धुरातिरबाट बैतडी जाँदाको दक्षिणी पाटो पनि उत्तिकै अप्ठ्यारो छ।
००० ००० ०००
२०२४ साल पुसको अन्तिम हप्तामा म महाकाली अञ्चलमा थिएँ। मेरो जन्म मेची अञ्चलम भएको थियो। म सुदूर पूर्वको इलामे शरीर बोकेर सुदूर पश्चिमको बैतडीबाट डडेल्धुरातर्फ हिँडेको थिएँ।
म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु। म खप्तडमा वसन्त बिताउन चाहन्छु, तुम्लिङमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँसे घारीमा झ्याउरे गाउन चाहन्छु। मलाई तिल्केनीको उकालो, घनघस्याको उकालो र चन्दनीको उकालोसित जति प्रेम छ, उति नै प्रेम अघोरी गाड, पुवा खोला र टुकुचासित छ। सतबाँझको लेक होस् वा ट्याम्के डाँडो होस्, अन्तु डाँडो होस् वा चन्द्रागिरि होस्, जहाँ पनि उस्तै पाराको आफ्नोपनले मेरो मुटु ढुक्ढक्याउँछ।
जीवनमा कति उकालाहरू काटियो होला र कति ओह्रालाहरू झरियो होला, तर थोरै व्यक्तिले मात्र घनघस्याको उकालो चढेका होलान्। यो यस्तो उकालो हो, जो कठोरतामा अद्वितीय छ।
जीवनमा कति उकालाहरू काटियो होला र कति ओह्रालाहरू झरियो होला, तर थोरै व्यक्तिले मात्र घनघस्याको उकालो चढेका होलान्। यो यस्तो उकालो हो, जो कठोरतामा अद्वितीय छ। अघोरी गाडदेखि उकालिन थालेको यो डाँडो सहारा मरुभूमिको तिर्खालाई बिर्साउँछु भने झैं तपाईंतिर हेरेर खिस्स हाँस्छ।
संसारले अनेकौं काँचुली फेरिसक्यो, देशका अरु भागले हजारौं नयाँ दृश्यहरू देखिसके, तर यो उकालो अनन्तदेखि उस्तै छ। युगहरू बिते र समयले टाप लगायो, तर घनघस्याको उकालो उत्तिकै घोसेमुन्टो लगाएको लगाएकै छ।
टाउकामा चिप्लो न चिप्लो बरफको हिउँलो केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखहरूको जिङ्ग्रिङे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ। यो मान्छेहरूसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखराली सेती जत्तिकै रिसाएको छ। सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ। यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरेँ, तर त्यस्तो लक्षण कतै भेटिएन। उल्टो यो झन्-झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ।
प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूर पश्चिमको भ्रमणमा निक्लेको थिएँ। बैतडीको शाहीलेकमा अवस्थित विद्यालय भवनमा दुई रात बसेपछि डडेल्धुरा जान तम्सिँदा भरिया पाइएन। नौ बजे भात खाएर हिँड्न तयार भएका हामी चार जना व्यक्तिहरू साढे दस बजेसम्म वाल्ल परेर दुई भरियाको खोजमा यता र उता दुगुर्दै नै थियौं।
झट्ट मलाई सहायक अञ्चलाधीशको सम्झना भयो। हामी दुगुर्दै सहायक अञ्चलाधीशलाई भेट्न माथि बैतडी बजारतर्फ गयौं। सहायक अञ्चलाधीश यमुनाराज पौड्यालज्यूले लगत्तै दुई जना दमाईहरूलाई बोलाएर सत्र-सत्र रुपियाँमा पाटनसम्म भारी बोक्न मिलाइदिनुभयो। एघार बजे हामी दशरथ चन्दको सालिकलाई श्रद्धाका दुई थोपा आँसु चढाएर सतबाँझको लेकतर्फ उकालियौं।
बाटामा एउटा रमणीय ठाउँ भेटियो। देब्रेपट्टि पर्खालले घेरेको ढिस्कामा राम्रो मन्दिर थियो, जसको छानाको मर्मत हुँदै थियो। पर्खाल बाहिर फलामे साङ्लीको अग्लो पिङ थियो। त्यसमा मच्चिएर मैले उत्तर पश्चिमतिरका हिमचुचुराहरू देखेँ। सात-आठ पसलहरू थिए, जसका वरिपरि भेडाका बथानहरू नून र चामलका बोराहरू बोकेर उग्राइरहेका थिए।
ठाउँठाउँमा बारीहरू थिए, वनहरू थिए र चरनहरू थिए। गाईहरू चराउँदै गोठाला गोठाल्नीहरू विरहलाग्दा गीतहरू कुर्लिरहेका भेटिन्थे।
ठाउँठाउँमा बारीहरू थिए, वनहरू थिए र चरनहरू थिए। गाईहरू चराउँदै गोठाला गोठाल्नीहरू विरहलाग्दा गीतहरू कुर्लिरहेका भेटिन्थे। आउने-जाने मान्छेहरूमा समूह पनि प्रशस्तै देखिन्थे। धेरै माथि पुगेपछि हिउँले ढाकेको पाखो देखियो।
नेपाल हिमाली मुलुक हो तापनि धेरैजसो नेपालीले हिउँ कुल्चन पाएका हुँदैनन्। मैले २००१ सालको विशाल हिउँ वर्षा हुँदा फिक्कलमा हिउँमा खेल्न बाहेक र दार्जिलिङमा एक-दुई पटक हिउँ फुस्फुसाएको देखे बाहेक हिउँको राम्रो परिचय बेलाइतमा मात्र पाएको थिएँ। बेलाइती हिउँभन्दा सतबाँझका लेकको हिउँ बेग्लै थियो। यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो।
मेरा साथी प्रेमबहादुर प्रधान र म यस हिउँमा निकै बेरसम्म खेल्यौं, कहिले चिप्ली खेल्दै कहिले हिउँका डल्लाले एक-अर्कालाई हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्राहरूमा आकृतिहरू बनाउँदै र लेख्तै हामीले सतबाँझमा समयलाई जिस्क्यायौं। डाँडामा पुगेर पूर्वतर्फ दृष्टिपात गरेपछि पो हामीलाई थाहा भयो, हामीले सतबाँझलाई छोडेर धेरै टाढा जानु रहेछ।
जीवन एउटा नटुङ्गिँदो यात्रा रहेछ। जतिसुकै प्यारो लागे पनि सतबाँझ जस्ता रमणीय स्थानहरूलाई छाड्नुपर्दो रहेछ। ओह्रालो झरेर तेर्सै तेर्सो बाटो हामी हिँडिरह्यौं, हिँडिरह्यौं।
सल्लैसल्लाको घारीको मध्य भागबाट हिँडेपछि एउटा चौतारो आइपुग्यो। झमक्क साँझ परिसकेकाले तल जङ्गल मुनिको टार अलेली मात्र देखिन्थ्यो। पहाडबाट झर्दा मधेस पुग्ने बेलाको झैं दृश्य थियो त्यो। बास नपाइएला भनेर भरियाहरू र दुई साथीहरूलाई त्यहीँ छाडी प्रधान र म ओह्रालो दुगुर्यौं बासको व्यवस्था गर्न।
फेदीमा जङ्गल सकिएपछि रमाइलो विशाल चौर आइपुग्यो। त्यसै चौरलाई पाटन भन्दा रहेछन्। फट्याकफुटुक घरहरू देखा परे। बाटामा घरेलु विभागका एक कर्मचारीसित भेट भयो। कास्कीतिरका ती व्यक्तिले अरुतिर बस्ने ठाउँ पाइँदैन भनेर आफ्नै डेरातिर लगे।
मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ। तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु, तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ। तर, म विवश थिएँ, मैले घनघस्या नकाटी भएको थिएन।
डेरामा काठमाडौं घर भएका दारी नै दारीले ढाकिएका स्वास्थ्य केन्द्रका कर्मचारी पनि रहेछन्। ती दुई दयालु सज्जनका पाहुना भएर हामी उनीहरूकै दालभात खाई त्यस रात राम्ररी सुत्यौं।
भोलिपल्ट ती भरियाहरू डडेल्धुरा जान मानेनन्। सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो। उनले दुई जना भरिया खोजिदिए,तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो। घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस्, आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं।
ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं। अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं। डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो। यही थियो कुख्यात घनघस्याको विकट उकालो।
मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ। तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु, तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ। तर, म विवश थिएँ, मैले घनघस्या नकाटी भएको थिएन। पाटनका सहृदय व्यक्तिहरूले दिएका दुई लाँक्रा उखु पहिले टेक्तै र पछि चबाउँदै हामी एकोहोरो उकालिइरह्यौं, उकालिइरह्यौं।
जोगबनीदेखि धरानसम्को अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाह्रबीसेसम्मको फराकिलो कालो बाटालाई सराप्तै हामी ठसठस कनिरह्यौं। सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएन, न त्यहाँ भैरहवाबाट बुटौल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो। त्यहाँ त चुच्चे ढुङ्गाहरू पहरामा तेर्सिएका थिए काला रुखहरूका छायामा कच्पल्टिएर। पसिनाले निथ्रुक्क भिजेर हामी ६ जना अभागीहरू आकाशतर्फ उचालिइरह्यौ, उचाइलिइरह्यौं।
नील आर्मस्ट्रङहरूलाई त्यति फिटफिटी परेन होला, किनभने चन्द्रमामा पुग्दा उनीहरूसित यथेष्ट वैज्ञानिक उपकरणहरू उपलब्ध थिए। हामी भने पानी समेत नपाएर रौयौं। निकै माथि पुगेपछि दुइटा पानीका कुला भेटिँदा स्वर्ग पुगेको अनुभव भयो, मरुभूमिका यात्रीले एक्कसी मरुद्यान भेटे झैं हामी फुलेल भयौं।
पूर्वपट्टि डडेल्धुरा कुइरामा कता हो कता चन्द्रमा जस्तै टाढा भएर बिलाएको थियो। उँधोतिर कहालीलाग्दो कालो जङ्गल थियो, जसलाई छिचोलेर एउटा खोलो तरेर एउटा उकालो चढेपछि मात्र डडेल्धुरा पुग्न सकिन्थ्यो।
त्यत्ति हो, अरु पानी कतै भेटिएन। धेरै-धेरै माथि हिउँ प्रारम्भ हुने ठाउँमा पो एउटा असाध्यै चिसो धारो रहेछ। बाटामा एक-दुई ठाउँ घरहरू भेटिए, तर तिनमा मान्छे थिएनन्। धुरामा पुग्ने बेला तीन माइल जति बाटो जमिसकेको हिउँले ढाकिएको थियो।
चिसो धारामा पानी खाएपछि दुई भरियाहरू लागे हिउँ नै हिउँको पहरातिर। म पनि तिनको पछि लागेँ। चिप्ला हिउँका ढुङ्गाहरू खाली खुट्टाले टेक्तै रामसिंह भरिया र उसको भतिजो उकालिए। म तिनको सहनशीलता देखेर मख्ख पर्दै ठाउँ-ठाउँमा चिप्लेर लड्दै तिनीहरूसित धुरातर्फ चढेँ। रामसिंह, उसको भतिजो र म टुप्पामा पुग्दा पाँच बजेको थियो। अरु साथीहरूको पत्तो थिएन।
पूर्वपट्टि डडेल्धुरा कुइरामा कता हो कता चन्द्रमा जस्तै टाढा भएर बिलाएको थियो। उँधोतिर कहालीलाग्दो कालो जङ्गल थियो, जसलाई छिचोलेर एउटा खोलो तरेर एउटा उकालो चढेपछि मात्र डडेल्धुरा पुग्न सकिन्थ्यो।
डरलाग्दा चितुवा र भालु लाग्ने पट्टेर जङ्गललाई सेतै ढाकेको हिउँमा खाली खुट्टाका औंलाले मान्छेको आकृति कोरेर रामसिंहले भन्यो, ‘आज डडेल्धुरा पुग्न सकिँदैन, पोखरातिर राति बाह्र बजेतिर सम्ममा पुगिएला।‘
‘पोखरा पनि पुगिँदैन। तल कतै रित्तो गोठ पाइएछ भने त्यहाँ रात काट्नुपर्छ।‘ भतिजो चाहिँले हिउँका डल्लाले छेवैको रुखलाई हिर्काउँदै भन्यो।
अनेकौं ओह्राला र उकाला बाटाहरू हिँड्दाहिँड्दै अँध्याराले झ्याप्पै छोप्यो। चोर, डाँका, भूत,प्रेत र जङ्गली जनावरका आक्रमणको आशङ्काले ढक्क भएको छातीलाई दुई हातले थिचेर हामी तीन जना एक प्राण र एक मुटु भएर दगुरिरह्यौं।
म चाहिँ साथीहरू हिउँमा हराए कि भनेर विचलित भएर कराएँ, ‘प्रेमबहादुर भाइ!’
प्रत्युत्तरमा हावा मात्र सुइइयँ गर्यो।
‘जाऊँ त कसरी जाऊँ, बसूँ त जाडोले सिध्याइसक्यो!’ भन्दै मैले हिउँको ढिस्को थुपारेँ।
बल्ल साढे पाँचतिर साथीहरूले जवाफ दिए तल भीरतिरबाट, ‘हामीले बाटो हरायौं!’
हाम्रो आवाजलाई पछ्याउँदै साथीहरू डाँडामा निस्किसकेपछि मैले भनेँ, ‘आज डडेल्धुरा त कुनै अवस्थामा पनि पुग्न सकिँदैन रे।' रामसिंह पोखरासम्म पुगिहालिन्छ कि भन्छ भने उसको भतिजो चाहिँ तल गोठतिर अलपत्रै सुत्ने कुरो गर्छ।
त्यसैले छिटो हिँड्न नसक्ने साथी चाहिँ दुई जना भरियाहरूसित बिस्तारी आउनुहोस्, हामी तीन जना चाहिँ दुगुर्दै पोखरा जान्छौं अनि बासगाँसको व्यवस्था मिलाउँछौं। जस्तै अवस्थामा पनि र जति रात परे पनि तपाईंहरू अवश्य आइपुग्नुहोला।
मेरो योजना सबैलाई मन परेकाले प्रेमबहादुर प्रधान, एक जना साथी र म ओह्रालो कुद्यौं। लड्दै पछारिँदै धेरै हिँडेपछि बाटो तेर्सियो र फेरि उकालियो। अनेकौं ओह्राला र उकाला बाटाहरू हिँड्दाहिँड्दै अँध्याराले झ्याप्पै छोप्यो। चोर, डाँका, भूत,प्रेत र जङ्गली जनावरका आक्रमणको आशङ्काले ढक्क भएको छातीलाई दुई हातले थिचेर हामी तीन जना एक प्राण र एक मुटु भएर दगुरिरह्यौं।
हामी यति पछारियौं, भनेर साध्य छैन। हामीलाई यति तिर्खा लाग्यो, भनेर साध्य छैन। भोक, डर र बाटो बिरियो होला भन्ने आशङ्काले थुर्थुर हुँदै दस बजे रातितिर एउटा डाँडामाथिको गाउँमा हामी पस्यौं। निकै घरमा बोलाएपछि एउटाबाट थाहा पाइयो, बाटो बिरिएको रहेनछ। अनेकौं घरमा प्रयत्न गरेपछि एउटा छाप्राकी खड्किनी मकै भुट्न तयार भई। लोग्ने परदेश लागेको रहेछ। तल्लो तलामा गाई बाख्रा थिए र माथ्लामा सस्याना भन्टाङभुन्टुङ छोराछोरीहरू यत्रतत्र पसारिइरहेका थिए।
दियालाको छेस्को बत्ती जस्तै बालेर त्यस आइमाईले अँगेनामा बीट नभएको ताप्के जस्तो भाँडाले कुँचाले चलाएर तीन घान मकै भुटिदिई। पैसा पहिले दिएपछि मात्र त्यसले मकै हाम्रो रुमालमा हालिदिई। प्रशस्त पानी लोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौं।
खड्किनीले भनेकी थिई, ‘बाटामी गाड पडन्छ।‘
पैसा पहिले दिएपछि मात्र मकै हाम्रो रुमालमा हालिदिई। प्रशस्त पानी लोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौं। खड्किनीले भनेकी थिई, ‘बाटामी गाड पडन्छ।’
साँच्चै नै बाटामा एउटा खोलो रहेछ। त्यहाँ मन ढक्क फुल्यो। खोलो वास्तवमा मसानघाट हो, किनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन्। त्यसै हुनाले खोलो भन्ने बित्तिकै दिउँसै पनि मेरो सातोपुत्लो उड्छ भने रातिको त कुरै भएन। तर, त्यहाँबाट केही उकालो लागेपछि नै रमाइलो डाँडो टुप्लुक्क देखा पर्यो,जसमा बाटामा दुवैतिर पन्ध्र-सोह्र ढुङ्गाले छाएका घरहरू थिए। घरहरू सबै बन्द थिए। एक-दुई घरका बाहिरपट्टि सिकुवामा मान्छेहरू सुतिरहेका थिए।
मैले सोधेँ, ‘पोखरा कता पर्छ?’
‘यही हो!’ एउटाले ओढ्ने भित्रैबाट भन्यो।
‘दोकानहरू सबै थुनिएका छन् नि रु यहाँ कतै पनि बास पाइँदैन कि क्या हो रु’प्रेमबहादुर प्रधानले सोध्नुभयो।
‘दोकानमा राति कोही बस्तैनन्। दिउँसो बेचबिखन गरेर बेलुका ती गाउँतिर आफ्ना घरमा सुत्न जान्छन्। बरु अलिक पर्तिर जानोस्, एउटा पसले त्यहीँ सुत्छ। त्यहीँ बास पाइन सक्छ।‘ त्यस मान्छेले ओढ्ने झिकेर हामीलाई राम्ररी नियाल्दै भन्यो।
हामी अघि बढ्यौं। साँच्चै नै एउटा घरभित्र लालटिन बलिरहेको हामीले देख्यौं। ढोका निकै घचघच्याएपछि एउटा बूढाले ढोका उघारी लालटिन उचालेर हामीलाई हेर्दै सोध्यो, ‘रातिहुँदो के चाहियो?’
मैले घडी हेरेँ- रातिको बाह्र बजेको रहेछ।
‘हामीलाई एक रातको बास चाहियो।‘ मैले भनेँ।
‘यहाँ बास पाइँदैन।‘ बूढो ढोका ढप्क्याउन लाग्यो।
‘त्यसरी निठुरी बन्न तपाईं पाउनुहुन्न। हेर्नोस्, हामी टाढा पूर्वबाट आएका। बास नदिए पनि केही खानेकुरा भए दिनोस्, हामी किनेर खान्छौं‘ प्रधानले भन्नुभयो।
बूढासित खाने कुरो केही रहेनछ। चिउरा, मकै, चामल, आलु केही रहेनछ। सस्याना सुन्तलाहरूले भरिएको एक डालो रहेछ।
‘कास्की पोखराका सुन्तला रहेछन् नि त तारा दाइ!’ अर्का साथीले व्यङ्ग्य गर्नुभयो।
अनि हामीले दुई-दुई रुपियाँका तीस-तीस दाना जति ती चिचिले सुन्तला खायौं। बूढाले कति गर्दा पनि त्यहाँ बास दिन मानेन। उसकै घर अगाडिको चिसो छानु ह्वाङ्गै भएको र फोहरी कटेरो उसले देखायो। त्यसैसित दुई रुपियाँका ती अँगाला दाउरा किनेर हामी आगो ताप्तै साथीहरूलाई पर्खन लाग्यौं।
राति दुई बजे सास मात्र बाँकी राखेर भरियाहरू र साथी आइपुगे। अनि रामसिंह र उनको भतिजो आगोको छेउमा पातलो तन्दा ओछ्याएर र हामी चार भाइ आ-आफ्ना सुत्ने थैलाभित्र पसी चिसो न चिसो ढुङ्गाको सिरानी लगाएर भोलि रमाइलो डडेल्धुरा पुग्ने स्वादिलो कल्पना गर्दै साढे २ बजेतिर कच्पल्टिलो निद्रा सुत्यौं।