'विदेश यात्रामा आफूभित्र सिङ्गो नेपाल बोकेर लगेको रहेछु'
साहित्यकार एवम् भाषाविद्
डा. तारानाथ शर्मा (तानासर्मा) को ८७ वर्षको उमेरमा
मंगलबार निधन भएको छ। २०१३ सालमा थालिएको झर्रोवादी आन्दोलनका एक अभियन्ता तथा नेपाली साहित्यमा नियात्रा विधाका शुरूआतकर्ता शर्माले २०२६ सालमा यात्रा-निबन्धकृति 'बेलायततिर बरालिँदा' का लागि मदन पुरस्कार पाएका थिए। १७ असोज २०२७ मा आयोजित समारोहमा मदन पुरस्कार ग्रहण गरेपछि शर्माले गरेको सम्बोधन यहाँ प्रस्तुत छ।
धन्य छ नेपाल, जसले सम्माननीया रानी श्री जगदम्बाकुमारी देवीको विशाल हृदय पाएको छ। धन्य छ नेपाली साहित्य, जसले मदन पुरस्कार गुठीको नि:स्वार्थ सेवा पाएको छ, र धन्य छन् नेपाली लेखकहरू, जसले मदन पुरस्कारको लोभलाग्दो लक्ष्य पाएका छन्।
सौभाग्यशाली ठान्छु म आफूलाई, जसले आफ्नो साहित्यिक परिश्रमको सर्वोच्च सम्मान पाएको छु आज र मदन पुरस्कारबाट विभूषित लेखकहरूको पङ्क्तिमा आफूलाई सगर्व उभ्याउन पाएको छु आज। पाउन्ड र डलरहरू रित्याएर रित्तो गोजी फर्केको ट्रान्जिस्टर र क्यामेरा नकिनेर बेलाइततिर बरालिएरै फर्केको अनि बाह्र छोरा तेह्र नातिका कोसेलीको निस्तो भारी बोकेर फर्केको थिएँ म र टाट उल्टेर फर्केको थिएँ म। तर, आफूलाई आविष्कार गर्न पाएको छु मैले आज, साहित्यिक सम्पन्नतातर्फको प्रेरणा पाएको छु मैले आज, टाट उल्टेर त कहाँ फर्केको रहेछु र भन्ने ज्ञान पाएको छु मैले आज र मदन पुरस्कार पो बोकेर फर्केको रहेछु भन्ने चेतना पाएको छु मैले आज।
नेपाली भमण साहित्यले ‘मदन पुरस्कार’ सर्वप्रथम पाएको यो दिन, अढाइ गुना बढेको पुरस्कारको रकम सर्वप्रथम प्रदान भएको यो दिन अनि नेपाली आलोचनाको क्षेत्रमा विवादको भुइँचालो ल्याउने व्यक्तित्वलाई उसकै ह्याकुलोलाई पक्षपातरहित स्नेहको भुइँचालोले हल्लाएको यो दिन हाम्रो राष्ट्रिय साहित्यको सम्मानको आदर्श र त्यसका लागि जीवन उत्सर्ग गर्ने व्यक्तिहरूको गर्वको उदाहरण बनेको छ।
पैसाको हेराइले हिजो मदन पुरस्कारले लेखकको घर थेग्ने नर्कटसम्मको संज्ञा पाएको थियो र यो भालू बाँसको बलियो थाम हुन पाएको छ आज, तर छातीमा हात राखेर भन्छु म, हेराइले त यो प्रोत्साहनको सुन्दर घरै भएको छ आज, स्वीकृति र सम्मानको सुनौलो सोपान नै भएको छ आज।
नेपाली भमण साहित्यले ‘मदन पुरस्कार’ सर्वप्रथम पाएको यो दिन, अढाइ गुना बढेको पुरस्कारको रकम सर्वप्रथम प्रदान भएको यो दिन अनि नेपाली आलोचनाको क्षेत्रमा विवादको भुइँचालो ल्याउने व्यक्तित्वलाई उसकै ह्याकुलोलाई पक्षपातरहित स्नेहको भुइँचालोले हल्लाएको यो दिन हाम्रो राष्ट्रिय साहित्यको सम्मानको आदर्श र त्यसका लागि जीवन उत्सर्ग गर्ने व्यक्तिहरूको गर्वको उदाहरण बनेको छ।
विदेशको भ्रमणमा भुल्भुली उम्लेका भावनाहरूलाई स्वच्छन्द लिपिबद्ध गर्दा समेत मभित्र नेपालको मानचित्र लमतन्न पल्टिरहेको हुन्थ्यो र म वेल्सका डाँडाहरूमा ढकमक्क फुलेका गुराँसहरूमा पनि नेपालै देख्थें, स्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्थें र डब्लिनका राष्ट्रिय चाडमा पनि टुँडिखेलैका आफ्ना बन्धुहरू लाम लागेर हिंडेको देख्थें। तिनका बन्दूकहरू र तोपहरू नेपाली ध्वजापताका हुन्थे, तिनका वरिपरिका बाजाहरू सनाई र कर्नाल हुन्थे अनि जब तिनका राष्ट्रिय गीतहरूले ओकोनेल सडकको आकाश थर्काउँथे, म नेपालको राष्ट्रिय गीत सुनेको चेतमा आँखाभरि आँसु पारेर पूर्वतर्फ हेर्थें।
यहाँहरूले गएर स्ट्याट्फोर्ड अपन-एभनका विलियम शेक्सपियरलाई सोधे हुन्छ, मैले त्यहाँ भानुभक्त र मोतीरामलाई पाएको छु, देवकोटा र लेखनाथलाई पाएको छु। प्यारिसको आइफल धरहरामा चढेर भीमसेन थापालाई पाएको छु। जीनिभामा घुम्दै थिएँ म, तर महाराजगन्जको सडकमा मेरा खुट्टा थिए। जीनिभा दहमा हेर्दै थिएँ म, तर मेरा आँखाले त्यहाँ काठमाडौंको उज्याला आकाश प्रतिविम्बित भएको देखें। यहाँ आएर पो थाहा पाएँ, मैले त म आफूभित्र सिङ्गो नेपाल बोकेर गएको रहेछु, हिमालको छाती बोकेर गएको रहेछु, अनि त्यसैले फर्कंदा मदन पुरस्कारको राष्ट्रिय सम्मानले मलाई सिंगारेको रहेछ।
भ्रमणलाई साहित्यिकता दिए बापत पाएको अमूल्य धनराशिलाई मैले भ्रमणमै खर्च गर्ने ह्याउ कसेको छु, तर यो जुन सम्मान मैले पाएँ त्यसलाई चाहिं म कहिल्यै छाड्न चाहन्नँ र सक्तिनँ पनि। यो यस्तो पगरी हो, जसले मान्छेलाई जीवनभरि कर्तव्यतिर प्रेरित गरिरहन्छ र मृत्युपछि पनि बारम्बार सम्झाइरहन्छ।
धन्य छ नेपाल, जहाँ सम्माननीया रानी जगदम्बाकुमारी देवीको अद्वितीय दानप्रियताले साहित्यकारहरू आत्मविस्मृत हुन पाएका छन्।