धितोपत्र बोर्डमा फेरि फर्किने ढुंगानाको प्रयासमा सर्वोच्चको अड्चन, दिएन अन्तरिम आदेश
नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष भीष्मराज ढुंगानाले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध दिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको प्रमाणित भएपछि बर्खास्तीमा परेका ढुंगाना आफूलाई पदबाट हटाउन नमिल्ने जिकिर सहित अन्तरिम आदेशको माग गर्दै सर्वोच्च पुगेका थिए। तर, बिहीबार उनको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशत्रय मीरा खड्का, हरि फुँयाल र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
अन्तरिम आदेश दिने विषयमा यसअघि दुई न्यायाधीशबीच राय बाझिएपछि यो मुद्दा पूर्ण इजलासमा पुगेको थियो। अदालतले ढुंगानाको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उनको बोर्डमा फर्किने सम्भावना तत्कालका लागि सकिएको छ। मुद्दाको अन्तिम किनारा कहिले लाग्छ भन्ने टुङ्गो छैन।
सरकारले बिहीबार नै धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरिसकेको छ।