धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त
धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्।
बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि थाइल्यान्डमा बस्दै आएका हमाल केही वर्षअघि नेपाल फर्किएका थिए।
इन्जिनियरिङ पृष्ठभूमिका हमालले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआईटी) बाट एमबीए गरेका छन्। उनी घरजग्गा कारोबारमा संलग्न थाइल्यान्डको ओमस्टोन एशिया अन्तर्गतको कम्पनी ओमस्टोन एशिया क्यापिटल नेपाल प्रालिका प्रबन्ध निर्देशक हुन्।
योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमाल सहित कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम अध्यक्षका लागि सिफारिश गरेको थियो। मन्त्रिपरिषद्ले अन्य दुई प्रतिस्पर्धीलाई पन्छाएर हमाललाई नियुक्त गरेको हो। छनोट समितिका सदस्यमा अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्व अध्यक्ष जीवनाथ धिताल थिए।
बूक बिल्डिङ प्रकियाबाट सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा मुछिएपछि सेबोनका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्तीमा परेका थिए। ढुंगाना बर्खास्त भएपछि पछिल्लो साढे चार महीनादेखि बोर्ड नेतृत्वविहीन थियो।
सुदूरपश्चिम घर भएका हमाल प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन्। उनको नियुक्तिका लागि अर्थमन्त्री जनार्दन शर्माको समेत विशेष साथ रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। “उनको नियुक्ति पक्का जस्तै थियो, प्रधानमन्त्री र अर्थमन्त्री दुवैको इच्छा हमाललाई नै नियुक्त गर्नेमा थियो,” स्रोत भन्छ। राजनीतिज्ञ र व्यवसायीबीच बिचौलियाको भूमिका निर्वाह गर्दै आएका विवादास्पद व्यवसायी दीपक भट्टले हमालको नियुक्तिका पक्षमा पहल गर्दै आएको स्रोतको दाबी छ।
उनको नियुक्तिकै लागि छनोट प्रक्रिया नै विवादास्पद बनाइएको आरोप पनि लागेको छ। अध्यक्ष नियुक्तिका लागि गठित छनोट समितिमा सदस्य मात्रै फेरिएनन्, पहिलो पटकको आवेदन समेत रद्द गरेर दोस्रो पटक आवेदन माग गरिएको थियो।
त्यसै गरी छनोटका लागि सिफारिश कार्यविधि समेत परिवर्तन गरिएको थियो। “कसलाई नियुक्ति गर्ने भनेर शुरूमै बनाइएको योजना अनुसार देखावटी प्रतिस्पर्धा गरिएको थियो,” अध्यक्ष पदमा आवेदन दिएका नाम उल्लेख गर्न नचाहने एक प्रतिस्पर्धीले भने।
बोर्डमा नयाँ अध्यक्ष आएसँगै नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र बाँडिने तयारी छ। व्यावसायिक बिचौलिया भट्टको सक्रियतामा शंकर समूह सहितका व्यावसायिक घराना स्टक एक्सचेन्जको अनुमतिपत्र हत्याउने खेलमा छन्।