लखनउ विद्रोह: जंगबहादुरको ध्येय
अङ्ग्रेज शासन विरुद्ध भारतमा चर्किएको सिपाही विद्रोह दबाउन नेपाली सेना खटाउनुका पछाडि जंगबहादुरको एउटै ध्येय थियो- अङ्ग्रेजको मन जितेर आफ्नो निरंकुश सत्तालाई थप बलियो बनाउनु।
६ अगस्ट १८५६ मा नाटकीय ढङ्गले कास्की र लमजुङको ‘श्री ३ महाराज’ घोषित भएका थिए, जंगबहादुर राणा। त्यतिखेर देशका प्रधानमन्त्री उनकै भाइ बमबहादुर थिए। दश महीना नबित्दै उनी परलोक भएपछि अन्य भाइको पालो मिच्दै जंगबहादुर पुनः सत्तामा आए। दरबारका उच्च भारदारहरू कोत पर्वमा मारिइसकेकाले विरोधमा टाउको उठाउने प्रतिद्वन्द्वी बाँकी थिएनन्।
भण्डारखाल पर्वबाट महारानी राज्यलक्ष्मीदेवी र अलौ पर्वबाट राजा राजेन्द्र शक्तिहीन सावित भएपछि राजदम्पती निरीह भई काशीतर्फ पलायन भएका थिए लहडी स्वभावका युवराज सुरेन्द्रलाई गद्दीमा बसाली जंगबहादुर राज्यशक्तिको एकलौटी हर्ताकर्ता बन्न पुगेका थिए।
जंगबहादुरले खासै पढे-लेखेका थिएनन्, कनीकुथी हस्ताक्षरसम्म गर्थे। पिता बालनरसिंह कुँवर बडाहाकिम हुँदा उनले सुवेदारबाट सैन्य सेवा शुरू गरेका थिए। जीवनमा अनेकौं उतारचढाव झेलेका जंगबहादुर तराईको ‘हात्तीखेदा’ मा विशेष क्षमता देखाएकै कारण राजा राजेन्द्रको आँखामा पर्न गए र तत्कालै तोपखानातर्फको कप्तानी दर्जामा नियुक्त भए। पछि राजा राजेन्द्रको अङ्गरक्षकमै सरुवा भए। राजदरबारको समीप पुगेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
‘श्री ३ महाराज’ भए लगत्तै जंगबहादुरले के-कस्ता काम गरे, त्यसको विवरण पाइएको छैन। तर, छिमेकी भारतमा फैलिएको विद्रोह ताका उनी एकाएक सक्रिय रूपमा देखा परे। सन् १८५७ मेमा अङ्ग्रेज सरकारसँग देशी सैनिकहरू भड्केकाले भारतमा यस्तो उपद्रव आइलाग्यो कि त्यहाँका प्रमुख शहरहरू अशान्त बनेका थिए।
जंगबहादुरले लखनउ विद्रोह दबाउन पठाएका २० हजार सैनिकमध्ये १४ हजार सकुशल स्वदेश फर्किए पनि बाँकी ६ हजार सैनिक के भए, कुनै तथ्य भेटिंदैन।
यता जंगबहादुरलाई आफूले धारण गरेको श्री ३ महाराज उपाधिको औचित्य सावित गर्नुपर्ने स्थिति थियो। त्यस बखत भारदारको चर्को विमतिका बावजूद उनले अङ्ग्रेजलाई सैन्य सहयोग दिने निधो गरे। केही महीनापछि आफू समेत भारत गई विद्रोहलाई काबूमा ल्याउन अहं भूमिका खेले। अङ्ग्रेज शासन विरुद्ध भारतीय सिपाहीले गरेको उक्त विद्रोह ‘लखनउ विद्रोह’ का नामले चिनिन्छ।
विद्रोहको जन्म
अङ्ग्रेजहरूको बढ्दो ज्यादती र धर्मपुत्र राख्न नपाइने लगायत अनेकौं नीतिनियमले गर्दा भारतका राजा, रजौटा र नवाबहरू पहिल्यैदेखि चिढिएका थिए। त्यही क्रममा केही शहरमा अङ्ग्रेज विरुद्ध देशी सैनिकहरूले ठूलै दङ्गा मच्चाए। त्यस बखत सेनाले इनफिल्ड राइफलमा नयाँ कारतूस प्रयोग गर्नुपर्थ्याे, जसमा गाई र सुँगुरको बोसो दलेर चिल्लो बनाइएको अफवाह फैलियो।
दाँतले टोकेर कारतूस लोड गर्न अङ्ग्रेजले आदेश दिन्थे, तर हिन्दू-मुस्लिम सैनिकहरूले यसलाई आफ्नो धर्म भाँडी इसाईकरण गर्न खोजेको अर्थमा लिए। आदेश नमान्ने केही सिपाहीलाई अङ्ग्रेजले तत्कालै तोपले उडाइदिए। यसरी कारतूसको निहुँले भारतका शहरमा विद्रोह फैलिन पुगेको थियो।
कतिपय भारतीय विद्वान्ले १० मे १८५७ मा मेरठ (दिल्ली नजिक) छाउनीमा भएको गोलीकाण्डलाई विद्रोहको प्रमुख कारण मानेका छन्। जे होस्, यही दमनले भारतीय सैनिक भड्केका थिए र त्यहाँका राजा, रजौटाले साथ दिंदा विद्रोहले झन् उग्र रूप लिएको थियो। त्यसलाई काबूमा ल्याउन अङ्ग्रेज सैनिकलाई धौ-धौ परिरहेको थियो।
अङ्ग्रेजको बाध्यता
इस्ट इन्डिया कम्पनीका नामले सयौं वर्षदेखि भारतमा अङ्ग्रेजहरूको आधिपत्य कायम थियो। तर, विद्रोहका दौरान उनीहरू एकाएक कमजोर बन्न पुगे। यो स्थिति बुझी जंगबहादुरले त्यहाँका गभर्नर लर्ड क्यानिङलाई आवश्यक परे सैन्य सहयोगका लागि आफू तयार रहेको सन्देश पठाए। जंगबहादुरको जीवनयात्राका लेखक पद्मजंग राणाकै शब्दमा ‘सन् १८५७ को मे महीनामा पहिलो दङ्गा शुरू भएको केही दिनपछि नै जंगबहादुरले सिपाही विद्रोहबारे सुन्नासाथ नेपालको सम्पूर्ण सैनिक बल ब्रिटिश सरकारको हातमा सुम्पिदिने प्रस्ताव राखे’ (२०७४, पृ.१८७)।
लखनउ शहरलाई बाहिरबाट गोरखालीले घेरेर राखे, तर भित्र प्रवेश गर्न थप सैन्य बलको खाँचो पर्यो। यो स्थितिमा अङ्ग्रेजले थप मद्दत माग्यो र दलबल सहित जंगबहादुर आफैं भारतीय सरहद पुगे।
बेलायती उपनिवेश विरुद्ध लडिरहेका देशी शक्तिलाई छिमेकीको नाताले गोरखाली सैनिकहरूले उल्टै साथ देलान् कि भन्नेमा अङ्ग्रेजहरू सशङ्कित थिए। त्यसैले लर्ड क्यानिङ तत्काल यस्तो सहयोग लिन अनकनाए। तर, बेलायतबाट थप सेना आइपुग्न निकै दिन लाग्ने भएकाले उनीहरू अन्ततः जंगबहादुरको प्रस्ताव स्विकार्न राजी भए।
ब्रिटिश साम्राज्य विरुद्ध भारतीयहरूले गरेको यो ऐतिहासिक विद्रोह अति महत्त्वपूर्ण मानिन्छ। ‘आफ्नो साम्राज्यमा सूर्यको कहिल्यै अस्त नहुने’ आहान बोकेका ब्रिटिशहरू सिङ्गो भारतीय शक्ति एकढिक्का हुँदा पराजयको सँघारमा पुगिसकेका थिए। यस्तो विपत्तिमा ब्रिटिश साम्राज्यले जंगबहादुरको भरपर्दो साथ पाई भारतमा सयौं वर्ष पुरानो उपनिवेश जोगाउन सफल भयो।
नेपाली सैन्य सहयोग
सैन्य सहयोगको माग हुनासाथ जंगबहादुरले तत्काल सेना खटाए। विभिन्न स्थानमा विद्रोहीलाई हराउँदै, धपाउँदै गोरखाली फौज अघि बढ्यो। अन्तिममा विद्रोहीहरू लखनउमा केन्द्रित भए जहाँ अङ्ग्रेजको रेजिडेन्सी थियो। विद्रोहीहरूले हात-हतियार लुटेर रेजिडेन्सीलाई यसअघि नै कब्जामा लिइसकेका थिए। लखनउ शहरलाई बाहिरबाट गोरखालीले घेरेर राखे, तर भित्र प्रवेश गर्न थप सैन्य बलको खाँचो पर्यो। यो स्थितिमा अङ्ग्रेजले थप मद्दत माग्यो र दलबल सहित जंगबहादुर आफैं भारतीय सरहद पुगे।
राणाकालीन इतिहासका विशेष जानकार पुरुषोत्तमशमशेरको चर्चित कृति श्री ३ हरूको तथ्य वृत्तान्त अनुसार ‘सन् १८५७ जुलाई २ मा कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा ६ हजार र डिसेम्बर १० मा जंगबहादुरकै नेतृत्वमा १४ हजार सैनिक भारत पुगेका थिए’ (२०६५, पृ.११२-११३)। यसबाट ब्रिटिशलाई सहायता गर्न जाने गोरखाली सैनिकहरू २० हजार जति रहेको छर्लङ्ग हुन्छ।
टेकबहादुर खत्रीलिखित शाही नेपाली सेनाको इतिहासका अनुसार, लखनउमा खटिने नेपाली पल्टनहरूमा रिफेल, कालीबक्स, नयाँ गोरख, गोरखनाथ, श्रीनाथ, वर्जबहादुर, सूर्यदल, कालीबहादुर, देवीदत्त, नरसिंह, जबरजंग, गणेशदल, जगदल (पछि पशुपतिप्रसाद कायम), भैरवनाथ, पुरानो गोरख, कालीप्रसाद, सिंहनाथ, शमशेरदल, रामदल, महेन्द्रदल, राजदल, शेर पल्टन, जंगनाथ, सबुज, बरख र कालीजंग गरी २६ रेजिमेन्टको जानकारी मिल्छ। तीमध्ये विशेष गरी ‘पुरानो गोरख’ पल्टन लखनउ शहरमा प्रवेश गरी विद्रोहीलाई दबाउन सफल भएको थियो (२०४१, पृ.१२, १३ र ४४)।
भारत प्रवेशसँगै नेपाली सेनाले चर्काे दमन शुरू गर्यो। त्यहाँका असङ्ख्य सिपाही र विद्रोही मारिए, कतिपय लखेटिए। स्थानीय राजा-रजौटाले भित्री रूपमा विद्रोहीलाई समर्थन गरेकाले उनीहरू पनि अनेकौं दुर्व्यवहार र अत्याचारका शिकार भए। तिनका धनसम्पत्ति लुटिए।
भारत प्रवेशसँगै नेपाली सेनाले चर्काे दमन शुरू गर्यो। त्यहाँका असङ्ख्य सिपाही र विद्रोही मारिए, कतिपय लखेटिए। स्थानीय राजा-रजौटाले भित्री रूपमा विद्रोहीलाई समर्थन गरेकाले उनीहरू पनि अनेकौं दुर्व्यवहार र अत्याचारका शिकार भए। तिनका धनसम्पत्ति लुटिए। यसबारे पद्मजंग राणा, पुरुषोत्तमशमशेर र प्रमोदशमशेरले आ-आफ्नो पुस्तकमा विशेष चर्चा गरेका छन्।
लखनउमा १५ दिनसम्म गोरखालीहरूले लगातार युद्ध गरेपछि विद्रोह रोकिएको थियो। त्यसपछि गभर्नर लर्ड क्यानिङलाई भेट गर्न २३ मार्च १८५८ मा जंगबहादुर लखनउबाट दुई हजार (दुई रेजिमेन्ट) सैनिकका साथ इलाहाबादतर्फ लागे। सोही दिन लेफ्टिनेन्ट जनरल बखतजंग राणा र मेजर जनरल खड्गबहादुर राणाको संयुक्त नेतृत्वमा चार हजार र कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा आठ हजार सैनिकलाई स्वदेश फर्काइएको तथ्य पुरुषोत्तमशमशेरले (उही, पृ.११६-११७) उल्लेख गरेका छन्।
सैनिकहरूको असन्तुष्टि
उल्लिखित विवरणबाट युद्धमा सामेल २० हजार सैनिकमध्ये १४ हजार सकुशल रहेको सजिलै बुझ्न सकिन्छ। बाँकी ६ हजार सैनिक के भए त? यसबारे कुनै तथ्य छैन। युद्धमा नेपाली सेनातर्फ सामान्य क्षतिसम्म भएको विवरण पद्मजंगको पुस्तकमा परेको छ, तर यकिन जानकारी दिइएको छैन। तत्कालीन इतिहासलाई जंगबहादुर जस्ता शासककै स्तुतिमा अलमल्याइएको हुँदा ती सैनिकको वास्तविकता ओझेल पारिएको देखिन्छ।
पद्मजंगका अनुसार, ‘ब्रिटिश सरकारले युद्ध समाप्त भएपछि यसमा खटिएका सहयोगीको सम्पूर्ण खर्च व्यहोर्ने, कारबाहीमा घाइते भएका सबैको उपचार गर्ने, उनीहरूलाई पुरस्कार दिने र युद्धमा संलग्न सबैलाई तक्मा दिने प्रतिज्ञा गर्यो’ (उही, पृ.१८९)। सम्झौता अनुसार युद्धपछि जंगबहादुर र उनका भाइ रणोद्दीपसिंहले अनेकौं मान-पदवी पाए, तर सँगै खटिने अर्का भाइ धीरशमशेर रित्तै हात परे। किनकि, उनले शुरूमा अन्य केही प्रमुख भारदारले जस्तै अङ्ग्रेजलाई मद्दत गर्न नहुने धारणा राखेका थिए।
सन् १८५६ मा तिब्बतसँगको युद्धमा विजयी भई फर्कने नेपाली सैनिकलाई बढुवा, पदक र बक्सिस प्रदान गरिएको पाइन्छ। तर, लखनउ युद्धमा ज्यानको बाजी थापेका सैनिकहरू पुरस्कृत भएको उल्लेख छैन। त्यसैले ठूलो जोखिम मोलेर अङ्ग्रेजलाई सफलता दिलाएका गोरखाली सैनिकहरूमा निराशा छाएको थियो।
त्यति वेला लखनउका नवाब वाजिद अली शाह, बेगम कोठीको धनसम्पत्ति लुटिएको थियो, जुन ‘लखनउ लूट’ का नामले भारतमा आज पनि चर्चित छ।
युद्धका उपद्रवहरू
सागरशमशेर राणाको चर्चित पुस्तक सिंहदरबार (२०७४) मा गोरखाली सेनाले लखनउमा लुटिएको धन ४० वटा गोरुगाडामा राखेर नेपाल ल्याएको तर त्यो राष्ट्रिय ढुकुटीमा जम्मा नभएको उल्लेख छ। त्यति वेला लखनउका नवाब वाजिद अली शाह, बेगम कोठीको धनसम्पत्ति लुटिएको थियो, जुन ‘लखनउ लूट’ का नामले भारतमा आज पनि चर्चित छ।
हजारौंको सङ्ख्यामा उपस्थित गोरखालीहरू युद्धभूमिमा नूनको सोझो गर्न बाध्य थिए। सेनाको धर्म र प्रतिष्ठा विपरीत उनीहरूले यसअघि यसरी अर्काका निम्ति लडेका थिएनन्। युद्धमा सेनाको अजेय शक्तिलाई यसरी दुरुपयोग गरियो कि गोरखालीहरूको ऐतिहासिक छवि धमिलिन पुग्यो। अङ्ग्रेजको दासताबाट मुक्त हुन चाहने भारतीयहरूको देशभक्तिपूर्ण सङ्घर्षमा उनीहरूलाई अमानवीय ढङ्गले उतारिएको थियो।
जंगबहादुरको प्रेमप्रसङ्ग
एन्थोनी ड्रेनानको ‘जंगबहादुर-लाउरा प्रेम’ शीर्षकको लेख पढ्दा सन् १८५० को एक दिन लन्डनस्थित ‘जे जनरल माउर्निङ हाउस’ मा जंगबहादुरले अङ्ग्रेज युवती लाउरा बेललाई भेटेको, त्यसपछि उनीहरूले तीन महीना सँगै बिताएको र जंगबहादुरको कृपाले लाउराको जिन्दगी नै बदलिएको थाहा हुन्छ (हिमाल खबरपत्रिका, १-१५ मंसीर,२०६६)।
‘भन्नेले केसम्म भन्छन् भने जंगबहादुरले उन (लाउरा) लाई छोड्ने वेलामा एउटा औंठी दिएर ‘तँलाई केही परे यो औंठी सहित मलाई खबर पठा, तेरो कुरो काट्दिनँ’ भनेका थिए रे! जब भारतमा सिपाही विद्रोह भयो, लाउराले बेलायतका युवराजलाई त्यो कुरा बताउँदै जंगलाई मैले सहयोग गर भन्दा काट्दैन भनेकी थिइन् र त्यसैले जंगले ब्रिटिशलाई सहयोग गरेका हुन् रे! जंगलाई पनि लाउरा बेल काण्डले काठमाडौंसम्म पछ्यायो’ (उही)।
सैन्य विद्रोह दबाउन जंगबहादुरले अङ्ग्रेजलाई दिएको सैन्य सहयोग एउटा शासक आफ्नो महत्त्वाकांक्षाका खातिर कुन हदसम्म जान सक्छ भन्ने कुराको दृष्टान्त थियो।
तर, इतिहासको अध्ययन गर्दा लाउराकै कारणले मात्र जंगबहादुर कम्पनी सरकारलाई मद्दत गर्न हौसिएका देखिंदैनन्। यसका अन्य कारण पनि थिए, जसको छुट्टै चर्चा गरिएको छ।
सहयोगको आलोचना
सैन्य विद्रोह दबाउन जंगबहादुरले अङ्ग्रेजलाई दिएको सैन्य सहयोग एउटा शासक आफ्नो महत्त्वाकाङ्क्षाका खातिर कुन हदसम्म जान सक्छ भन्ने कुराको दृष्टान्त थियो। नेपाली इतिहासप्रतिका अनेकौं टीकाटिप्पणी केलाउँदा तिनमा अङ्ग्रेजलाई दिइएको सैन्य सहायतालाई उचित ठहर्याइएको छैन।
नेपाल प्रजापरिषद्को स्वर्णजयन्ती स्मारिका अनुसार, राणाशासनको उत्तरार्धमा ९ असार १९९७ मा जावलाखेलमा छरिएको ऐतिहासिक पर्चाको केही अंशलाई हेरौं-
“...अङ्ग्रेजको मद्दतलाई फौज पठायौ। लडाइँमा मद्दत दिने जस्तो कुरामा तिमीहरूले कोसँग सोध्यौ? यूरोपको लडाइँमा हामीलाई फस्न के नाफा थियो? १९१४ सालको लडाइँमा अङ्ग्रेजलाई मद्दत दिएर, लड्न गएका सिपाहीमा प्रजालाई के नाफा भो? वर्षको दश लाख बैंकमा जम्मा गर्न पायौ।...”
राणाशासन विरुद्ध निकालिएको यो पर्चामा भारतीय सिपाही विद्रोहमा नेपाली सेनाको दुरुपयोग भएको जनाउँदै त्यस बापत शासकलाई प्राप्त आर्थिक लाभप्रति असन्तुष्टि जनाइएको छ।
खासमा सैनिक विद्रोहको प्रभाव नेपालमा पनि पर्ला कि भन्ने चिन्ता जंगबहादुरलाई थियो। अर्कातिर इस्ट इन्डिया कम्पनीले मान्यता नदिंदासम्म उनी आफ्ना असीमित अधिकारप्रति ढुक्क थिएनन्। उनको सर्वसत्तावादी शासनसत्तालाई कतैबाट खतरा थियो भने भारतमा साम्राज्य फैलाएर बसेका अङ्ग्रेजबाटै थियो। जंगबहादुर त्यो चुनौतीलाई कसरी अवसरमा बदल्न सकिन्छ भन्ने ध्याउन्नमा थिए।
जंगबहादुरसँग भारतको आन्तरिक मामिला भनेर त्यसलाई सजिलै टार्ने, बेवास्ता गर्ने या तटस्थ रहने विकल्प नभएका होइनन्। तर, उनी निजी स्वार्थले प्रेरित रहेकाले आफैं एक कदम अघि सरेर अङ्ग्रेजलाई सघाउन पत्राचार गरे।
भारतमा सैनिक विद्रोह शुरू भए लगत्तै थापाथली दरबारमा एकत्रित जंगबहादुरका भाइ-भारदार भने विद्रोही राजा, रजौटा र नवाबहरूलाई सैन्य सहयोग दिन उचित हुने, तर अङ्ग्रेजलाई सघाउन नहुने पक्षमा थिए। यस्तो धारणा राख्नेमा धीरशमशेर प्रमुख व्यक्ति थिए। यस्तो असहमति हुँदाहुँदै जंगबहादुर अङ्ग्रेजलाई सैन्य सहयोग गर्ने निधोमा पुगेको तथ्य प्रमोदशमशेरको राणाशासनको वृत्तान्त मा पढ्न पाइन्छ (२०७०, पृ.७४,९३)।
जंगबहादुरसँग भारतको आन्तरिक मामिला भनेर त्यसलाई सजिलै टार्ने, बेवास्ता गर्ने या तटस्थ रहने विकल्प नभएका होइनन्। तर, उनी निजी स्वार्थले प्रेरित रहेकाले आफैं एक कदम अघि सरेर अङ्ग्रेजलाई सघाउन पत्राचार गरे। यो महासङ्कटमा सक्दो गुन लगाएर अङ्ग्रेजलाई कृतज्ञ बनाउनु र आफ्ना लागि समर्थन जुटाउनु उनको एक मात्र ध्येय थियो।
बेलायत भ्रमण ताका आफूले पाएको सम्मान अनि आर्थिक अभावले बेइज्जत हुने अवस्थामा पुग्दा कम्पनी सरकारबाट पाएको मद्दतका कारण पनि जंगबहादुर उनीहरूप्रति अनुगृहीत थिए। यथार्थमा, बेलायती महारानीको शान, शौकत र ठाँट देखेर आफू पनि राजा बन्नुपर्छ भन्ने भावना उनमा पलाएको थियो। त्यसैले स्वदेश फर्केको केही वर्षमै उनले आफूलाई ‘श्री ३ महाराज’ घोषणा गरे। भनिन्छ, त्यतिले चित्त नबुझी नेपालको असली ‘महाराजाधिराज’ नै हुने उनको महत्त्वाकाङ्क्षा थियो। त्यस्तो चाहना अङ्ग्रेजको सहयोग विना पूरा हुन सक्दैनथ्यो। उनले अङ्ग्रेजलाई सहयोग र समर्थन गर्नुको प्रमुख कारण पनि त्यही देखिन्छ।
हिमालखबर (२९ माघ, २०७७) मा प्रकाशित लेखमा डा. राम कन्दङ्वाले भनेका छन्, “...विद्रोह दबाएपछि जंगबहादुरले नेपालको राजा हुन चाहेको इच्छा महाराज्यपालसामु व्यक्त गर्न चाहेका थिए। तर, भनिहाल्ने हिम्मत गरेनन्।” जंगको त्यस्तो दिवास्वप्न पूरा नभए पनि उनको ३० वर्षे शासनकाललाई अङ्ग्रेजको अटूट साथ-समर्थन भने मिलिरह्यो।
शासकको मनोवृत्ति
भारतीय इतिहासमा सैनिक विद्रोह दबाउन गोरखाली सेनालाई अत्यन्त निर्ममतापूर्वक मैदानमा उतारिएको र त्यहाँका शासकहरूको धनसम्पत्ति लुट्न अह्राइएको भनी चर्चा गरिएको पाइन्छ। त्यस्तै, जनकलाल शर्माले लखनउबाट लुटेर ल्याइएका सामान त्यस वेलाका शासक र जनताका सामु प्रदर्शित गरिएको जनाएका छन् (हाम्रो समाजः एक अध्ययन, २०३९,पृ.११९)। प्रमोदशमशेरका अनुसार ‘सन् १८५७ मा लखनउमा प्राप्त(?) भएको र वेला-बखत आफूले किनेका बहुमूल्य हीरा, माणिक, पन्ना तथा मोती जडान गराएर जंगबहादुरले महाराजले लगाउने विशेष श्रीपेच बनाएका थिए’ (उही,पृ.३१४)।
“वाणगङ्गामा उनले (जंगले) सिपाही विद्रोहका शरणार्थी सिपाहीले त्यहाँ वरपरको जङ्गलमा ठूलो खजाना लुकाएर गएका छन् भन्ने हल्ला सुने। त्यसका आधारमा उनले त्यहाँ व्यापक रूपमा उत्खनन गराए, तर केही पित्तलका रित्ता भाँडा र खिया लागेका हतियारभन्दा केही हात लागेन।”
जंगबहादुर शिकारका अत्यन्त शोखीन थिए, प्रत्येक वर्ष हिउँदमा तराई झर्थे। सन् १८६६ को डिसेम्बरमा पनि शिकार खेल्नकै लागि चितवन हुँदै बुटवल पुगेका थिए। सोही समयमा नजिकैको वाणगङ्गा (कपिलवस्तु) मा पनि एकपल्ट क्याम्प खडा भएको थियो। पद्मजंगका अनुसार ‘वाणगङ्गामा उनले (जंगले) सिपाही विद्रोहका शरणार्थी सिपाहीले त्यहाँ वरपरको जङ्गलमा ठूलो खजाना लुकाएर गएका छन् भन्ने हल्ला सुने। त्यसका आधारमा उनले त्यहाँ व्यापक रूपमा उत्खनन गराए, तर केही पित्तलका रित्ता भाँडा र खिया लागेका हतियारभन्दा केही हात लागेन’ (उही, पृ.२६१)।
भारतीय इतिहासमा शासकको निर्देशनमा गरिएको त्यस ब्रह्मलूटलाई ‘लखनउ लूट’ को संज्ञा दिइएको र विद्रोहलाई ‘स्वतन्त्रताको पहिलो सङ्ग्राम’ भनी चित्रण गरिएको छ। तर, ब्रिटिश शासकले त्यही सङ्ग्रामलाई ‘सैनिक विद्रोह’ भनी अवमूल्यन गरे।
जंगबहादुरको सफलता
सैनिक विद्रोह साम्य पारी आफूलाई अङ्ग्रेजको हिमायती सावित गरेपछि जंगबहादुरलाई आफ्नो सत्ताका लागि समर्थन पाए सरह भयो। नेपाललाई अङ्ग्रेजबाट हुन सक्ने उपनिवेशको खतरा पनि सदाका निम्ति टर्यो। त्यसपछि उनले बेलायती सरकारबाट राजा सरहको हैसियत र सम्मान बटुले। सुगौली सन्धिमा गुमेका तराईका केही भूभाग (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) सन् १८६० मा फिर्ता ल्याए जसलाई ‘नयाँ मुलुक’ भन्ने गरिन्छ। आफ्नै पुरानो भूभागलाई ‘नयाँ मुलुक’ नाम दिनु कति उपयुक्त हुन्छ, त्यो विचारणीय छ।
विद्रोह दबाएर गोरखाली सेनाले अङ्ग्रेजहरूको जिउधनको मात्र रक्षा गरेन, तिनीहरूको वर्षौं पुरानो भारतीय साम्राज्य पनि जोगाइदिएको हो। त्यस उपकारसामु यी भूभाग नगण्य थिए। भनिन्छ, त्यस वेला अङ्ग्रेजसँग धेरै कुराको अपेक्षा गर्न सकिन्थ्यो। तर, सुगौली सन्धिमा गुमेको विशाल भूमितर्फ ध्यानै नदिई जंगबहादुरले यी सीमित भूभागमा किन चित्त बुझाए? यो जिज्ञासा अद्यापि छ।
बेलायत भ्रमणताका त्यहाँको रहनसहन, जीवनशैली र भौतिक विकास देखेर जंगबहादुर निकै लोभिएका थिए। खास गरी अङ्ग्रेजको सैन्यशक्तिबाट अति प्रभावित उनी बेलायतीहरूसँग गहिरो मित्रता चाहन्थे। ब्रिटिश भारतलाई पनि स्वार्थसिद्धिका लागि जंगबहादुर जस्तै हितैषी शासक चाहिएको थियो। दुवैले यस मित्रताको भरपूर लाभ उठाए।
युद्ध सकिएपछि अङ्ग्रेजहरू शिकारका निम्ति नेपालको सरहदमा आमन्त्रित हुन थाले। यो घनिष्ठता यतिसम्म बढ्यो कि जंगबहादुरले आफ्नो सत्ताका निम्ति कहिल्यै चिन्तित हुनु परेन। उनको महत्त्वाकाङ्क्षा र स्वेच्छाचारिता यसरी चुलिंदै गयो कि देश र जनताले चर्को अधिनायकवादलाई लामो समयसम्म बेहोर्नुपर्यो।