कोरोनाबाट पाँच आफन्त गुमेपछि...
कोरोनाभाइरसको सङ्क्रमणबाट पाँच आफन्त गुमाएकी स्वास्थ्य स्वयंसेविका जयपुरी पाल्चोक भन्छिन्, “कोरोनालाई सामान्य नठानौं, यसले परिवारै तहसनहस हुन बेर लाग्दैन।”
वृद्ध आमालाई कोभिड-१९ को सङ्क्रमणबाट जोगाउन काठमाडौंको बसुन्धाराकी जयपुरी पाल्चोक २०७७ को दशैंको वेला टीका थाप्न पनि गइनन्। आठ जना दाजुभाइ तथा दिदीबहिनीले टीका थाप्न कतै नजाने सल्लाह गरेका थिए।
स्वास्थ्य स्वयंसेविका समेत रहेकी उनले कोरोनाभाइरसको सङ्क्रमण कम भएपछि ८७ वर्षीया आमा बिवा तामाङलाई भेट्ने योजना बुनेकी थिइन्, तर अचानक कोरोना सङ्क्रमण भयो। “भेट्न नपाउँदै आमालाई कोरोनाले लग्यो,” जयपुरी भन्छिन्, “आमा बिरामी भएपछि झन् भेट्नै पाइनँ। बिरामी हुँदा उहाँलाई तातोपानी पनि खुवाउन पाइनँ।”
त्यसअघि जयपुरीलाई कोरोनासँग डर लागेको थिएन। किनकि, उनकी आमाले नै आत्मबल दिएकी थिइन्। त्यो थियो, बन्दाबन्दीमा उनकी आमाले गरेको सहयोग।
कोरोना सङ्क्रमण शुरू भएपछि सरकारले देशभर बन्दाबन्दी घोषणा गर्यो। सबै कामकाज बन्द भएपछि मजदूर तथा विपन्न परिवारका मान्छे सकसमा परे। त्यस्तो वेला उनकी आमा सहित परिवारजन सहयोग वितरणमा जुटेका थिए। “बन्दाबन्दीको वेला हाम्रो टोल र बाहिर गरेर झण्डै चार हजार परिवारलाई राहत बाँड्यौं,” जयपुरीले भनिन्, “आमा पनि राहत बाँड्न हिंड्नुभयो, तर केही भएको थिएन।”
“भाइसँगै आमा पनि बिरामी पर्नुभयो,” जयपुरीले भनिन्, “कोरोनाले भाइ र आमा दुवैलाई च्याप्यो। दुवैलाई एकै दिन अस्पतालको आईसीयूमा भर्ना गर्यौं।”
स्वास्थ्य स्वयंसेविका जयपुरी पनि गाउँघर गइराख्नुपर्ने, स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिराख्नुपर्ने भएकाले कोरोनासँग डराएकी थिइनन्। सङ्क्रमण शुरू भएदेखि नै अग्रपङ्क्तिमा क्रियाशील थिइन्। चिकित्सकले पनि सामान्य जस्तै ठानेर स्वास्थ्योपचार गरिरहेको देखिकाले कोरोनाको त्रास फैलिंदा पनि उनको आत्मबल घटेको थिएन।
जयपुरीकी आमालाई भन्दा पहिले भाइलाई कोरोना सङ्क्रमण देखिएको थियो। उनकी आमा ठूलो छोरासँगै बस्दै आएकी थिइन्। ठूलो छोरालाई कोरोना भएपछि माइलो छोराको घरमा बस्न सबैले आग्रह गरेका थिए। तर, आमाको मनले बिरामी छोरालाई छोड्न मानेन।
“भाइसँगै आमा पनि बिरामी पर्नुभयो,” जयपुरीले भनिन्, “कोरोनाले भाइ र आमा दुवैलाई च्याप्यो। दुवैलाई एकै दिन अस्पतालको आईसीयूमा भर्ना गर्यौं।”
त्यसपछि झन् भेटघाट गर्न पाउने कुरै भएन। “भाइ त २१ दिनमा घर फर्कियो, तर आमा फर्किनन्,” उनी निराश हुँदै बोलिन्, “अरू त पीपीई लगाएर आईसीयूमा हेर्न गए, म चाहिं जान सकिनँ। एकै चोटि आमाको शव बुझ्यौं। त्यो पीडादायी क्षणले सधैं चिथोरिरहन्छ।”
२०७७ मंसीरमा उनकी आमाको मृत्यु भयो। मृत्युपछि कोरोना परीक्षण गर्दा भने नेगेटिभ देखिएको थियो।
“आमा बितेको एक महीनापछि मकाउबाट कान्छो भाइ आयो। उसलाई पनि कोरोना भएपछि आईसीयूमा राख्नुपर्यो।”
आमा बितेको एक महीनापछि उनका कान्छो भाइ ४१ वर्षीय राजु मकाउबाट घर फर्किए। आमा गुमाउनुपर्दाको पीडा थियो। राजु पनि त्यो पीडा आफन्त र साथीभाइलाई सुनाउँथे।
घर फर्केको केही समयपछि राजुलाई रुघाखोकी लाग्यो। सामान्य जस्तै ठानेर उनी घरमै आराम गरेर बसे। जब उनलाई गाह्रो हुन थाल्यो त्यसपछि मात्रै अस्पताल पुगे। “स्वास्थ्य अवस्था जटिल भइसकेको रहेछ,” जयपुरी सम्झिन्छिन्, “आईसीयूमा राख्नुपर्यो।”
भाइलाई आईसीयूमा राखेपछि भने आत्तिएको उनी बताउँछिन्। उनी पनि अस्पतालमै बसिरहिन्। आईसीयूमा राखेको दशौं दिन हो, जेठो भाइले जयपुरी र कान्छी भाइबुहारीलाई घर गएर आराम गर्न सुझाए।
“घर पुगेको केही समय मात्रै के भएको थियो, भाइको मृत्युको खबर आइहाल्यो, म त एकाएक कराएछु,” उनी भन्छिन्, “त्यस्तो हट्टाकट्टा भाइ बित्ला भन्ने लागेकै थिएन।” अस्पतालबाट घर जानुअघि नै कान्छो भाइलाई बचाउन नसकिने चिकित्सकले जेठो भाइलाई सुनाइसकेका रहेछन्।
कोरोनाको कहर त्यतिमै रोकिएन। त्यो पीडा भुल्न नपाउँदै अर्को घटना भयो, दिदीको छोरा बित्यो।
उनकी दिदीको छोरा ३७ वर्षीय मुसा तामाङलाई सङ्क्रमण भयो। “अस्पताल त लगेकै थियौं, बचाउने सक्दो प्रयास गरेका थियौं, तर असफल भयौं,” उनी भन्छिन्।
“आमाले जीवन भोगेर बित्नुभयो, तर मेरो भाइ त भर्खरको कस्तो खाइलाग्दो, राम्रो थियो।”
दिदीको छोरा मुसासँगै बुहारीलाई पनि कोरोना भएको थियो। “दुवै जना सँगसँगै गए,” जयपुरी सुनाउँछिन्। उनीहरूका १२ र १८ वर्षका दुई छोरा छन्। आमाबुबा नभएपछि उनीहरू अहिले मामासँग (जयपुरीको ठूलो भाइसँग) बसिरहेका छन्।
लगालग चार जना आफन्त गुमाएपछि जयपुरीको परिवार शोकमा डुबेको थियो। त्यो पीडाबाट उम्किन पाएको थिएन। दाइ (ठूलीआमाको छोरा) की छोरी सरस्वतीलाई सङ्क्रमण भएको खबर पाइन्। सङ्क्रमण भएको केही दिनमै सरस्वतीको पनि ४५ वर्षको उमेरमा ज्यान गयो। “उनीहरू लुक्लामा बस्थे, राम्ररी भेटघाट गर्न पनि पाएको थिइनँ,” जयपुरी भन्छिन्, “एकै पटक मृत्यु भएको खबर सुन्नुपर्यो।”
सरस्वतीका ६, १४ र १८ वर्षका तीन सन्तान छन्। उनीहरू सम्झिँदा पनि भक्कानो छुट्ने गरेको उनी सुनाउँछिन्।
कोरोनाबाट पाँच आफन्त गुमाएकी जयपुरी परिवार नै पीडाबाट उम्किन नसकेको बताउँछिन्। “कोरोनाले धेरै आफन्त गुमाएँ। चिनजान भएका १९ जना गइसके,” उनले भन्छिन्।
उनकी आमाका सात दिदीबहिनी थिए। आमा गुमाएपछि उनी आमाको मुख हेर्ने दिन सानीआमा (आमाकी कान्छी बहिनी) लाई भेट्न धरान पुगिन्। आमाको उमेर पुगिसकेको थियो भन्दै मनलाई शान्त पार्न त खोज्छिन्, तर भाइको यादले सताउने गरेको उनी बताउँछिन्। “भाइको मृत्युपछि पनि कोरोना पोजेटिभ देखिएकाले शव पाइएन, सद्गत गर्न पनि गाह्रो थियो,” उनी भन्छिन्, “बुहारी र भाइका छोराछोरी देख्दा याद आइहाल्छ।”
उनको भाइका दुई छोराछोरी छन्, १४ र १६ वर्षका। जेठी छोरीले गत वर्ष एसईई दिइन् भने कान्छो छोरा कक्षा ८ मा पढ्छन्। उनीहरूसँग कुराकानी गर्दा पनि भाइको याद आउने गरेको सुनाउँदै उनी भन्छिन्, “आमाले जीवन भोगेर बित्नुभयो, तर मेरो भाइ त कस्तो खाइलाग्दो, राम्रो थियो।”
जयपुरी पनि गत पुसमा बिरामी भइन्। कोरोनाका लक्षण देखिए भने एक महीना थला परिन्। “कोरोना भनेपछि परिवारमा सबै डराउने गरेकाले परीक्षण गरिनँ,” जयपुरी भन्छिन्, “चिकित्सकहरूसँग सल्लाह गरेर आइसोलेशनमा बसें।”
चिकित्सकको निगरानीमा बसेकी उनले केही दिन औषधि पनि खाइन्। निको नहुन्जेल कसैसँग भेटघाट गरिनन्, कामबाट बिदा लिइन्। अहिले उनलाई लाग्छ, कोरोनालाई सामान्य जस्तो ठानिन्छ, तर त्यस्तो होइन। “कोरोनाका कारण पाँच जना आफन्त गुमायौं,” जयपुरी भन्छिन्, “सचेत बनौं, लक्षण देखिनासाथ परीक्षण गराऔं। समयमै उपचार गरौं, यसलाई सामान्य नठानौं।”