त्यसपछि लक्ष्मी हाँस्नै छाडिन्...
कृषि कर्ममा निर्भर भएकाले काभ्रेको पाँचखालस्थित देउभूमिकी लक्ष्मी खरेलको परिवार कोेभिड-१९ को पहिलो लहरमा लामो बन्दाबन्दी हुँदा पनि हाँसखेल गर्दै दैनिकी चलाइरहेको थियो। तर, कोभिड-१९ को दोस्रो लहरमा श्रीमान्को ज्यान गएपछि भने उनी हाँस्नै बिर्से जस्तो भएको बताउँछिन्।
लक्ष्मी भन्छिन्, “उहाँ (श्रीमान्)कै कमाइले घर-व्यवहार धानेको थियो। रुन मात्रै आउँछ।” अझ छोराको भविष्यलाई लिएर चिन्ता लाग्ने गरेको उनी बताउँछिन्।
लक्ष्मीका श्रीमान् यादव खरेलको १९ जेठमा कोरोनाबाट मृत्यु भएको थियो। त्यस यता आठ वर्षीय छोरा भुवनसँगै दैनिकी चलाइरहेकी उनी पीडाबाट उम्कन सकेकी छैनन्।
उनको परिवार कृषिकर्ममै निर्भर थियो। सबै कामकाज यादवले नै गर्थे। यादवको मृत्यु भएको चार महीना बितिसक्दा पनि उनले खेतीपाती सम्हाल्न सकेकी छैनन्।
बाली लगाउन नसकेको उनी बताउँछिन्। यससँगै उनीहरूको आम्दानीको बाटो पनि ठप्प भएको छ। “बिहान–बेलुकी खान पाएर मात्र छोरालाई पढाउन पाए हुन्थ्यो, तर कमाइ छैन, रोजगारी छैन,” लक्ष्मी भन्छिन्, “सहारा बनेकी सासूआमा पनि भर्खर बित्नुभयो।”
आर्थिक बोझसँगै लक्ष्मीलाई छोराको पढाइ बिग्रने चिन्ता बढेको छ। “घर चलाउनु कि छोरालाई एक्लै कसरी हुर्काउनु?” उनी भन्छिन्, “केही आड पनि भएन।”
बुबा गुमाएपछि भुवनको स्वभाव फेरिएको छ। उनले घर बाहिर निस्किन, साथीभाइसँग घुलमिल हुन, खानपिनमा रुचि देखाउन छाडेका छन्। “अहिले स्कूल जान थालेको छ,” लक्ष्मी भन्छिन्, “बुबा बितेको वेला त उसलाई पनि साह्रै गाह्रो भयो। त्यो पीडा सहन नसक्दा कोठा थुनेरै हात काट्यो।”
नगरून् पनि किन, उनको सबै थोक बुबा थिए। चार महीना अघि दिनको शुरूआत बुबाले ओछ्यानमै ल्याइदिने दूध खाएसँगै हुन्थ्यो। त्यसपछि उनलाई खाजा तयार पार्ने, विद्यालय पुर्याउने र साँझ घर ल्याउने काम पनि यादवले नै गर्थे।
बिहे गरेको १२ वर्षपछि जन्मिएका भुवनलाई यादवले निकै लाडप्यारले हुर्काएका थिए। कतिसम्म भने बोकेरै स्कूल लैजाने र ल्याउने गर्थे। भुवनलाई बुबा भए कोही पनि चाहिंदैनथ्यो।
बुबा बितेपछि शुरूआतका दुई महीना त भुवन पनि आमासँगै रुन्थे। “घरीघरी डाँको छाडेर रुन्थ्यो,” लक्ष्मी भन्छिन्, “अहिले बुबाको कुरा गर्दा कि भाग्छ, कि त कुना पसेर रुन्छ।”
भुवन पाँचखालकै देउभूमिस्थित आजाद माध्यमिक विद्यालयकोे कक्षा ४ मा पढ्छन्। उनी कक्षा प्रथम विद्यार्थी हुन्। तर, अहिले उनको ध्यान पढाइमा नजाने गरेको लक्ष्मी दुःखेसो गर्छिन्। “साँझ-बिहान घरमा बुबासँगै बसेर पढ्थ्यो। बुबा विना कुनै कुरामा उसको मन लाग्नै छाडेको छ। मेरो पनि पीर मान्छ,” लक्ष्मी भन्छिन्।
भुवनलाई कसरी पढाउने भन्ने चिन्ता थपिएको उनी बताउँछिन्। कृषि कर्म गर्न नसक्दा आयस्रोत पनि केही नभएको उनी सुनाउँछिन्। उनी भन्छिन्, “बिहान-बेलुकाको खाना त मागेर जोहो गर्दै छु, कसरी छोरो पढाउनु?”
यादवलाई कोभिड-१९ संक्रमण भएपछि अस्पतालमा उपचार गर्दा रु.दुई लाख ५० हजार सकिएको लक्ष्मीले बताइन्। काजकिरिया गर्दा रु.५० हजार ऋण लागेको छ।
एउटा लैनो भैंसी र तीन वटा बाख्रा छन्। घाँसपात गरिसकेपछि पनि छरछिमेकमा हिंडडुल गर्न मन नलाग्ने गरेको उनी बताउँछिन्। छरछिमेकी हाँसखेल गरेको देख्दा पनि चकित पर्ने गरेकी छन्। “मान्छे कसरी हाँस्न सकेका होलान् भन्ने लाग्छ। म पनि कुनै दिन हाँस्छु होला त?” उनी आफैंसँग प्रश्न गर्छिन्।
कोभिड-१९ बाट देशभर १० हजार ८०० भन्दा बढीले ज्यान गुमाएका छन्। करीब एक हजार दुई सय बालबालिकाले आमा वा बुबा गुमाएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्को १२ भदौसम्मको तथ्याङ्क अनुसार, २२० बालबालिका टुहुरा भएका छन्।
उनीहरूका लागि राज्यले आर्थिक सहयोगको योजना ल्याए पनि कार्यान्वयन हुन सकेको छैन। “सरकारले हेर्छ रे भनेको सुन्छु, तर कहिले हेर्छ, कसरी हेर्छ केही थाहा छैन। नगरपालिकाले त केही भन्दैन,” लक्ष्मी भन्छिन्।
कोभिड-१९ बाट अभिभावक गुमाएका बालबालिकालाई राज्यले संरक्षण गर्नुपर्ने राष्ट्रिय बाल अधिकार परिषद्ले कार्ययोजना बनाएको छ। त्यसलाई कार्यान्वयनमा ल्याउन बजेट माग गरिएको परिषद्का कार्यकारी निर्देशक मिलन धरेल बताउँछन्। शिक्षा र स्याहारसुसारका लागि वार्षिक ३० हजार सहयोग गर्ने योजना रहेको उनी बताउँछन्।