ज्ञानमणि नेपाल: खोज र अनुसन्धानका नेपाली अग्रदूत
ज्ञानमणि नेपालले नेपालको इतिहासलाई युगयुगान्तरसम्म अटल रहिरहनका लागि जुन मौलिक विचार पोख्नुभएको छ, ती विचारहरू सबै पक्षको लागि विचारणीय रहिरहून्।
'नेपालका निर्माता एकीकरणका अभियन्ता पथ्वीनारायण शाह जस्ता वीर सपुतका अवदानका कथा बिर्सेर उनका सजीव सालिक पनि उखेल्नु, फोर्नु चाहिँ अभूतपूर्ण अनौठो कुरा हो' भनेर आक्रोश पोख्दै इतिहासविद् ज्ञानमणि नेपाल लेख्नुहुन्छ- 'पृथ्वीनारायण शाहले आफ्ना विश्वासिला भाइभारदार भेला गरेर गृहनीतिभित्रको सुशासन, उपयुक्त न्याय व्यवस्था र घा- कटक सन्धि, परराष्ट्र नीति कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा अनुभवसिद्ध उचित नीति निर्धारण गरेर सल्लाह दिएका थिए। ठूला शक्ति राष्ट्रका बीचमा रहेको सानो राष्ट्रले कसरी आफ्नो स्वतन्त्र अस्तित्व जोगाएर राख्न सक्छ भन्ने असंलग्न स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न भनेका थिए। भीमसेन थापाको पतनपछि अंग्रेज रेजिडेन्ट हड्सनले नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका र विभेदकारी नीतिको परम्परा मौलाउँदै, सुस्ताउँदै शाहकाल, राणाकाल हुँदै प्रजातन्त्र, पञ्चायतकाल भएर अहिले गणतन्त्रकालमा झन् तीव्रतर भएको छ। वि. सं. १९०३ को कालो रातमा कोतमा ५५ जना भारदारलाई समाप्त पारेपछि जंगबहादुरको उदय भयो। उनले द्वैध चरित्र अपनाएर ब्रिटिश सरकारलाई प्रत्यक्षतः राजी नै राखे। ब्रिटिशलाई आपत् पर्दा सहयोग गरी (सुगौली सन्धिमा) गुमेका केही भूभाग फिर्ता लिए। ब्रिटिशलाई छल्दै भोटलाई काबुमा पारेर आर्थिक स्थितिमा सुधार ल्याए। पहिलो विश्वयुद्धमा चन्द्रशमशेरले अंग्रेजलाई सहयोग गरेकाले उनले जंगबहादुरको पाला जस्तै (महाकालीदेखि काँगडासम्मका) गुमेका जमीन पाउने अपेक्षा गरेका थिए। तर, जंगबहादुरले पाएको जग्गा राप्तीदेखि महाकाली)को आयस्ता हिसाब गरी त्यत्तिकै रकम दिएर अंग्रेजले मुखबुझो लाइदियो। अब भारतमा नेहरू गान्धी परिवारको शासन समाप्त भएको छ। अब पञ्चशीलको आधारमा इतिहासको सिंहावलोकन गरेर नेपाल-भारत बीचमा सन्धि गर्न सक्षम होलान् वर्तमान शासकहरू?' भन्ने प्रश्न गर्दै यसरी बोल्ने र लेख्ने गर्नुहन्छ ज्ञानमणि नेपाल।
ज्ञानमणि नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताको रूपमा मान्नुपर्छ। भोजपुरमा जन्मिएर खोटाडमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गरेर काठमाडौंमा आएर इतिहासप्रति अभिरुचि राखेर, ज्ञानमणिजीले जुन अध्ययन गरेर अनेकौं कृति प्रकाशन गर्नुभएको छ, त्यो नेपालको सम्पत्ति बन्न पुगेको छ। उहाँले नयराज पन्तसँगको विद्याउपार्जन गर्ने जुन मौका पाउनुभयो, त्यो उहाँको जीवनको सफलताको बाटो बन्न पुग्यो।
भोजपुरमा जन्मिएर खोटाडमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गरेर काठमाडौंमा आएर इतिहासप्रति अभिरुचि राखेर, ज्ञानमणिजीले जुन अध्ययन गरेर अनेकौं कृति प्रकाशन गर्नुभएको छ, त्यो नेपालको सम्पत्ति बन्न पुगेको छ।
पण्डित नयराज पन्तका चेलाहरू धनवज्र वज्राचार्य र उनका छोरा महेशराज पन्त र दिनेशराज पन्तसँगको संगतले ज्ञानमणिजीलाई अध्ययनमा विशिष्टीकरण गर्ने मौका मिल्न गयो। नयराज पन्तको सक्रियतामा उहाँहरूलाई इतिहास-संशोधन मण्डल खडा गरी त्यसबाट नेपालको सत्य र तथ्य इतिहासका सामग्री खोज्न जुन कार्यहरू भए, यी आज नेपालको सम्पत्ति भएका छन्। उहाँले २० वटा भन्दा बढी पुस्तक प्रकाशन गरिसक्नुभएको छ। उहाँका पुस्तकमा इतिहास लगायत वर्तमान अवस्थाको विश्लेषण गरेर लेखिसक्नुभएको छ। उमेरको हिसाबले उहाँ ८८ वर्ष काटिसकेता पनि उहाँमा अझै उत्साह र जाँगरले छोडेको छैन।
ज्ञानमणिजीले लेख्नुभएको पुस्तक नेपाल-भोटचीन सम्बन्धका कही सांस्कृतिक पक्ष पुस्तक पढेर म उहाँको गहन अध्ययन र प्रस्तुतिबाट सारै प्रभावित भएको थिएँ। उहाँका पुस्तकहरूमध्ये नेपालको पूर्व मध्यकालको इतिहास पनि सारै मिहिनेतसाथ लेख्नुभएको कृति हो। ज्ञानमणिजीले प्रकाशन गर्नुभएका ग्रन्थहरूमा नेपालको महाभारत अत्यन्त चर्चित र महत्त्वपूर्ण पुस्तक हो।
इतिहास लेखनमा गहन अध्ययन र खोजको आवश्यकता पर्दछ। विक्रम संवत् २०५१ साल भदौमा प्रज्ञा-प्रतिष्ठानको प्राज्ञमा नियुक्त भएपछि ज्ञानमणिजी नेपालका चाडपर्वहरू, सामाजिक जीवनतर्फ राउटे, झागड जातिबारेका अनुसन्धान गर्न लगाएर कतिपय कृतिहरू प्रकाशित भएका छन्। वि.सं. २००९ सालदेखि योगी नरहरिनाथ, नयराज पन्त, धनवज्र वज्राचार्य, शंकरमान राजवंशी जस्ता इतिहासविद्, खोजकर्ताहरूसँगको सत्संगत उहाँको लागि प्रेरक थियो। उहाँहरूसँग इतिहासको खोज र प्रस्तुतिमा समर्पित भई अध्यावधि उहाँ सक्रिय हुनुहुन्छ।
वि.सं. २००९ सालदेखि योगी नरहरिनाथ, नयराज पन्त, धनवज्र वज्राचार्य, शंकरमान राजवंशी जस्ता इतिहासविद्, खोजकर्ताहरूसँगको सत्संगत उहाँको लागि प्रेरक थियो। उहाँहरूसँग इतिहासको खोज र प्रस्तुतिमा समर्पित भई अध्यावधि उहाँ सक्रिय हुनुहुन्छ।
उहाँबारे इतिहासविद् डा. जगदीशचन्द्र रेग्मीले लेखेका छन्- 'जैसी कोठामा पोका-पोकामा बन्द अप्रकाशित लालमोहर र कागतपत्रहरू कुनै उपाय लगाएर महीनौं-वर्षौं त्यहाँ धाएर, सारेर ल्याई प्रकाशन गर्ने केही थोरै इतिहासकारहरूमा ज्ञानमणि एक हुन्।' केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालयका हरेक पुस्तकका दराजहरूसँग परिचित ज्ञानमणिजीले रामायणलाई आ-आफ्नै पाराले लेखिएका बाल्मीकि रामायण, भानुभक्त रामायण, अध्यात्म रामायण, तुलसीकृत रामायण, कैयौं मतमतान्तर बारेमा अत्यन्त राम्रो अध्ययन गर्नुभएको छ। ज्ञानमणिजी इतिहासको खोजमा मात्र नलागेर अध्यात्मवादका व्याख्याकार र सिद्धहस्त लेखक पनि हुनुहुन्छ। उहाँका नेपालको मौलिक इतिहास निर्माणमा कैयौं ग्रन्थ प्रकाशन भइसकेका छन्।
ज्ञानमणिजी पञ्चायती व्यवस्थासँग केही मात्रामा पूर्वाग्रही हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेसका नेता बीपी कोइरालासँग प्रभावित भएकाले २०१७ साल पौष १ को काण्डसँग पनि सन्तुष्ट हुनुहुन्नथ्यो। तथापि उहाँले आफ्नो पुस्तक 'नेपाल निरुक्त'मा इतिहाससँग सम्बन्धित भएकाले श्री ५ को श्रीपेचको विषयमा यसरी उल्लेख गर्नुभएको छ- 'हाम्रो राष्ट्रको श्रीपेच अरु देशका राजाहरूको भन्दा सुन्दर र आकर्षक छ। यसको बनोटमा श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको पालादेखि नै समय समयमा संस्कार हुँदै श्री ५ पृथ्वी वीरविक्रमका पालामा वर्तमान रूपमा परिणत भएको हो। श्रीपेचको निर्माणमा तास कुचीन मखमलको कपडामा हीरामोती, पन्ना, माणिक आदि रत्न जडिन्छन्, जडिएका छन्। हुमायु चराको प्वाँखको सुन्दर कल्की माथितिर ठडाएर सिउरेको हुन्छ। अगाडिपट्टि हीरा, पन्नाद्वारा पाँच चाँद अंकित गरिएका छन्। चाँदको मुनि चारैतिर सुनका जवाहरत जडिएको चराको चुच्चो अंकित छ। त्यही चराको पुच्छरको रूपमा हुमायु चराको अति सुन्दर धनु आकारको कल्की घुँघुरिएर ठडिएको छ। राजमुकुटको रूपमा यस श्रीपेचको सर्वोच्च स्थान छ।' यसरी नेपालमा राजाको श्रीपेच बारेमा कतै उल्लेख नभएको कुराको यथार्थ चित्रण उहाँले गर्नुभएको छ।
ज्ञानमणिजी पञ्चायती व्यवस्थासँग केही मात्रामा पूर्वाग्रही हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेसका नेता बीपी कोइरालासँग प्रभावित भएकाले २०१७ साल पौष १ को काण्डसँग पनि सन्तुष्ट हुनुहुन्नथ्यो।
उहाँ विक्रम संवत् २०५१ साल भदौमा प्रज्ञा-प्रतिष्ठानको प्राज्ञमा नियुक्त भएपछि चीनको भ्रमणको सिलसिलामा नेपालको आफ्नो पहिचान स्वरूप दौरा-सुरुवालमा सजिएर भ्रमणमा जानुभएकोमा उहाँलाई चीनमा सम्मान प्राप्त भएकोमा आफू सन्तुष्ट भएको कुरा आफ्नो अनुभव पोख्नुभएको छ- 'हामी चीन पुगेको रात आफ्नै गल्तीले ढिलो पुग्यौं। हामीलाई वल्कन आएका चिनियाँ साहित्य मण्डलका सदस्य फर्केर गइसकेकाले चिसो पेटीको भुइँमा डल्लिरहेका थियौं। पछि चीनमा फोन गरेपछि पुनः आएका सदस्यले भौंतारिएर हामीलाई नचिनेर निहालिरहेको वेला मलाई (दौरा-सुरुवाल लगाएको नेपाली) देखेर 'ओः नेपाली शिष्टमण्डल' भनेर चिने। मैले चीन भ्रमणमा नेपाली पोशाक पहिरिएकोमा जनस्तरबाट पनि, सरकारी स्तरबाट पनि सम्मान पाएको अनुभव गरें।' जीवनभर राष्ट्रिय पोशाकलाई महत्त्व दिन रुचाउने ज्ञानमणिजी नेपालको पहिचान प्रस्तुतिका कर्णधार हुन्।
हुने विरुवाका चिलो पात भने झैं भोजपुरबाट काठमाडौं आउनुभन्दा पहिला ज्ञानमणि नेपालले गाउँकै पाठशालामा मध्यकौमुदी, रघुवंश, अमरकोष, किरातार्जुनीय, चाणक्य नीति, हितोपदेश, पञ्चतन्त्र आदि प्राचीनकालीन धार्मिक पुस्तकहरू कण्ठाग्र गरिसक्नुभएको थियो।
उहाँको एउटा अहोभाग्य हो कि उहाँका पितामह पण्डित वैयाकरण उपाध्याय प्रकाण्ड विद्वान्, त्यागी, चरित्रवान्, निष्ठावान् हुनुभएकाले ज्ञानमणिजीलाई जीवनलाई सिर्जनात्मक बाटोमा ढाल्न सजिलो हुनगयो। उहाँका पितामह वैयाकरण बारेमा इतिवृत्तान्त कवि भुवनहरि सिग्देलले वैयाकरण महाकाव्य नै प्रकाशन गर्नुभएको छ। ज्ञानमणिजीले पनि पितामह वैयाकरण बारेमा ३०० पृष्ठको पुस्तक लेख्नुभएको छ। भोजपुरमा जन्मिहुर्केका नेपाल परिवारबाट नेपालको प्रतिष्ठा र महिमा जगाउन जुन योगदान भएको छ, त्यो सबैको लागि अनुकरणीय छ। भोजपुर, खोटाङमा आफ्नो पृष्ठभूमि बनाइसकेपछि वि.सं. २००४ सालमा काठमाडौं आएपछि रानीपोखरी संस्कृत पाठशालामा धेरै सजिलो बन्न पुगेकाले उहाँकै विद्वताकै कारण नयराज पन्त, शेषराज रेग्मी जस्ता विद्वान्हरूको नजरमा उहाँ प्रिय बन्न सक्नुभयो। २०१२ सालपछि उहाँ गाउँमा नै गएर पाठशाला खोल्नुभयो। उहाँ निडर पनि भएको र ताकेको काम पूरा गरिछाड्ने बानीले गर्दा पनि जीवनमा उहाँले सर्वाधिक सफलता हासिल गर्न सक्नुभएको हो।
ज्ञानमणि नेपाल आध्यात्मिक अध्ययन, इतिहासको खोजमा मात्र सीमित नरहेर नेपालको राजनीतिक परिवर्तन र व्यवस्थाहरूसँग धेरै जिज्ञासु हुनुहुन्छ।
ज्ञानमणि नेपाल आध्यात्मिक अध्ययन, इतिहासको खोजमा मात्र सीमित नरहेर नेपालको राजनीतिक परिवर्तन र व्यवस्थाहरूसँग धेरै जिज्ञासु हुनुहुन्छ। विभिन्न पत्रपत्रिका र विश्लेषणहरूलाई आधार बनाएर गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म- संघीयताको समस्या र समीक्षा भन्ने हालै प्रकाशित पुस्तकमा उल्लेख गर्नुभएको छ- 'नेपाललाई संघीय प्रणालीमा लैजानका लागि विदेशी तत्वले अर्बौं धन खर्च गरिसकेका छन्। अरु साम्प्रदायिक र कूटनीतिक तत्वहरूले तथा सीआईए आबद्ध सत्रीहरूकाले वर्षौं पहिलादेखि नेपालमा धन मात्र पेलेको छैन, भेदनीति, कूटनीति पनि खेलेको खेल्यै छ, कृत्यपक्ष उचालेको उचाल्यै छ- जातीय विद्रोह उफ्स्याउनलाई। यो देश सधैं सार्वभौमसत्ता सम्पन्न, एकात्मक, अखण्ड, सर्वत्र स्वतन्त्र सक्षम बनिरहोस्, कहिले अर्काको प्रयोगशाला नबनोस्। अफ्रिकामा जातीय आधारमा संघीयतामा गएको गरीब राष्ट्र इथियोपिया जातीय द्वन्द्वले दशौं लाख नरसंहार निम्त्याएपछि विखण्डन र विकराल समस्या भोगिरहेको छ। भारतको दृष्टान्त देखेर प्रजातन्त्री देशमा संघीयता फाप्छ भनेको हो भनौं भने भारतको र नेपालको परिस्थिति आकाश-जमीनको फरक छ। नेपालको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक एकात्मकता अनेकतामा एकता भन्ने जड कुरा दुई हजार वर्षको इतिहास सूत्रबद्ध भइआएको मूल हो, यस हिमवत्खण्डको एकता शाश्वत हो।'
ज्ञानमणिजी लेख्नुहुन्छ- 'जातीय द्वन्द्वले कुनै देशमा भलो हुँदैन। जातीय द्वन्द्वमा परेर धेरै देशमा लाखौं जनता मरेका छन्। छिमेकी भारतकै इतिहास हेरौं- ब्रिटिश उपनिवेश हुँदा उसले धार्मिक द्वन्द्व चर्काइदियो। विश्वका जातीय, क्षेत्रीय, धार्मिक द्वन्द्वपीडित देशहरूबाट शिक्षा लिएर त्यस्तो स्थिति आउने बाटो पहिल्यै छेक्नुपर्छ। देशलाई जातीय संघीयताको भड्खालोतिर लानुहुँदैन। अहिलेका अदूरदर्शी, बाह्य शक्तिबाट परिचालित, निर्णय क्षमता नभएका नेताहरूले संघीयताको जस्तो मुलुक र जनताको जीवनमा दीर्घकालीन असर पर्ने विषयको गाम्भीर्यलाई आकलन नै गर्न सकेका छैनन्।'
यसरी ज्ञानमणि नेपालले नेपालको इतिहासलाई युगयुगान्तरसम्म अटल रहिरहनका लागि जुन मौलिक विचार पोख्नुभएको छ, ती विचारहरू सबै पक्षको लागि विचारणीय रहिरहून् भन्ने अभिप्राय राखेको छु। ज्ञानमणि नेपाल २०७८ सालमा ९० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ। ज्ञानमणि नेपाल जस्ता गहन अध्ययन गरेर नेपालको हितमा समर्पित देशभक्तहरू भावी पुस्तामा देख्न पाइयोस्।
ज्ञानगुन प्रकाशनबाट प्रकाशित 'ज्ञानगुनका कुरा' पत्रिकाको ज्ञानमणि नेपाल अंक (२०७७ साल) बाट साभार।