'हाम्रो इतिहासमा को सुपात्र र को कुपात्र कसैलाई थाहै छैन'
१७ माघ १९८९ (वसन्त पञ्चमी) मा जन्मिएका इतिहास र संस्कृतिका अध्येता ज्ञानमणि नेपालले आजबाट ९०औं वसन्तमा पाइला राखेका छन्। उमेरको यो घुम्तीमा आइपुग्दा इतिहास अध्ययनको आफ्नो नियमित कर्मबाट उनी थाकेका छैनन्, निरन्तर लागिपरेका छन्। नेपाली इतिहास अन्वेषणमा गर्नुपर्ने र थाती रहेका काम अघि बढाउने र पार लगाउने हतारोले छोपेको छ। गुरुकुल शिक्षा प्रणालीबाट आएका तथा संशोधन-मण्डलका पूर्व सदस्य नेपाल इतिहास अन्वेषणबाट प्राप्त तथ्यलाई सम्पादन नगरी यथारूपमा बाहिर ल्याउने ऐतिहासिक मानिन्छन्। उनका नेपाल निरुक्त (२०४०), नेपाल-भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष (२०४५), नेपालको महाभारत (२०५०), नेपालको पूर्वमध्यकालको इतिहास (२०५४), मेरो गुरुकुलीय शिक्षा र सहपाठी (२०५४), नेपालनिरूपण (२०५५), नेपालको माध्यमिक कालको इतिहास (२०६२), अतीतका स्मृति र अनुभूतिः विश्वेश्वरदेखि वीरेन्द्रसम्म (२०६५) नेपाल र चीन-तिब्बत सम्बन्धको समीक्षात्मक इतिहास (२०७३) लगायत तीन दर्जन कृति प्रकाशित छन्। उनै अध्येता नेपालसँग उनको जन्मोत्सवको सन्दर्भ पारेर जीवन कार्कीले गरेको कुराकानी:
९०औं जन्मोत्सवको धेरै शुभकामना। आजकाल के गर्दै हुनुहुन्छ?
धन्यवाद। आफूले लेखेका पुस्तकहरू शुद्ध्याउँछु। पुनःमुद्रणका लागि प्रेसमा गएका पुस्तक हेर्ने र मिलाउने गरिरहेको छु। नयाँ लेख पनि लेख्छु।
इतिहास केलाउने व्यक्ति आफ्नै जीवनको अतीततिर विचरण गर्दा मनमा के कुरा खेल्छन्?
मैले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल र एशियाली अध्ययन केन्द्र (सिनास) मा २०३५ सालदेखि १७ वर्ष काम गरें। त्यस अवधिमा १३ वटा पुस्तकको पाण्डुलिपि तयार पारेको थिएँ। तर, ती सबै त्यहींबाट हराए। यस्तै, नेपाल प्रज्ञा-प्रतिष्ठानमा पाँच वर्ष बसें। त्यहाँ रहँदा पनि अरूलाई काम लगाएर धेरै पुस्तक तयार पारें। आफ्ना पनि तीन-चार वटा पाण्डुलिपि तयार भएका थिए। सङ्गृहीत सामग्री कुनै अरूले नै आफ्नो नाउँमा छपाए त कुनै हराए। धेरै सङ्गृहीत दस्तावेज र लेखेका सामग्री २०७० सालको चैत्रमा मेरा घरमा लागेको आगलागीमा परी नाशिए। यस्तै यस्तै सङ्घर्ष र पीडाका कुरा मनमगजमा आउँछन्। यिनै अनुभव र सम्झनालाई लिपिबद्ध गर्नुपर्यो भनेर पछिल्लो समय आत्मकेन्द्रित भएर लेख्न थालें। २०६५ सालमा प्रकाशित सानो पुस्तकमा धेरै कुरा थपेर स्मृति र अनुभूतिः विश्वेश्वरदेखि विभूतिसम्म पुस्तक तयार पारेको छु। प्रकाशोन्मुख यो कृति ६०० पृष्ठ जत्तिको छ।
सङ्गृहीत सामग्री कुनै अरूले नै आफ्नो नाउँमा छपाए त कुनै हराए। धेरै सङ्गृहीत दस्तावेज र लेखेका सामग्री २०७० सालको चैत्रमा मेरा घरमा लागेको आगलागीमा परी नाशिए। यस्तै यस्तै सङ्घर्ष र पीडाका कुरा मनमगजमा आउँछन्। यिनै अनुभव र सम्झनालाई लिपिबद्ध गर्नुपर्यो भनेर पछिल्लो समय आत्मकेन्द्रित भएर लेख्न थालें।
सामग्री जुटाउन तथा अभिलेख र कागजात केलाउन यो उमेरमा शारीरिक रूपमा सहज वा असहज के छ?
नयराज पन्त गुरुको पाठशालामा पढ्दा पहिले हामी अनुसन्धान गर्न धेरै ठाउँ चहार्यौं, २००८ सालदेखि २०१२ सम्म। त्यस क्रममा नयाँ नयाँ शिलालेख खोज्ने, विदेशीले लेखेका अशुद्धी शुद्ध्याउने काम गर्यौं। त्यसमा मेरा साथी धनवज्र वज्राचार्य पनि थिए। हामी दिउँसो काठमाडौं महाबौद्ध नजिकै मासंगल्ली चोकमा गुरुसँग बसेर पढ्थ्यौं। त्यहाँ दिव्यवज्र वज्राचार्यको मतान घरमा पाठशाला चलाइएको थियो। बिहान र बेलुका म ब्रह्मचर्य आश्रममा पढाउँथें। बिदाको दिन हामी अनुसन्धानका लागि कहाँ पुग्थ्यौं, ठेगान हुँदैनथ्यो।
यो उमेरमा आइपुग्दा काम निरन्तर गरिराखेकै छु। आँखा र कान कमजोर छैनन्। हिंडडुल गर्न चाहिं अहिले अलि नसक्ने भएँ। दुई-तीन वर्षअघि चाहिं हिंड्थें। घर (कलंकी) बाट त्रिविको पुस्तकालयमा पैदलै जान सक्थें। पछि नसक्ने भएँ। सामग्री जुटाउन हिंडडुल गर्न सकेको वेला तिनै कुरा केलाएर लेख्थें। नसकेपछि पछिल्ला वर्षहरूमा आत्मकेन्द्रित भएर लेख्न थालेको हुँ। समसामयिक लेखहरू पनि लेख्ने गर्छु।
अन्वेषकहरू लामो समय एकै ठाउँमा बन्द भएर खोजखाजमा रमाउन सक्छन्। तर, पछिल्लो समय कोभिड-१९ महामारीले बाध्यात्मक एकान्तवास निम्त्यायो, यसले अन्वेषणको कामलाई कति दखल पार्यो?
महामारी नियन्त्रण गर्न पहिलो पटक चैत २०७६ मा बन्दाबन्दी गरिएपछि मलाई लेखपढ गर्न गाह्रो भयो। लगभग ६ महीना अलि उकुसमुकुस र तनाव जस्तो गरायो। सोच नै खलबलिएपछि त्यो समयमा मैले लेख्नै सकिनँ। पुस्तक हेरेर मात्र बसें। यताउति हिंडडुल गर्नै पाइएन। विश्वविद्यालय र अभिलेखालयतिर जान सम्भव भएन। महामारीले अन्वेषणको काममा असर पार्यो।
प्रकाशनको तयारीमा रहेको तपाईंको पुस्तक पनि महामारीका कारण अड्कियो। अहिले कुन अवस्थामा छ?
स्मृति र अनुभूतिः विश्वेश्वरदेखि विभूतिसम्म पुस्तक पैरवी बुक्सबाट प्रकाशनको तयारीमा छ। अगाडि नै छापिनुपर्ने हो पुस्तक, यो महामारी र मेरो कारणले पनि अलि अल्झिन पुगेको हो। पैरवीबाट मेरा अन्य पुस्तक पनि पुनःमुद्रण हुँदै छन्। नेपाल-चीन सम्बन्धका सांस्कृतिक पक्ष, संगीत लहरी, तीन देशको यात्रात्रयी, मेरो गुरुकुलीय शिक्षा र सहपाठी, गोपालन नीप गणतन्त्र: संक्षिप्त इतिवृत्त आउँदै छन्। साझा प्रकाशनलाई पनि पुन:मुद्रणका लागि दुई पुस्तक नेपालको महाभारत, भोट चीन सम्बन्धी केही सांस्कृतिक पक्ष बुझाइसकेको हुँ। मकालु प्रकाशनबाट पनि मेरा कृतिहरू बेताल पच्चिसी र माध्यमिक कालको इतिहास पुनर्मुद्रण भइसकेका छन्।
बौद्धिक चोरीबाट इतिहास क्षेत्र नराम्ररी ग्रस्त छ। चोरीले मलाई धेरै पीडा दिएको छ। माथि मैले चर्चा गरें, विश्वविद्यालयमा पनि चोरेकै छन्, एकेडेमीमा पनि चोरेकै छन्। आफ्नै साथीभाइले चोर्छन्, अरूलाई के भन्नु!
तपाईंले आफ्नो पाण्डुलिपि र सङ्गृहीत सामग्री चोरी भएको कुरा गर्नुभयो। चोरिने रोगबाट इतिहास-संस्कृति क्षेत्र कति पीडित छ?
बौद्धिक चोरीबाट इतिहास क्षेत्र नराम्ररी ग्रस्त छ। चोरीले मलाई धेरै पीडा दिएको छ। माथि मैले चर्चा गरें, विश्वविद्यालयमा पनि चोरेकै छन्, एकेडेमीमा पनि चोरेकै छन्। आफ्नै साथीभाइले चोर्छन्, अरूलाई के भन्नु! मेरा १३ वटा पुस्तक विश्वविद्यालयमा कसले चोर्यो त? १७ वर्षसम्म मैले रगत-पसिना बगाएर राति १२ बजेसम्म लेखें, बिहान पनि ५ बजे नै उठ्थें। त्यसरी मैले लेखेका र त्यहाँ थन्क्याएका किताब अहिले गएर खोज्नुभयो भने एउटा पनि भेट्नुहुन्न। त्यसपछि एकेडेमीमा गएँ, मैले कत्रो मिहिनेत गरेर लेखेको किताब अरूले आफ्नो नाउँमा छापे।
मैले दुई वर्ष लगाएर नेपाल तिब्बतमा क्रिश्चियन पादरीको यात्रा वर्णन पुस्तक तयार पारेको थिएँ। त्यो इटाली भाषामा थियो। त्यसको अनुवाद गराएँ, त्यसलाई मूल्याङ्कन गर्न इटाली पठाएँ। आफूले पनि हेरेर शुद्ध बनाएँ। त्यसरी राखेको अवस्थामा तीन जनाले आफ्नो नाउँमा छापेका छन्।
अर्को चाहिं, बाह्रौं शताब्दीमा नेपाल, भोट र भारत भ्रमण गरेका धर्मस्वामी भन्ने तिब्बती लामाले यात्रा वर्णन लेखेका रहेछन्। त्यसलाई मूल तिब्बती भाषाबाटै अनुवाद गराउनुपर्यो भनेर खोजें, भेटिएन। एक रसियालीले तिब्बतीबाट अंग्रेजीमा अनुवाद गरेको पुस्तक पाइयो। एकेडेमीकै आफ्नो सहयोगीबाट अनुवाद गराएर राखेको थिएँ। मिश्र नामका कुनै व्यक्ति आएर लगेछन् र आफ्नो नाउँमा छापेछन्। एकेडेमीकै उपकुलपतिलाई भूमिका पनि लेखाएछन्। उपकुलपतिले पनि ‘ओहो! यस्तो किताब लेख्ने मान्छे, राजाले पनि सम्मान गर्नुपर्ने मान्छे’ भनेर लेखिदिएछन्।
भारतमा पनि मैले यस्तो भोगें। लिच्छविकालको प्राचीन इतिहासमा नयाँ प्रकाश भन्ने पुस्तक छपाउन प्रेसमा छोडेर आएको थिएँ। अर्को वर्ष जाँदा त प्रेसले पुस्तक नै छापेको छैन। प्रेसवालाले आलटाल गर्यो, यता-उता खोजे जस्तो गर्यो। अनि भन्यो, ‘धमिराले खायो होला।’ उसले कसलाई बेच्यो वा दियो होला। अनुसन्धान भनेपछि जहाँ पनि जोगाउनै गाह्रो पर्छ।
सामग्री जुटाउन कहाँ कहाँ चहारिनँ म? अभिलेखालय, परराष्ट्र मन्त्रालयको पुराना सामग्री राख्ने ठाउँ (जसलाई राणाकालमा मुन्सीखाना भनिन्थ्यो), कौषी तोषाखाना, मालपोत कार्यालयहरूमा मैले चार-पाँच वर्षसम्म धूलो पन्छाउँदै कागजात केलाएर ऐतिहासिक सामग्री सङ्ग्रह गरें। चार भाग बनाएको थिएँ, पहिलो भाग ८०० पृष्ठको र अरू चार-पाँच सय पृष्ठका थिए। राम्रो छपाउँछु भनेर सिंहदरबार छापाखानामा पठाएँ। त्यहाँबाटै विश्वविद्यालयको मान्छे हुँ भन्ने व्यक्तिले विश्वविद्यालयको छाप भएको चिठी लिएर सबै लगेछन्।
मैले बौद्धिक चोरीको कुरा गर्दा मेरा गुरु नयराज असाध्यै दुःखी बन्नुहुन्थ्यो। त्यस्तै वेलामा उहाँले एउटा कविता नै लेख्नुभएको छः
अरूहरूका रचनाहरूकन
सारेर मेरै कृति हुन् भनीकन
छपाउने काम गर्न जान्दछ
प्रकाण्ड अन्वेषक भई कमाउँछ।
भारतमा अंग्रेज शासकले प्रतिलिपि अधिकारको नियम असाध्यै कडा बनाएको थियो। ठूला पुस्तक चोरिए, त्यसको प्रमाण छ, भर्पाई छ भने १० लाखसम्म जरिवाना र कैद पनि हुन्थ्यो। यहाँ ब्रिटिश इन्डियाको जस्तो नियम लगाउने हो भने त बौद्धिक भनाउँदा धेरै जना थुनिन्छन्।
अनुसन्धान गरेर जम्मा पारेका कुरा चोरिएपछि तपाईंले पुनर्लेखन गरेर पुस्तक निकाल्नुभएको थियो, हैन?
विश्वविद्यालयमा काम गर्दा मैले अरूले नगरेका, तथा गर्न नसकेका इतिहासका अप्ठेरा पक्ष अध्ययन गरेको थिएँ। पूर्व मध्यकालको इतिहासमा मान्छेहरूले अन्धकार युग भनेर हात हालेका थिएनन्। विदेशीले अलि अलि लेखेका थिए। मेरो पूर्व मध्यकालको इतिहास पुस्तक तयार भयो। पछि आधुनिक कालमा नेपालको महाभारत लेखें। त्यसमा पृथ्वीनारायण शाहदेखि जंगबहादुर राणासम्मका बारेमा लेखिएको छ। जंगबहादुरको बारेमा लेखेको थिएँ, त्यो नेपाल र एशियाली अनुसन्धान केन्द्र, सिनासमै गायब गरियो । त्यहाँ छँदा मैले लेखेका लगभग सबैजसो पाण्डुलिपि हराए वा चोरी भए। मैले नेपाल-चीन सम्बन्धको पक्षमा चार भाग लेखेको थिएँ। त्यसमा अभिलेखहरू पनि थिए। ती भने हराए पनि मैले आफूसँग भएका खेस्राबाट पुस्तक तयार पारेर भृकुटी प्रकाशनबाट २०७३ सालमा प्रकाशन भएको छ।
मान्छेहरू अध्ययन गर्दैनन्, यस्तो र उस्तो भनेर हिंड्छन्। मैले १० वर्ष लगाएर मिहिनेत गरी नेपाल शब्दको व्याख्या गर्दै नेपाल निरुक्त भन्ने पुस्तक लेखें। अस्ति केही व्यक्तिले नेमुनिले पालेको भएर नेपाल बनेको भनेर लेखिदिएछन्। नेमुनि कहाँ थिए? कहिले थिए?
तपाईंले उत्कट रूपमा गाँठो फुकाउन चाहेको तर बाँकी रहेको इतिहास अध्ययनको विषय छ कि छैन?
किन नहुनु, प्रशस्त छन्। इतिहास अध्ययन हुन नसक्नुको कारण, कतिपय सामग्री भेटिन्छन्, कति भेटिंदैनन्। खोज्ने मान्छे पनि कोही छैन। मान्छेहरू अध्ययन गर्दैनन्, यस्तो र उस्तो भनेर हिंड्छन्। मैले १० वर्ष लगाएर मिहिनेत गरी नेपाल शब्दको व्याख्या गर्दै नेपाल निरुक्त भन्ने पुस्तक लेखें। अस्ति केही व्यक्तिले नेमुनिले पालेको भएर नेपाल बनेको भनेर लेखिदिएछन्। नेमुनि कहाँ थिए? कहिले थिए? एक अक्षरको नाम भएका मुनि थिए कि थिएनन्, मैले सबै पढिसकेको छु। चार वेद, अठार वटा स्मृति, अठार पुराण, महाभारतका अठार पर्व आदि कतै पनि नेमुनिको कुनै चर्चा छैन। कसैले कल्पना गरेको, दन्त्यकथा र मिथक जस्तो कुरा लिएर लेखिदिएको छ।
नेपाली इतिहास अन्वेषणको वर्तमान अवस्था कत्तिको चित्तबुझ्दो देख्नुहुन्छ?
अहिले त चिन्ताजनक छ। पुराना लिपि चिन्ने मान्छे नै छैनन्। नेवारी अक्षरमा रञ्जना लिपि छ, रञ्जनापछि भूजीमोल, पाचुमोल लगायत आठ वटा लिपि छन्। त्यो सबै जान्नुपर्यो। त्यो जान्ने मान्छे अहिले कोही पनि छैनन्। मैले राष्ट्रिय अभिलेखालयबाट पुरानो पुस्तक लिएर आएको छु। तर, त्यसको अक्षर पढ्दिने मान्छे छैनन्। २०-२५ हजार श्लोक भएको ठूलो छ पुस्तक। आफू एक्लैले कहिले पढेर सक्नु, कसलाई पढ्न लगाउनु? अक्षर चिन्ने, अनुसन्धान गर्ने मान्छे कोही छैन। फाइँफुट्टी गर्नेहरू मात्र छन्।
हाम्रा विश्वविद्यालयका अन्वेषकहरूको क्षमता चाहिं कस्तो छ नि?
विश्वविद्यालयका प्राध्यापकहरूलाई विदेशीले लेखिदिएको कुरा पाएपछि भइहाल्छ। तिनीहरूको काम विदेशीले लेखेका कुरा सार्ने हो। कर्कप्याट्रिकले के लेख्यो, ह्यामिल्टनले के लेख्यो, त्यही कुरा सार्छन्। सिनासले नेपालको बृहत् राष्ट्रिय इतिहास निर्माणको काम अघि बढाएको थियो, त्यत्रो चर्चा भयो त्यसको। माधवराज पाण्डे र धनवज्र वज्राचार्यले शुरू गरेका थिए, तर उनीहरूलाई त्यहाँ ढिम्किनै दिएनन्।
विश्वविद्यालयका अहिलेकाअधिकांश प्राध्यापकहरू आफूले गरेको अनुसन्धान छाप्दैनन्। त्यसैले कसले कुन विषयमा के गरेको छ भन्ने थाहा नै हुँदैन । जागीर खाए, रिटायर्ड भए, सकियो। त्यसो हुँदा कताबाट चोरेर हो वा आफ्नै बलमा विद्यावारिधि गरेका हुन्, उनीहरूको विद्वत्ता र क्षमतामा शङ्का हुने भयो। लेखे पनि उनीहरूले सय-सवा सय पृष्ठका किताब लेखेका छन्, ती पनि दुई-तीन जना मिलेर लेखेका छन्। नयाँ कुरा केही पनि छैन। अहिले खोजी गर्ने त पद्धति नै छैन। विश्वविद्यालयमा इतिहास पढ्ने मान्छे छँदै छैनन् भन्दा हुन्छ। जागीर खाने मेलो चाहिं होला, विद्यार्थी छैनन्। जिज्ञासु प्रवृत्ति नै छैन।
विश्वविद्यालयका अहिलेकाअधिकांश प्राध्यापकहरू आफूले गरेको अनुसन्धान छाप्दैनन्। त्यसैले कसले कुन विषयमा के गरेको छ भन्ने थाहा नै हुँदैन । जागीर खाए, रिटायर्ड भए, सकियो। त्यसो हुँदा कताबाट चोरेर हो वा आफ्नै बलमा विद्यावारिधि गरेका हुन्, उनीहरूको विद्वत्ता र क्षमतामा शङ्का हुने भयो।
इतिहासकारहरूको असावधानीले इतिहासको उपहास कति भएको छ?
इतिहासको त बिजोग भएको छ। हाम्रो इतिहासमा अध्येता भन्नेहरूले नै जथाभावी रूपमा लेखेका छन्। विश्वविद्यालयका मान्छे पनि त्यस्तै छन्, दरबारको इतिहास लेख्ने पनि त्यस्तै छन्। कुपात्रलाई सुपात्र र सुपात्रलाई कुपात्र बनाउँछन्। म एक जनाले त्यो शुद्ध्याएर सक्दिनँ। सम्भव हुँदैन। मेरा कोही सहयोगी छैनन्।
हामीकहाँ इतिहासकार मात्र होइन, इतिहाससार पनि छन् भन्ने आरोप लाग्छ। अभिलेख खोज्न र पढ्न जाँगर नचलाउने, अरूकै खोजलाई स्रोत बनाएर लेख्नेहरू इतिहास अध्येता हुन् कि हैनन्?
ती केका अध्येता हुनु, चोर तिनै त हुन् नि! अहिले मात्र हैन, पहिले झन् बढ्ता चोर्थे। अहिले त जहाँ छापिएको किताब पनि हामी सजिलै प्राप्त गर्न र पढ्न पाउँछौं। यस्तो जमानामा त चोरी हुन्छ भने पहिले त लेखोट सारेर लानुपर्यो। त्यस्तो कठिन हुँदा पनि अरूका कुरालाई आफ्नो पार्ने त कति हुन्थे कति। त्यस कारण पहिले के नियम बनाएको थियो भने, गोष्ठीमा आफ्नो पुस्तक प्रस्तुत गरेर छलफल गरायो भने साँच्चै लेखेकै रहेछ भन्ने मानिन्थ्यो, हैन भने चोरेको हो भन्ने शङ्काको ठाउँ रहन्थ्यो। महाकवि वाण भट्टले लेखेका छन्-
अन्यवर्ण पराबृत्या बन्धचिन्ह निगूहनैः
अनाख्यातः सतां मध्ये कविचौरो विभव्यते ।
अर्थात्, अर्काको कृतिलाई ओल्टाइपल्टाई पद वाक्य फरक पार्ने, शीर्षक बदल्ने, भूमिका बदल्ने आफ्नो प्रबन्धलाई विद्वत्गोष्ठीमा सुनाउन नसक्ने कवि वा ग्रन्थकार चोर कहिन्छ ।
ग्रन्थ लेखेपछि सबैतिरका विद्वान्हरू बोलाएर छलफल गराउन सक्दैन भने त्यो कवि होस् वा रचनाकार होस्, चोरै ठहर्छ । पहिला पनि बौद्धिक चोरी कम थिएन। त्यही देखेर त भारतमा ब्रिटिश सरकारले कडा दण्ड-सजायको नियम बनाएको थियो। मैले २०१६ सालमा बनारसमा पुस्तक छपाउन जाँदा यो कुरा थाहा पाएको थिएँ। हाम्रोमा त त्यस्तो व्यवस्था छैन। राजनीति नै यस्तो धमिलो छ, विद्या र प्रज्ञाको के संरक्षण हुन्थ्यो! जुन वेलामा असल शासकबाट राजनीति सञ्चालन हुन्छ, त्यस वेला सबै विद्वान्ले आआफ्नो विद्यामा उन्नति गर्छन् भनेर संस्कृतको श्लोकमा लेखेको छ। सबै विद्याको मृत्यु हुने कारण नै राजनीति हो।
मान्छेहरू अचेल इतिहासको कुरा सोध्न पनि आउँदैनन्। म विश्वविद्यालयमा छँदा सोधिरहन्थे। विद्यार्थीले पनि सोधखोज गर्थे। अहिले न विद्यार्थी छन्, न सोध्नेहरू छन्। अहिले त चोर्नेहरू मात्र छन्।
नयाँ छिमलका इतिहासकारमा खोज-अन्वेषणको भोक कति देखिन्छ?
मैले त देखेको छैन। मान्छेहरू अचेल इतिहासको कुरा सोध्न पनि आउँदैनन्। म विश्वविद्यालयमा छँदा सोधिरहन्थे। विद्यार्थीले पनि सोधखोज गर्थे। अहिले न विद्यार्थी छन्, न सोध्नेहरू छन्। अहिले त चोर्नेहरू मात्र छन्। विद्यार्थी र शिक्षकहरूले पहिले मलाई सोध्ने प्रश्न के थियो भने, ‘पशुपतिनाथलाई हामीले छुन हुँदैन, परैबाट ढोग्नुपर्छ। किन? भारतमा चाहिं विश्वनाथलाई छुँदा पनि हुन्छ, टाउकाले ढोग्दा पनि हुन्छ, केदारनाथलाई पनि मानिसहरू रोग निको हुन्छ भनेर घ्यू लगाउँदै आफ्नो पिठ्यूँ पनि दल्छन्। सबै शिवजीको दर्शन गरे पनि पशुपतिनाथको दर्शन गरेन भने फल पाइँदैन भनेर लेखेको छ, तर छुन नपाइने किन?’ त्यो जिज्ञासाले मलाई यसबारे अन्वेषण गर्न कुतकुत्यायो। त्यसको खोजी गरें, र पुस्तक नै लेखें, पशुपतिको दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा । अहिले त त्यस्तो प्रश्न र चाख नै देखिंदैन।
विगतमा नयराज पन्तको पाठशालाबाट तपाईं सहितका इतिहास अध्येताहरू उत्पादन हुनुभयो। पछिल्लो समयमा इतिहास अध्ययनको काम पुस्तान्तरण कति हुन सकेको छ? छैन भने समस्या कहाँनेर छ?
नयराज गुरुले लेखेर मलाई दिनुभएको छ, ‘एक मात्र ज्ञानमणि नेपाल, मेरो पाठशालामा पढेर पाठ सुनाएर गए।’ भेटेका वेला गुरु सधैं के भन्नुहुन्थ्यो भने- तिमी नभएदेखि मैले यो पाठशाला खोलेको केही काम हुने थिएन, तिमीले मेरो नाम राखिदियौ। तिमीबाट धेरै प्रसन्न छु। मैले पाठशाला खोलेर कति विद्यार्थी पढाएँ, ती अलि अलि पढे, गए। मैले १६ जनालाई सरकारी महाविद्यालयमा पढाएर विज्ञान र ज्योतिषमा आचार्य त गराएँ, ठूल्ठूला पदमा जागीर गरे पनि, कोही प्रोफेसर भए पनि ती कसैले मेरो अनुशरण गरेनन्। मेरै छोराहरूले पनि गरेनन्। तर, तिमीले नियम पनि पालना गर्यौ, पुस्तक पनि कण्ठस्थ सुनायौ, पुस्तक पनि यस्ता लेख्यौ जुन मैले पनि नजानेका कुरा पत्ता लगायौ।
पुस्तान्तरण हुन नसकेको सत्य हो। काठमाडौंमा पढाइ पूरा गरी गुरुबाट प्रमाणपत्र लिएर २०१४ सालपछि घर भोजपुर सिक्तेल गएर पाठशाला चलाएर बसें। तर, पञ्चायती व्यवस्थामा पाठशाला विरुद्ध उजुरी पर्यो र त्यत्तिकै अलपत्र पर्यो। मेरो पालो त अब यत्तिकै गुज्रियो। ९० वर्ष लागें, अब के गर्न सक्छु र! मेरा साथी धनवज्र लिपि जान्दथे, संस्कृत पनि जान्दथे, अनुसन्धान गर्न पनि जान्दथे। उनी पनि बितिगए। अब यस्तो कार्य गर्ने को पो छ र?
मूल रूपमा देशकै समस्याले यो स्थिति भएको हो। राजनीति नसप्रिउन्जेल कुनै विद्या पनि सप्रिंदैन। यहाँका नेताको बुद्धि राम्रो कुरामा खर्च भएको छैन, त्यस कारण सप्रिने त देख्दिनँ।
हाम्रो इतिहासमा को सुपात्र र को कुपात्र हुन्, कसैलाई थाहै छैन। विद्वान् पनि त्यस्तै खालका छन्। जंगबहादुर राणालाई खलनायक र भीमसेन थापालाई विभूति बनाइदिएका छन्। यहाँ अत्यन्त बुद्धिमान् मान्छे छन्, तर उनीहरूले आफ्नो बुद्धिलाई लाभको पद कहाँ पाइन्छ, कसरी सम्मान मिल्छ, कसरी पैसा पाइन्छ भन्नेमा मात्र लगाएका छन्।
नेपाली इतिहास लेखनमा देखिएका त्रुटि औंल्याउन र सच्याएर प्रामाणिक बनाउन तपाईं पहिले आबद्ध रहेको संशोधन-मण्डलले विशिष्ट भूमिका खेलेको थियो। इतिहास संशोधन गर्नुपर्ने विषय अहिले कति देख्नुहुन्छ?
संशोधन गर्नुपर्ने विषय अनगन्ती छन्, तर भएको छैन। उल्टो भएको छ। कुनै वेला संशोधन-मण्डलमा मैले पनि काम गरें। अहिले त्यहाँ नयाँ अनुसन्धान गर्ने कोही छैन। मान्छेले कस्ता कस्ता अशुद्धी लेखिरहेका छन्, पढेलेखेका मान्छेले पो अनुसन्धान गरेको पनि स्वाद हुन्छ। पढ्दै नपढेको मान्छेले, संस्कृत नजानेको मान्छेले संस्कृत जानिनस् भनेर कसरी औंल्याउन सक्छ?
स्वतन्त्र रूपमा चाहिं, मैले आफ्नो पुस्तक लेख्दा देखेका र जानेका कुरा संशोधन गरिराखेकै छु।
स्तुतिगान र देवत्वकरण गरेर बनाइएका तथा मिथक र कहानी बुनिएका गलत इतिहासलाई अध्येताहरूले खण्डन गर्दै आए पनि ती विषयले विद्यालय र विश्वविद्यालयमा हत्तपत्त प्रवेश पाउँदैनन्, कारण के हो?
नयाँ कुरा पढाउने त सोच नै छैन यहाँ। विगतमा भएको एउटा घटना सम्झन्छु। सरदार रुद्रराज पाण्डे विश्वविद्यालयमा इतिहास पढाउँथे, उनका नोट छोराले राखे। छोराले जतिलाई पढाए, त्यही नोट पढाए। अहिले पनि यही कुरा छ। नयाँ कुरा त कसैले ल्याउँदै ल्याउँदैन, त्यसै कारण इतिहासमा मान्छेलाई चाख नै हुँदैन, यो विषय यस्तो गहन हो भनेर लाग्दैन। अहिलेका नेता के पढ्छन्? उनीहरू हाम्रो देश बनाउने पात्रहरूलाई तुच्छ मान्छन्, विदेशीलाई सम्मान गर्छन्। यही कारण वास्तविक इतिहास र नयाँ खोजको मूल्य नभएको हो।
इतिहास विषय र इतिहासकारलाई राज्यले सधैं उपेक्षा गरिरहेको छ भन्ने आरोप पनि लाग्ने गरेको छ। के वास्तविकता यस्तै हो?
हाम्रा प्राज्ञिक संस्था दुई वटा छन्, त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा-प्रतिष्ठान। तर, त्यहाँ क्षमता भएका र राम्रा मान्छेभन्दा पनि आफ्ना मान्छे नियुक्ति हुन्छन्। विश्वविद्यालय चलाउन सक्ने गतिलो मान्छे लगिंदैन। एकेडेमीमा पनि विद्वान् मान्छे खोजीखोजी लैजानुपर्नेमा त्यस्तो देखिंदैन। आफ्नो मान्छे र राजनीतिक कार्यकर्ता खोजेर राख्ने गरिएको अहिलेकै दृश्यले प्राज्ञिक क्षेत्रको मानमर्दन गरिरहेको छ।
हाम्रा प्राज्ञिक संस्थामा क्षमता भएका र राम्रा मान्छेभन्दा पनि आफ्ना मान्छे नियुक्ति हुन्छन्। विश्वविद्यालय चलाउन सक्ने गतिलो मान्छे लगिंदैन। एकेडेमीमा पनि विद्वान् मान्छे खोजीखोजी लैजानुपर्नेमा त्यस्तो देखिंदैन।
नेपाली राजनीतिकर्मीले इतिहासबाट पाठ सिकेनन् र आज यो दशा देख्नुपर्यो भन्ने भनाइ पनि बरोबर सुनिन्छ। के हामीले इतिहासबाट पाठ नसिकेकै हो?
राजनीतिकर्मीहरूले इतिहास पढ्दै पढ्दैनन्। नपढेपछि के पाठ सिक्छन्? यिनीहरूलाई अरू कुराको मतलब नै छैन, आफ्नो दुनो सोझ्याउने सुर मात्रै छ। पृथ्वीनारायण शाहले कुलो खन्नु, खेती हुने ठाउँमा घर भत्काएर पनि कुलो खन्नु भनेका थिए। आफूले डाँडामा दरबार बनाएर उपत्यकामा अन्न फलाउने उनको विचार थियो। राजनीतिमा त्यसरी सोच्ने मान्छे अहिले त कोही छैन।
अहिलेका मान्छेमा इतिहासको चेतना नै छैन, किनकि इतिहास पढेकै छैनन्। हाम्रो इतिहासमा को सुपात्र र को कुपात्र हुन्, कसैलाई थाहै छैन। विद्वान् पनि त्यस्तै खालका छन्। जंगबहादुर राणालाई खलनायक र भीमसेन थापालाई विभूति बनाइदिएका छन्। यहाँ अत्यन्त बुद्धिमान् मान्छे छन्, तर उनीहरूले आफ्नो बुद्धिलाई लाभको पद कहाँ पाइन्छ, कसरी सम्मान मिल्छ, कसरी पैसा पाइन्छ भन्नेमा मात्र लगाएका छन्।
प्रसङ्ग बदलौं, २०६६ सालमा प्रकाशित तपाईंको पुस्तक गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म - संघीयताको समस्या र समीक्षामा संघीय शासन प्रणालीप्रति शङ्का र अविश्वास थियो। नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरिसकेको अवस्थामा त्यस्तो शङ्का अझै पनि लाग्छ?
मलाई त त्यस्तो लाग्छ। अहिले चलेको छ त संघीयता? हाम्रो जस्तो सानो मुलुकमा उत्तरदायी विकेन्द्रीकरण भएको शासन व्यवस्था सञ्चालन गर्न सकेको भए बढी सान्दर्भिक हुन्थ्यो। संघीयता लागू भएपछि भ्रष्टाचार कति बढेको छ, आज हेरौं त। गाउँपालिका नगरपालिकादेखि प्रदेश शासकसम्म भ्रष्टाचारमा डुबेका छन्। संविधानमा लेखे बमोजिम को चलेको छ र ! पहिले सात वटा मन्त्रालयले काम चल्दै आएकोमा राज्यकोषमा भार पार्ने गरी १२/१४ वटा मन्त्रालय बनाएका छन्। जति नै नयाँ व्यवस्था ल्याए पनि पात्र नै त्यस्ता छन्, अनि कसरी चल्छ? त्यस वेला विभिन्न देशको संघीयताको अवस्था र उदाहरण पढेर, हेरेर त्यो पुस्तक लेखेको थिएँ। संघीयता शुरू भएको ६ वर्षको अनुभव सकारात्मक त छैन। भविष्यमा नेतृत्वमा आउने परिवर्तन, आम मानिसले चुनावमा उपयुक्त प्रतिनिधिमूलक पात्रको चयन गर्न सक्ने स्थिति आयो भने निश्चय पनि परिवर्तन होला। तर, जनप्रतिनिधि स्तरमा मौलाउँदोे भ्रष्टाचार, जिम्मेवारीपनाको अभाव र खर्चिलो चुनाव आदि हेर्दा संघीयताले वास्तविक प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने कुरा अझै यकिन गर्न सक्ने वेला भएको छैन।
मैले जेजति काम गरेको छु, मेरा पुस्तक नै त्यसका साक्षी छन्। ती पुस्तक पढेर मलाई जे जसरी सम्झे पनि हुन्छ।
नेपाली इतिहास र संस्कृतिमा के कुराको चुनौती देख्नुहुन्छ?
चुनौती धेरै छन्। कुपात्रलाई सुपात्र र सुपात्रलाई कुपात्र बनाउनु भन्दा माथि अपराध के हुन्छ? म त्यो शुद्ध्याउँछु, तर न त्यो पाठ्यक्रममा राखिन्छ, न त पढाउने मान्छेले सत्यतथ्य पढाउँछन्। पञ्चायतकालमा त पढाउने मान्छेले दरबार हेर्यो। दरबारबाट कस्तो कस्तो सङ्केत आउँछ, त्यही अनुसार गर्यो। लेख्नेले पनि दरबारको सङ्केत पाएर लेख्यो। पञ्चायत त गयो, तर प्रवृत्ति भने त्यही नै रह्यो ।
पृथ्वीनारायण शाहले ६ वटा राज्य जितेका थिए, बहादुर शाहले त गोरखादेखि उताका बाइसे चौबीसे राज्य, कुमाउँ, गढवाल जितेर यमुना साँध लगाए। उनलाई चाहिं देशद्रोही भनेर लेखिएको छ। जंगबहादुरलाई पनि खलनायक बनाइएको छ। उनले कोतपर्व गरेका हुन् र? त्यो त रानीले गरेकी, राजाले गरेको। यस कारण सत्य इतिहास पढिंदैन, पढाइँदैन। माथिको इशारा अनुसार गरिन्छ।
हिजोको दरबार र राजालाई मात्र दोष दिएर हुँदैन, अहिलेका नेता पनि त्यस्तै छन्। जसले आफ्नो प्रशंसा र चाकरी गर्यो, नेताहरू उसैलाई मान्छन्। इतिहास एउटा हुन्छ, मान्छेहरू नबुझी अफवाह र कहानीको पछि लाग्छन्। यसर्थ अध्ययनको कमी, अध्ययनमा उदासीनता नै हाम्रो इतिहासका चुनौती हुन्।
नेपाली जनताले तपाईंलाई कसरी सम्झिऊन् भन्ने चाहनुहुन्छ?
मैले जेजति काम गरेको छु, मेरा पुस्तक नै त्यसका साक्षी छन्। ती पुस्तक पढेर मलाई जे जसरी सम्झे पनि हुन्छ। मैले आफ्ना सबै कुरा किताबमै लेखिदिएको छु। मैले बाहिर अनुसन्धान गरेका र लेखेका कुरा हराएपछि पनि स्वतन्त्र रूपमा र आत्मकेन्द्रित भएर पनि लेखेको छु। यसैबाट मेरो सम्झना र मूल्याङ्कन होस् भन्ने चाहन्छु।