जनगणनामा भन्दा भूकम्पपीडितका रूपमा अनुदान लिने परिवार धेरै
रसुवामा राष्ट्रिय जनगणनाको प्रारम्भिक नतीजामा देखिएका भन्दा बढी परिवारले भूकम्पपीडितका रूपमा सरकारबाट अनुदान लिएको पाइएको छ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतीजा अनुसार, रसुवामा ११ हजार ३६२ घर छन्। जसमा ११ हजार ८४१ परिवार बसोबास गर्छन्। तर, त्योभन्दा बढी परिवारले भूकम्पपीडितका रूपमा सरकारी अनुदान लिइसकेका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क अनुसार, जिल्लामा १२ हजार ३०७ परिवार भूकम्पपीडित छन्। उनीहरूसँग प्राधिकरणले सम्झौता समेत गरिसकेको छ। जबकि, जनगणना हुनुभन्दा ६ वर्षअघि १२ वैशाख २०७२ मा भूकम्प गएको थियो।
अहिले जनगणनामा प्राधिकरणले अनुदान दिन सम्झौता गरेकोभन्दा ९४५ घर कम देखिएका छन्। त्यस्तै, परिवारको सङ्ख्यालाई आधार मान्दा पनि ४६६ परिवार कम देखिएका छन्।
जनगणनामा आएको परिवारसँग र प्राधिकरणले सहयोग गर्न सम्झौता गरेका परिवारको सङ्ख्या सबै स्थानीय तहमा फरक फरक देखिएको छ। गोसाइँकुण्ड गाउँपालिका बाहेक अन्य स्थानीय तहमा जनगणनामा देखिएका परिवारको सङ्ख्याभन्दा लाभग्राही परिवारको सङ्ख्या बढी देखिएको हो।
जनगणना अनुसार, गोसाइँकुण्डमा दुई हजार १४९ घरमा दुई हजार ४७७ परिवार छन्। यो गाउँपालिकामा प्राधिकरणसँग सम्झौता गरेको सङ्ख्या भने एक हजार ९३६ रहेको छ।
अन्य स्थानीय तहमा भने जनगणनामा देखिएका परिवारभन्दा लाभ लिने परिवारको सङ्ख्या बढी छ। कालिका गाउँपालिकामा दुई हजार ४१२ घरमा दुई हजार ४७४ परिवार छन्। प्राधिकरणसँग लाभ लिन भने दुई हजार ६०८ परिवारले सम्झौता गरेका छन्।
त्यस्तै, नौकुण्डमा दुई हजार ८७८ घरमा दुई हजार ८९९ परिवार बस्छन्। प्राधिकरणबाट भने तीन हजार ३६३ परिवारले अनुदान लिइसकेका छन्।
आमाछोदिङ्मोमा एक हजार ६८८ घरमा एक हजार ७२७ परिवार रहेको जनगणनामा देखिएको छ। जबकि, ६ वर्षअघि गएको भूकम्पमा घर भत्किएको भनेर दुई हजार ३५ परिवारले अनुदान लिएको तथ्याङ्क छ।
उत्तरगया गाउँपालिकामा पनि दुई हजार २३५ घरमा दुई हजार २६४ परिवार बसोबास गर्छन्। प्राधिकरणले भने दुई हजार ३६५ परिवारसँग भूकम्पपीडित भनेर सम्झौता गरेको थियो।