केले घटायो जनसङ्ख्याको वृद्धिदर?
नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको आँकडा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ। गत मंसीरमा भएको जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै विभागले जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत कायम भएको जनाएको छ।
एक दशकअघि गरिएको अघिल्लो जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। त्यति वेला वार्षिक वृद्धिदर १.३५ प्रतिशत थियो।
१९८७ सालपछि जनसङ्ख्याको वृद्धिदर घटेर एक प्रतिशतभन्दा कम भएको यो पहिलो पटक हो। १९७८ र १९८८ सालमा भने जनसङ्ख्याको वार्षिक वृद्धिदर नै नकारात्मक भएको थियो। २०२८ देखि २०६८ सालसम्म हरेक वर्ष औसतमा जनसङ्ख्याको वार्षिक वृद्धिदर दुई प्रतिशतभन्दा धेरै थियो।
जनगणनाले पुरुषभन्दा महिलाको सङ्ख्या ६ लाखभन्दा बढी रहेको देखाएको छ। कुल जनसङ्ख्यामा एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४ प्रतिशत) छन्।
यद्यपि, एक दशकअघिको तुलनामा महिलाको अनुपात घटेको र पुरुषको बढेको देखिएको छ। दश वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्यामध्ये पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ र ५१.५ प्रतिशत थियो।
जनसङ्ख्याको वृद्धिदर घट्नुमा प्रमुख कारण प्रजननदर कम हुनु हो। पछिल्ला वर्षमा प्रजननदर निकै घटिरहेको जनसङ्ख्याविद् प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङले बताए। “नेपालको अर्थ-सामाजिक कारण र वैदेशिक रोजगारीले गर्दा प्रजननदर घटिरहेको छ, जसको असर जनसङ्ख्याको वृद्धिदरमा परेको छ,” प्राध्यापक गुरुङले भने।
विश्व ब्यांकको तथ्याङ्क अनुसार, ३० वर्षअघि एक जना महिलाले औसतमा पाँच जना बच्चा जन्माउने गरेकोमा अहिले त्यो घटेर दुईभन्दा तल आइपुगिसकेको छ। केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले यो वर्षको जनगणनाको जन्मदरको विवरण नआइसकेको भए पनि यो प्रतिस्थापन दरतिरै झरिसकेको हुन सक्ने अनुमान गरे। दम्पतीले दुई बच्चा जन्माएमा त्यसलाई प्रतिस्थापन दर मानिन्छ।
वैदेशिक रोजगारी प्रमुख कारण
जनसङ्ख्याविद् गुरुङका अनुसार, प्रजननदर घट्नुमा वैदेशिक रोजगारी प्रमुख कारण हो। वैदेशिक रोजगारीका लागि युवा विदेशिने कारणले गर्दा बच्चा जन्माउने दर घटेको उनको तर्क छ। आर्थिक सर्वेक्षणका अनुसार, करीब ५० लाखभन्दा बढी नेपाली विभिन्न समयमा वैदेशिक रोजगारीमा गइसकेका छन्।
त्यसमाथि, शिक्षा र चेतनास्तर बढ्दै गएकाले धेरै सङ्ख्यामा बच्चा जन्माउने भन्दा एक वा दुई मात्रै बच्चा जन्माउने प्रवृत्ति बढिरहेको गुरुङ बताउँछन्। बाबुआमाको सीमित कमाइ र कामधामका कारण धेरै बच्चा जन्माउने आम्दानी र फुर्सद दुवै हुँदैन। “बच्चा हुर्काउन र शिक्षादीक्षा दिन महँगो पर्ने कारणले गर्दा थोरै मात्र बच्चा जन्माउने प्रवृत्ति शहरदेखि गाउँसम्मै विस्तार भएको छ,” उनले भने।
जनसङ्ख्याविद् गुरुङका अनुसार, जनसङ्ख्याको घट्दो वृद्धिदरको प्रभाव तुरुन्तै पर्दैन। विगतको उच्च वृद्धिदरका कारण अहिले पनि जनसङ्ख्या धेरै नै छ। तर, दीर्घकालमा भने घट्दो जनसङ्ख्या वृद्धिदरको असर पर्नेछ।
काम गर्न सक्ने उमेरका नागरिक धेरै हुने जनसाङ्ख्यिक लाभबाट आर्थिक विकास गर्ने अवसर घटेर जाने गुरुङ बताउँछन्। काम गर्न सक्ने उमेरका युवाको सङ्ख्या धेरै भएकाले अहिले पनि नेपाल जनसाङ्ख्यिक लाभको अवस्थामा छ। तर, बिस्तारै यो अवसर घटिरहेको छ। जनसङ्ख्याको वृद्धिदर घट्दै जाँदा भविष्यमा यस्तो अवसर पनि खुम्चिंदै जान्छ।
यद्यपि, अहिले जनसाङ्ख्यिक लाभको अवस्था भए पनि युवालाई देशमै रोजगारी सिर्जना गरी आर्थिक विकास गर्ने अवसर समात्न सकिएको छैन। अधिकांश युवा विदेशमा काम गर्न गइरहेका छन्।
एकल परिवार सङ्ख्या बढ्दो
जनगणनाले परिवार सङ्ख्या भने बढिरहेको देखाएको छ। जनगणना २०७८ को प्रारम्भिक नतीजा अनुसार, नेपालमा बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ५९ रहेको छ र ती परिवार जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको छ। अर्थात्, १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखिन्छ। खास गरी शहरी क्षेत्रमा एकै घरमा धेरै परिवार बस्ने कारणले गर्दा यस्तो देखिएको हो।
पछिल्लो एक दशकमा परिवार सङ्ख्या ह्वात्तै बढेको देखिएको छ। हालको परिवार सङ्ख्या दश वर्षअघिको भन्दा करीब २४.५७ प्रतिशतले धेरै हो। यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ वटा परिवार थपिएका छन्। सामूहिकबाट छुट्टिएर एकल परिवार बस्ने प्रचलनले गर्दा परिवारको सङ्ख्या पनि बढेको अनुमान गरिएको उपमहानिर्देशक रेग्मीले बताए।
जनगणनाको प्रारम्भिक नतीजा अनुसार, प्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ। जुन २०६८ सालमा ४.८८ जना थियो। यसले परिवारमा सदस्यको सङ्ख्या घटिरहेको देखाउँछ। शहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ।
२०६८ सालको जनगणनामा तराईमा कुल जनसङ्ख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ सालमा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ। हिमाली क्षेत्रमा कुल जनसङ्ख्याको ६.७३ अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको छ। त्यसै गरी पहाडी क्षेत्रमा २०६८ सालमा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ।
सबैभन्दा कम जनसङ्ख्या मनाङमा
७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या रहेको काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम मनाङमा पाँच हजार ६४५ जनाको बसोबास छ। मोरङ, रुपन्देही, झापा र सुनसरीमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङ्ख्या भएका जिल्ला रहेको जनगणनाले देखाएको छ। कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।
नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई शहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कुल जनसङ्ख्यामा शहरी जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत पुगेको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना छन्। जुन समग्रको क्रमशः २०.९९ र ५.८१ प्रतिशत हो।
जनगणनाको प्रारम्भिक नतीजा अनुसार, जम्मा २१ लाख ६९ हजार ४७८ जना विदेशमा बसोबास गरिरहेका छन्। दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्नेहरू) को सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो।
विभागले ६ महीनाभन्दा लामो समयदेखि विदेशमा बसोबास गर्दै आएकालाई मात्रै गणना गरेका कारण विदेशमा रहनेको सङ्ख्या कम आएको हुन सक्ने आकलन गरिएको छ। त्यसै गरी सपरिवार विदेशमा सरेका नेपाली पनि गणनामा परेका छैनन्।