जनगणनामा भाषा
खासमा राई जातिका मानिसले बोल्ने पहिचान भएका २६ वटा मौलिक भाषा छन्। हाम्रो जनगणनामा उल्लेख भए जस्तो ‘राईभाषा’ मात्रै लेख्दा ती सबै समेटिंदैनन्। तर, कतिपय राईलाई आफू राई हुँ भन्ने मात्रै ज्ञान छ, कुन भाषिक समूहको हुँ भन्ने बिर्सिसकेका छन्।
कोरोना महाव्याधिका कारण बन्दाबन्दी हुँदैनथ्यो त गत असारमै बाह्रौं जनगणना भइसक्थ्यो। हरेक १० वर्षमा हुने जनगणना यसपालि ६ महिना धकेलियो। कात्तिक २५ देखि मंसीर ९ सम्म मुख्य गणना हुँदै छ।
जनगणनाबाट प्राप्त तथ्याङ्कले मुलुकको नीति, योजना र कार्यक्रमलाई प्रभाव पार्ने हुनाले यसप्रति सबैको उत्तिकै चासो जरुरी छ। यसैबीच भाषा आयोगले दश वर्षअघिको जनगणनाको तथ्याङ्कका आधारमा प्रदेशस्तरमा सरकारी कामकाजयोग्य भाषाहरूको सूची सार्वजनिक गर्यो। आयोगले पञ्चवर्षीय प्रतिवेदनमा सिफारिश गरेको उक्त सूचीले समग्र भाषानीतिलाई पेचिलो बनायो।
२०७३ भदौ २३ मा गठित आयोगले ६ वर्षे कार्यकाल एक वर्ष मात्र बाँकी छँदा ठूलो काम देखाउने हतारोले चालू जनगणनाको प्रारम्भिक तथ्याङ्क पर्खने धैर्यसम्म देखाएन।
भाषा र भाषिका
एघारौं जनगणना-२०६८ मा १२३ भाषा उल्लेख गरिएका थिए जुन दशौं जनगणना-२०५८ को भन्दा ३१ ले बढी हो। थपिएका धेरैजसो भाषा त्यसअघिसम्म भाषिका मानिंदै आएका थिए।
सुदूरपश्चिम र कर्णालीका यस्तै एक दर्जनभन्दा बढी भाषिक संरचनालाई भाषाविद्हरूको सुझावका आधारमा सरकारी अभिलेखहरूले नेपाली भाषाका भाषिका मान्दै आएका थिए। डोटेली, बैतडेली, अछामी, दार्चुलेली, डडेल्धुराली, बझाङी, दैलेखी, बाजुरेली छुट्टै भाषाका रूपमा सूचीकृत छन्।
भाषावैज्ञानिक मान्यता अनुसार, दुई व्यक्ति वा समूह आपसमा कुरा गर्दा लवज, उच्चारण, व्याकरण फरक सुनिए पनि एउटाले भनेको अर्कोले बुझ्छ भने उनीहरूले एउटै भाषाका भाषिका बोलिरहेको मानिन्छ। एउटाको कुरा अर्कोले बुझ्दैन भने चाहिं उनीहरूले छुट्टाछुट्टै भाषा बोलिरहेका हुन्छन्। क्षेत्र र भूगोलका हिसाबले एउटै भाषाका धेरै वटा भाषिका हुन सक्छन्। पहाडी र टापु मुलुकमा झन् धेरै भाषिका हुन सक्छन्।
सुदूरपश्चिम र कर्णालीका यस्तै एक दर्जनभन्दा बढी भाषिक संरचनालाई भाषाविद्हरूको सुझावका आधारमा सरकारी अभिलेखहरूले नेपाली भाषाका भाषिका मान्दै आएका थिए। तीमध्ये जनगणना २०६८ मा डोटेली, बैतडेली, अछामी, दार्चुलेली, डडेल्धुराली, बझाङी, दैलेखी, बाजुरेली छुट्टै भाषाका रूपमा सूचीकृत छन्।
तराईमा बोलिने भारोपेली परिवारका अधिकांश भाषा एकआपसमा बुझन सकिने (म्युचुअल्ली इन्टेलिजिबल) छन्। मैथिली, भोजपुरी, अवधी, थारू र राजवंशी छुट्टाछुट्टै भनिए पनि यी भाषिक समुदायका वक्ताबीच कुराकानी हुँदा एकले अर्कोको भाषा बुझन सक्छ। मिथिला र भोजपुरा क्षेत्रका बीचतिर बोलिने आंगिका र बज्जिकालाई कुनै समय मैथिलीको भाषिका मानिन्थ्यो, अब भाषा मानिन्छ। राई जातिभित्रका केही भाषा पनि भाषावैज्ञानिक सिद्धान्तका आधारमा भाषिका देखिन्छन्, तर भाषाका रूपमा सूचीकृत गरिएका छन्।
राई भाषा
जनगणना २०६८ मा राई जातिको जनसङ्ख्या ६ लाख २० हजार ४ र राई भाषाका वक्ताको सङ्ख्या १ लाख ५९ हजार ११४ छ। राई जातिका मानिसको सङ्ख्या कुल जनसङ्ख्याको २.३ प्रतिशत छ जुन उक्त जातिका मानिसहरूको बाहुल्यका आधारमा दशौं क्रममा पर्दो रहेछ।
राईभाषीहरू चाहिं कुल जनसङ्ख्याका हिसाबले ०.६० प्रतिशत मात्र पाइएका छन्। भाषा आयोगको प्रतिवेदन अनुसार, प्रदेश १ मा राईभाषीको सङ्ख्या एक लाख २० हजार ७९१ (२.६६) प्रतिशत छ। प्रदेश १ मा वक्ता-सङ्ख्याका आधारमा राई भाषाको स्थान दशौं रहेछ।
नेपालका सूचीकृत ५९ आदिवासी-जनजातिमध्ये राई एक हो। यही समूह अन्तर्गत नेवार, मगर, थारू, तामाङ, राई, लिम्बू र गुरुङ नेपालका सन्दर्भमा जनसङ्ख्या, खास भौगोलिक क्षेत्रमा सघन बसोबास, छुट्टै शासनसत्ता सञ्चालन अनुभवको इतिहास र आधारभूत रूपमा साझा सांस्कृतिक मनोविज्ञानका आधारमा राष्ट्रिय जाति हुन्।
नेपालका सूचीकृत ५९ आदिवासी-जनजातिमध्ये राई एक हो। यही समूह अन्तर्गत नेवार, मगर, थारू, तामाङ, राई, लिम्बू र गुरुङ नेपालका सन्दर्भमा जनसङ्ख्या, खास भौगोलिक क्षेत्रमा सघन बसोबास, छुट्टै शासनसत्ता सञ्चालन अनुभवको इतिहास र आधारभूत रूपमा साझा सांस्कृतिक मनोविज्ञानका आधारमा राष्ट्रिय जाति हुन्। जसमा राई बहुभाषिक-बहुसांस्कृतिक जाति हो।
हाम्रो जनगणनामा उल्लेख भए जस्तो संसारमा छुट्टै ‘राईभाषा’ छैन। खासमा राई जातिका मानिसले बोल्ने पहिचान भएका २६ वटा भाषा छन्। तिनका भाषिका पनि छन्। कसैले भाषिका त कसैले भाषा मान्ने केही भाषिक समूह पनि छन्।
राईभाषा कसरी सूचीकरण भयो त? गणित र भौतिकशास्त्रका सूत्र जस्ता अकाट्य नियममा चल्दैन समाजविज्ञान। गणितीय सूत्र अनुसार त एक भाषा एक जाति अथवा एक जाति एक भाषा हुनैपर्ने हो। राई एउटा अपवाद हो- एक जाति धेरै भाषा। मगर बहुभाषिक जाति भए पनि भाषाको सङ्ख्या थोरै छ।
कतिपय राईलाई आफू राई हुँ भन्ने मात्रै ज्ञान छ, कुन भाषिक समूहको हुँ भन्ने बिर्सिसकेका छन्। उदयपुरको उत्तरी भेगका केही राईहरू आफूलाई कोयुछा चाम्लिङ मान्थे, अनुसन्धानले उनीहरू चाम्लिङ नभई कोयु भएको प्रमाणित गर्यो। भोजपुरका टेम्केमैयुङमा सबैले लिम्बू भन्ने, स्रेस्तामा राई लेख्ने गरेको एउटा पुस्ता धनकुटाबाट गएका आठपरे राई रहेको प्रमाणित भयो।
कतिपय राईले पुर्खाहरू बसाइँ सरेर गएको ठाउँसँग जोडेर आफ्नो जातीय मौलिकताको परिचय दिने गरेका छन्। जस्तो- दिप्साली, देउसाली, खार्मेली, हतुवाली आदि। तर, यी विशेषणले जाति, भाषिक समूह वा भाषा, वंश, थर, पाछा जनाउँदैनन्। उनीहरूले आफ्नो असली थर, वंश, गोत्र बिर्सिसकेका हुन्छन्।
जे जस्तो अवस्था रहे पनि राई जातिभित्रका भाषाहरूको लहरमा छुट्टै राई-भाषा भनेर सूचीकरण गर्नु गलत भएको थियो। यो सूचीले भाषा सम्बन्धी समग्र तथ्याङ्कलाई नै प्रभावित पार्यो।
अन्य जातिको बाहुल्य रहेको क्षेत्रमा बसोबास गर्ने उनीहरू पर्वते नेपाली भाषा प्रयोग गर्छन्। उनीहरूको समाजमा पुर्ख्यौली भाषा लोप भइसके पनि थरकै आधारमा पुख्र्यौली भाषाको महलमा राई लेखाएका हुन सक्छन्।
पछिल्लो पुस्ता जो विज्ञान-प्रविधि बाहेक अरू वाहियात हो भन्ने ठान्छ उसलाई जाति, भाषा, संस्कृति, परम्पराको वास्ता छैन। जातीय मौलिकताका बारेमा उनीहरूलाई आफ्नो थर राई रहेको बाहेक केही थाहा छैन। थाहा पाउने कोशिश पनि गर्दैनन्। यिनले पनि पुर्खाको भाषामा चाहिं राई भनेर टिपाएका हुन सक्छन्।
जे जस्तो अवस्था रहे पनि राई जातिभित्रका भाषाहरूको लहरमा छुट्टै राई-भाषा भनेर सूचीकरण गर्नु गलत भएको थियो। यो सूचीले भाषा सम्बन्धी समग्र तथ्याङ्कलाई नै प्रभावित पार्यो। अब त्यस्तो नहोस् भनेर सबैभन्दा बढी सचेत राईहरू नै हुनुपर्छ। सरकारले पनि पुरानो गल्ती सच्याउने जाँगर देखाउनुपर्छ।
भाषा र राजनीति
भाषाले राजनीति तथा राजनीतिले भाषालाई प्रभाव पारिरहेको हुन्छ। नेपालमा पनि पञ्चायतभरि एक भाषा नीति रह्यो। पञ्चायतपछि बहुदलीय व्यवस्थामा पनि पर्वते नेपाली भाषाको एकाधिकार कायमै रह्यो। काठमाडौं महानगरले नेवारी र राजविराज नगरपालिकाले मैथिली भाषालाई स्थानीय कामकाजी भाषा बनाउने भनी गरेको निर्णयलाई न्यायालयले बन्देज लगाउनु एकभाषिक नीतिकै निरन्तरता हो।
गणतन्त्रपछि भाषा पहिचान आन्दोलनको महत्त्वपूर्ण आयाम बनेर आयो। बहुपहिचानको ठाउँमा एकल पहिचानको मुद्दा बुलन्द हुँदै गयो। केन्द्र, प्रदेश र स्थानीय तहका राजनीतिक निर्णयहरूमा साझा पहिचान, बहुपहिचानका नाममा शाहवंशको शुरूआतदेखि स्थापित एकात्मक अभ्यासकै निरन्तरता देखिए पनि जनगणना जस्ता बृहत्देखि सानातिना सर्वेक्षणहरूमा एकल पहिचानको आकाङ्क्षा मुखरित हुँदै आएको छ।
कुनै पनि बोली भाषा हो कि भाषिका भनी छुट्याउने जिम्मा अब भाषाविद्हरूको हातमा रहेन। यो मुद्दा भाषाविद्को हातबाट फुत्किएर वक्ताको दाबीमा भर पर्नुपर्ने अनि राजनीतिक तहबाट निर्णय गर्नुपर्ने अवस्थामा आइपुगे जस्तो देखिएको छ।
गत जनगणनामा नयाँ भाषा र जातिहरू देखा पर्नु एकल पहिचानकै आकाङ्क्षा हो। सुदूरपश्चिम र कर्णालीमा बोलिने भाषिकाहरू भाषाका रूपमा उदाएका छन्। नेपाली भाषाको उद्गम थलो जुम्ला हो भन्ने तर गोर्खा राज्यको विस्तारित रूप नेपाल राज्यले कुनै पनि मानेमा जुम्ली सभ्यता तथा भाषालाई मान्यता नदिएको परिणाम हो- छुट्टै भाषाको मान्यतामा त्यस भेगका भाषीहरू आफैं स्थापित हुन चाहनु।
नेपालीको भाषिकाका रूपमा व्यवहार गरेर राज्यले सुनियोजित रूपमा त्यस भेगको भाषिक विविधतालाई सिध्याउन खोजेको बुझाइ पनि हुन सक्छ उनीहरूको। उता अन्य थोरै वक्ता भएका भाषिक समुदाय पनि आफूहरूलाई भाषाकै मान्यता दिनुपर्ने दाबीका साथ उठिरहेका छन्।
कुनै पनि बोली भाषा हो कि भाषिका भनी छुट्याउने जिम्मा अब भाषाविद्हरूको हातमा रहेन। यो मुद्दा भाषाविद्को हातबाट फुत्किएर वक्ताको दाबीमा भर पर्नुपर्ने अनि राजनीतिक तहबाट निर्णय गर्नुपर्ने अवस्थामा आइपुगे जस्तो देखिएको छ।
अर्को कुरा, एउटा भाषा पनि राजनीतिक रूपमा छुट्टिएपछि क्रमशः फरक-फरक भाषिकामा विभाजित हुँदै जान्छ। अनि फरक फरक भाषिकाले फरक फरक भाषाको रूप ग्रहण गर्दै जान्छन्। भौगोलिक विभाजनले पनि राजनीतिक विभाजन गर्छ। किराती परिवारका भाषाहरूमा त्यो अवस्था देखिन्छ।
खोलापिच्छेको भाषा अनि एउटै भाषाको पनि गाँवैपिच्छे भाषिका हुनुमा पहिला भौगोलिक, त्यसपछि सामाजिक-राजनीतिक विभाजनले भूमिका खेलेको छ। एउटै भाषा वक्ताहरूबीच पनि विभिन्न कारणले सम्पर्क कम हुँदै गएपछि भाषा फरक पर्दै जाने हो। लेख्य परम्परा नभएको तथा मानकीकरण नभएको भाषामा त्यो अवस्था झन् धेरै हुन्छ।
अन्त्यमा, बाह्रौं जनगणनाको तथ्याङ्क सङ्कलन पनि एघारौं जनगणनाकै विधिले हुने रहेछ। किनभने, एघारौं जनगणनाकै आधारमा विभिन्न क्षेत्रका कोड नम्बरहरू दिइएको छ। यस कारण यसपालि पनि ‘राई भाषा’ भनेर हुँदै नभएको शीर्षकमा तथ्याङ्क दोहोरिने निश्चित छ। तर, विगत १० वर्ष र जनगणना आसपास भएका औपचारिक तथा अनौपचारिक छलफलले यी पक्षलाई सुधार्न केही भूमिका खेलेका भए तिनले सुधारिएको परिणाम दिन पनि सक्लान् कि?