यस्तो छ राष्ट्रिय सभा चुनावमा एमाले–लोसपा तालमेलको भित्री उद्देश्य
१२ माघको राष्ट्रिय सभा चुनावमा सत्तारूढ पाँच दल मिलेपछि एक्लिएको नेकपा (एमाले) ले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गरेको छ।
स्थानीय तहका २६८ अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख र १०४ प्रदेश सभा सदस्य मतदाता रहेको यो प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको कुल मतभार ९८१६ छ।
संघीय संसद्को सबैभन्दा ठूलो दल एमालेका स्थानीय तहमा २९ र लोसपाका ४२ मतदाता छन्। दुवै पार्टीको स्थानीय तहतर्फको मतभार १२७८ छ। एमालेका आठ र लोसपाका १६ प्रदेश सभा सदस्यको मतभार जोड्दा ११५२ हुन्छ। यो प्रदेशमा एमाले र लोसपाको जम्मा मतभार २४३० छ। जुन चुनाव जित्न पर्याप्त छैन।
जबकि, सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) स्थानीय तहमा १९५ र प्रदेशमा ७९ मतदाता छन्। गठबन्धनको कुल मतभार ७३०२ छ।
सत्ता गठबन्धनले महिलातर्फ उर्मिला अर्याल (माओवादी) र अन्य समूहबाट मोहम्मद खालिद सिद्दीकी (जसपा) लाई उम्मेदवार बनाएको छ। एमालेकी उस्मान अन्सारी अन्य समूह र लोसपाकी रूपा यादव महिलाबाट उम्मेदवार बनेका छन्। एमाले–लोसपा गठबन्धन बनेपछि विना साह (एमाले) लाई उम्मेदवारबाट हटाइएको छ ।
मधेश प्रदेशको अङ्कगणित हेर्दा सत्ता गठबन्धनले सजिलै जित्ने देखिन्छ। तर, भोट क्रसको सम्भावनालाई नकार्न नसकिने सम्बद्ध नेताहरू बताउँछन्। लोसपाकी उम्मेदवार रूपा यादवले जसपाको मत पाउन सक्ने लोसपा नेताहरूको दाबी छ। रूपा यादवका श्रीमान्को मधेश आन्दोलनका क्रममा ज्यान गएको थियो। रूपालाई मत नदिंदा जसपा नेताहरूलाई मधेशी विरोधी पार्टीको आरोप लाग्ने लोसपा नेताहरूको कथन छ।
भोट क्रस भए पनि विपक्षी गठबन्धनको जित्ने सम्भावना भने अत्यन्त न्यून छ। त्यसो भए किन गर्यो त एमालेले लोसपासँग चुनावी तालेमल? संविधान निर्माणका वेला मधेशमा धमिलिएको एमालेको छवि सुधार गर्न। एमाले सचिव रघुवीर महासेठ आफ्नो पार्टी मधेशको मुद्दामा लचिलो रहेकाले नै लोसपासँग गठबन्धन सम्भव भएको बताउँछन्।
लोसपा नेता जितेन्द्र सोनल निर्वाचनमा हारजितभन्दा पनि विचार र सिद्धान्त मिलेकाले एमालेसँग चुनावी तालमेल भएको बताउँछन्। उनी भन्छन्, “मधेशको सवालमा अन्य दलभन्दा एमाले लचिलो भएको पाएका छौं।”
सत्ता गठबन्धनले मधेश र संघीयता विरोधी शक्ति भनेर आलोचना गर्न थालेपछि एमाले लोसपासँग नजिक पुगेको देखिन्छ। यो तालमेललाई लोसपा नेताहरूले पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा जान विगतमा पार्टी विभाजन गरेको औचित्य सिद्ध गर्ने अवसरका रूपमा लिएको देखिन्छ।
पूर्व मन्त्री जयप्रकाश गुप्ताले राष्ट्रिय सभाको निर्वाचनमा एमाले र लोसपाको गठबन्धनले खासै प्रभाव नपर्ने भए पनि केही मत भने क्रस हुने सम्भावना रहेको बताउँछन्। उनका अनुसार, एमाले र लोसपाले आउने दिनमा पनि गठबन्धन सहज होस् भनेर यो चुनावमा तालमेल गरेका हुन्।