७७ हजार नाघे सक्रिय सङ्क्रमित
देशभर कोभिड-१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार नाघेको छ।
आइतबार ६ हजार ४६२ जना थपिएसँँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको हो। जसमध्ये काठमाडौं उपत्यकमा मात्रै आधाभन्दा बढी छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४९ हजार ८४९ रहेको छ। जसमध्ये काठमाडौंमा ३६ हजार २३८, ललितपुरमा आठ हजार सात सय र भक्तपुरमा चार हजार ९११ रहेका छन्।
आइतबार थपिएका सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा तीन हजार ७९१ जना सङ्क्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा दुई हजार ८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जनामा कोरोना देखिएको हो।
त्यस्तै, देशका आठ जिल्लामा एक सयभन्दा बढी सङ्क्रमित थपिएका छन्। जसमध्ये झापामा १४९, मोरङमा २७५, काभ्रेमा १३१, रुपन्देहीमा १४९ र कैलालीमा १७० जनामा कोरोना देखिएको छ।
योसँगै पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या १५ र दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १८ पुगेको छ।