गौर नरसंहार दोहोर्याउने धम्की दिने मन्त्रीलाई तत्काल पदमुक्त गरियोस् : एमाले उपमहासचिव ज्ञवाली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्।
५ माघमा गौरमा आयोजित कार्यक्रममा १५ वर्षअघिको गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने उपमहासचिव ज्ञवालीको माग छ।
“आपत्तिजनक, आपराधिक र अपराधलाई दुरुत्साहन गर्ने यस्तो अभिव्यक्ति आउँदा पनि प्रधानमन्त्री र सम्बन्धित दलको मौनता रहस्यमय छ,” उपमहासचिव ज्ञवालीले हिमालखबरसँग भने, “यस्तो अभिव्यक्तिका बावजूद आफ्नो मन्त्रिपरिषद् सदस्यलाई कारबाही नगर्दा प्रधानमन्त्रीको पनि यस्तो अभिव्यक्तिमा मौन समर्थन रहेछ भन्ने अर्थ लाग्छ।”
प्रधानमन्त्री देउवाले यादवलाई बर्खास्त गरेर गौर नरसंहारको अनुसन्धान अघि बढाउनुपर्नेमा ज्ञवालीले जोड दिए। २०६३ सालमा माओवादी समर्थित २८ जनाको ज्यान लिएको हत्याकाण्डलाई कतिपयले ओझेलमा पार्न खोजेका वेला मन्त्री यादवले आफ्नो पार्टीले हत्या गरेको सार्वजनिक रूपमा स्वीकार गरेकी हुन्।
विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, मानव अधिकारकर्मी लगायतले यादवलाई प्रधानमन्त्री देउवाले तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन्।