गौर हत्याकाण्ड दोहोर्याउने मन्त्री यादवको धम्की (भिडिओ)
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले १५ वर्ष पहिले जस्तै गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी छन्।
मन्त्री यादवले मधेश आन्दोलन दिवसको अवसरमा रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा भनिन्, “राइसमिल अझै जीवित छ। तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भयो भएको थियो त्यही हालत गर्छौं।”
मन्त्री यादवले पटक पटक राइस मिलको घटना दोहोर्याउने धम्की दिइन्। उनले सीके राउत नेतृत्वकाे जनमत पार्टीका कार्यकर्तालाई मधेशमा लाठी प्रदर्शन नगर्न चेनावनी दिइन्।
जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकी यादवले उल्लेख गरेको राइस मिलमा ७ चैत २०६३ मा तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या भएको थियो। २७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको थियो।
मन्त्री यादवकै तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताले एउटै स्थानमा सभा गरेको निहुँमा माओवादी कार्यकर्ताको हत्या गरेका थिए।