‘गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिने मन्त्रीले पदबाट राजीनामा दिनुपर्छ’
आफ्नो पदीय मर्यादा ख्याल नराखी अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले तत्काल पदबाट राजीनामा दिनुपर्ने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन्।
मधेश आन्दोलन दिवसका क्रममा बुधबार गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले १५ वर्षअघिको हत्याकाण्ड दोहोर्याउने धम्की दिएको भिडिओ सार्वजनिक भएपछि गुरुङले यस्तो धारणा राखेका हुन्।
“कसैलाई पनि हिंसा भड्काउने अभिव्यक्ति दिने छूट छैन, मन्त्रीलाई त झन् त्यस्तो छूट हुने कुरै भएन,” कांग्रेस उपसभापति गुरुङले हिमालखबरसँग भने, “मन्त्रीले यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक कुरा हो, पदीय जिम्मेवारीको ख्याल नराखीकन बोलेकाले उहाँले नैतिकताको हिसाबले तुरुन्तै पदबाट दिनुपर्छ।”
७ चैत २०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या गरेका थिए। जनता समाजवादी पार्टीबाट मन्त्री बनेकी यादवले त्यही घटना दोहोर्याउने धम्की दिएपछि त्यसको विरोध भएको हो।