नरसंहार मच्चाउने मन्त्री यादवको प्रपञ्च : सीके राउत
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति किसान आन्दोलनलाई दबाउने षड्यन्त्र मात्र रहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताएका छन्।
रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन्। जनमत पार्टीका अध्यक्ष राउतले त्यसप्रति विरोध जनाएका छन्।
किसान आन्दोलनमाथि दमन गर्ने अभिप्रायले यस्तो अभिव्यक्ति आएको राउतको भनाइ छ। राउतले हिमालखबरसँग भने, “किसानले आफ्नो नैसर्गिक अधिकारका लागि गरिरहेको आन्दोलनमाथि दमन गर्ने अभिप्रायले यस प्रकारको अभिव्यक्ति आएको हो।”
मन्त्री यादवले सत्ताको दम्भमा किसानमाथि दमन गर्न खोजेको राउतको भनाइ छ। “सत्ताको दम्भमा किसान आन्दोलनलाई दमन गर्ने नाममा नरसंहार मच्चाउन प्रपञ्च रचिंदै छ,” राउतले भने, “किसानका माग पूरा नहुन्जेल यो आन्दोलन जारी रहन्छ।”
जनमत पार्टीका कार्यकर्ताले किसानको हकहितका लागि एक महीनादेखि मधेश प्रदेशमा आन्दोलन गरिरहेका छन्। उनीहरू किसानलाई बीउबिजन उपलब्ध गराउनुपर्ने, मलखादको व्यवस्था गर्नुपर्ने, सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानको उत्पादनको उचित मूल्य निर्धारण हुनुपर्ने उनीहरूको माग छ।
उनीहरूले मधेशका विभिन्न जिल्लामा लाठी-जुलूस समेत प्रदर्शन गर्दै आएका छन्। कतिपय ठाउँमा चक्काजाम पनि गरेका छन्। यसलाई रोक्न चेतावनी दिंदै मन्त्री यादवले गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी थिइन्।