कोरोनाको ‘रेड जोन’ मा १३ जिल्ला
कोभिड-१९ को सङ्क्रमण बढ्न थालेसँगै उच्च जोखिम भएका जिल्लाको सङ्ख्या पनि बढेर १३ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार २३ हजार ४०९ जनाको स्वाब परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना देखिएको छ। त्यस्तै, ६१३ जना निको भएका छन्।
नयाँ थपिएका सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या कम रहेको छ। जसले गर्दा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४७ हजार ९२९ पुगेको छ।
योसँगै पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या पनि बढेको छ। स्वास्थ्य मन्त्रालयले पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लालाई उच्च जोखिमको जिल्लामा राखेको छ।
मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र काभ्रे उच्च जोखिममा रहेका छन्। त्यस्तै, गण्डकीको कास्की, लुम्बिनीका बाँके र रुपन्देही तथा सुदूरपश्चिमको कैलाली उच्च जोखिममा छन्।
यसैगरी, दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या पनि पाँच पुगेको छ। मधेश प्रदेशका धनुषा र पर्सा, गण्डकीको नवलपरासी (पूर्व), लुम्बिनीको दाङ र सुदूरपश्चिमको कञ्चनपुर सङ्क्रमणको जोखिम बढ्दै गएका जिल्लामा छन्।
आज काठमाडौंमा सबैभन्दा बढी चार हजार ६६६ जनामा कोरोना देखिएको छ। त्यस्तै, ललितपुरमा एक हजार ९९, भक्तपुरमा ५७८, मकवानपुरमा २६४, चितवनमा २०२ र काभ्रेमा १९२ जनामा कोरोना देखिएको छ।
यसै गरी, मोरङमा १७५, सुनसरीमा २३५, कास्कीमा ३५५, दाङमा १०८, रुपन्देहीमा २२७ र कैलालीमा १३५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले परीक्षण शुल्क घटाएको छ। कोरोनाको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न सरकारले आग्रह गरेको छ।