ट्रमा सेन्टरका ५२ कर्मचारी एकै पटक सङ्क्रमित
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ५२ जना कर्मचारीलाई एकै पटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
आकस्मिक कक्ष, वार्ड, प्रशासन कर्मचारी, ब्लड ब्यांक, फिजियोथेरापी, आईसीयूमा कार्यरत स्वास्थ्य तथा कर्मचारी एकै पटक सङ्क्रमित भएका हुन्। अस्पतालको आकस्मिक कक्षबाट कोरोना सङ्क्रमण फैलिएको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले बताए।
कोरोना सङ्क्रमित बिरामी सबैभन्दा पहिले आकस्मिक कक्षमै आउने हुन्। ट्रमा सेन्टरका सङ्क्रमित कर्मचारीमध्ये सबैभन्दा बढी आकस्मिक कक्षमा कार्यरत नै छन्।
आकस्मिक कक्षमा कार्यरत दुई कन्सल्टेन्ट चिकित्सक, दुई जना रेजिडेन्ट डाक्टर, एक जना हेल्थ असिस्टेन्ट र सात जना नर्स सङ्क्रमित भएका हुन्।
त्यस्तै, विभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफ, ब्लड ब्यांकमा कार्यरत पाँचै जना कर्मचारी, फिजियोथेरापीमा ६ जना, ल्याबका सात जना र आईसीयूमा कार्यरत सात जनामा सङ्क्रमण पुष्टि भएको हो।
“हरेक वार्डका स्वास्थ्यकर्मी सङ्क्रमित छन्। सबैभन्दा धेरै नर्सिङ स्टाफ सङ्क्रमित छन्,” डा. जोशीले भने। एकै पटक धेरै स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ।
अस्पतालमा ५१५ कर्मचारी कार्यरत छन्। चिकित्सक तथा नर्सहरू सिफ्ट अनुसार काम गर्ने भएकाले कोरोनाले कर्मचारीको अभाव हुन थालेको हो।
डा. जोशीले सङ्क्रमित स्वास्थ्यकर्मीको ठाउँमा बाँकी रहेका कर्मचारी मिलान गर्ने तयारी भइरहेको बताए। “हामीले भर्खरै बैठक बसेर आवश्यक ठाउँमा कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेका छौं,” उनले भने।
त्यस्तै, बैठकबाट स्वास्थ्य सेवा प्रदान गर्नेमा पनि परिवर्तन गरिएको छ। “कोरोनाका कारण स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। त्यसैले आवश्यक परेको वा आकस्मिक उपचार, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राख्ने निर्णय गरेका छौं,” उनले भने। कोरोनाका कारण सबै अस्पतालमा बिस्तारै स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ।
त्यस्तै, सङ्क्रमणकै कारण अस्पतालमा अन्य राेगका बिरामीको चाप पनि कम हुन थालेको छ। पहिले जति भीड हुने गरेको थियो, अहिले त्यो चाप कम भएको उनले बताए। “बिरामीले अस्पताल भरिएको छ। आईसीयू तथा शय्या सबै भरिएका छन्। तर, पहिले जस्तो चाप भने छैन। बिरामी आफैंले बुझेर उपचारमा आउने क्रम घट्दो छ,” उनले भने।